Advertisement

पेलेरै अघि बढे ओली, आफ्नो पक्षमा माहोल हुँदाहुँदै ओलीले किन गराउन चाहेनन् निर्वाचन?

0 878

Advertisement

१२ मंसिर, चितवन । चितवनमा चलिरहेको नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा शनिबार साँझ नेतृत्व चयन प्रक्रियाको थालनी हुने कार्यसूची थियो । कार्यसूचीअनुसार शनिबार नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व विघटन र अध्यक्ष मण्डल बनेर नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु हुनुपर्ने थियो ।

गएको मंगलबार बसेको स्थायी कमिटी बैठकले पारित गरेको निर्णय पनि शनिबार नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता र आइतबार मतदान गर्ने भन्ने हो । तर बन्दसत्र कार्यसूची अनुसार चलेन ।

नारायणी किनारमा उद्घाटन सत्र सकेकै दिन शुक्रबार सौराहामा बसेको केन्द्रीय कमिटी बैठकले मध्यरात गरेको निर्णयले महाधिवेशनको कार्यसूची प्रभावित हुन पुग्यो । गएको १५–१७ असोजमा सम्पन्न विधान महाधिवेशनबाट पारित विधान संशोधन गर्दै पदाधिकारीसहित केन्द्रीय कमिटी संख्या बढाउने निर्णय केन्द्रीय कमिटीले गरेको थियो । विधान महाधिवेशनबाट पारित दस्तावेज पार्टी महाधिवेशनले मात्रै संशोधन गर्नसक्ने भएकाले केन्द्रीय कमिटीको निर्णय निर्णयार्थ प्रस्तुत गर्नुपर्ने कार्यसूची बन्दसत्रमा थपियो ।

तर बन्दसत्र पनि निर्धारित समयमा (बिहान ११ बजे) शुरु भएन । ‘केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय भएपछि क्लस्टर छुट्याउन समय लाग्यो । त्यसैको गृहकार्यमा लाग्दा बन्द सत्र शुरु हुन केही समय ढिलाइ भएको हो’, केन्द्रीय सदस्य विशाल भट्टराई भन्छन् । थपिएको संख्यालाई समानुपातिक समावेशीको सिद्धान्तअनुसार भागबण्डा गर्न समय लागेको उनको तर्क छ । दिउँसो दुई बजे आसपास शुरु भएको बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीको दुई घण्टा लामो सम्बोधनले पनि बन्दसत्रको कार्यसूची थप प्रभावित बन्यो । शनिबार मनोनयन दर्ता प्रक्रिया नै शुरु भएन ।

नेकपा एमालेको जारी महाधिवेशनको बन्दसत्रमा विधान संशोधन प्रस्ताव पढ्दै गर्दा उपमहासचिव विष्णु पौडेलले ‘मेरो विशेष प्रस्ताव छ’ भने। त्यसपछि उनले निर्वाचित हुनुपर्ने सबै पदमा नाम तोक्ने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिन प्रस्ताव पेस गरे।

पौडेलले यसो भन्नासाथ महाधिवेशन हलमा ताली गुञ्जियो।

राति आठ बज्न लाग्दा मात्रै संगठन विभाग प्रमुख रहेका उपमहासचिव विष्णुप्रसाद पौडेलले केन्द्रीय कमिटीले गरेको निर्णय निर्णयार्थ प्रस्तुत गरे । तर पौडेलले बैठकको निर्णय मात्रै प्रस्तुत गरेनन्,। नयाँ नेतृत्वको नामावली हलमा प्रस्तुत गर्ने अधिकार अध्यक्ष ओलीलाई दिने प्रस्ताव पनि गरे । पौडेलले संशोधित विधानको विवरण प्रस्तुत गर्नु अगाडि ओलीलाई प्राधिकार दिएको बताउँदै गर्दा उपमहासचिव घनश्याम भूसालले हात उठाए । उपाध्यक्ष भीम रावलले असन्तुष्टि जनाउँदै सँगै (दायाँतिर) बसेका महासचिव ईश्वर पोखरेलसँग कुरा गरिरहेका थिए । तर पौडेल रोकिएनन् ।

‘पहिले मलाई सक्न त दिनुहोस्’ भन्दै पौडेल अगाडि बढे र, अन्त्यमा प्रस्ताव अनुमोदनका निम्ति ताली बजाउन आग्रह गरे । हलमा सहभागी अधिकांशले ताली बजाए । त्यसपछि बल्ल कार्यक्रम सञ्चालक रहेका महासचिव पोखरेलले रावललाई बोल्ने समय दिए । रावलले पार्टी विधानअनुसार, बन्दसत्र चल्नुपर्ने अडान लिए । सँगै, पार्टी एकता बचाउन गरिएको १० बुँदे सहमतिको सम्झना गराए । रावलले बोल्न थाले लगत्तै हलमा हो–हल्ला चल्न थाल्यो । स्वयमसेवकहरुले शान्त रहन आग्रह गरे भने रावलले चर्को स्वरमा एमालेले अलोकतान्त्रिक पार्टी बनेर विपक्षीलाई स्पेस दिन नहुने तर्क गरे ।

हल शान्त बन्यो । रावलले ‘त्यतातिर आवाज आएको सुनेर हो ?’ भन्दै अध्यक्षमा आफ्नो उम्मेद्वारी कायमै रहेको बताए । रावललाई समर्थन जनाउनेहरु सानो स्वरमा सुनिए । रावलले आफ्नो कुरा आठ मिनेटमै टुंग्याएपछि महासचिव पोखरेलले सहमतिबाट नेतृत्व चयन गर्ने कुरामा भाँजो नहाल्न रावलसँग आग्रह गरे । पोखरेल बोलिरहँदा हलमा फेरि हुटिङसहित ताली बज्यो ।

नौ बजेतिर बन्दसत्र अन्त्य गर्दै अध्यक्ष ओलीले पनि भीम रावलको अडानलाई हाँसोमा उठाए । ‘कसैलाई कुनै पदमा लड्न मन छ भने ढुक्क हुनु भए हुन्छ । के का लागि लड्ने हो त्यो चाहिँ अलिकति विचार गर्नुपर्छ’, ओलीले यति भनिरहँदा हल हाँसोले गुञ्जियो । ओली पनि हाँसे, हलमा ताली बज्यो ।

हलले अनुमोदन गरेअनुसार, आइतबार बिहान दश बजे नयाँ नेतृत्वको नामावली ओलीले हलमा प्रस्तुत गर्नेछन् र त्यसमा कसैलाई चित्त नबुझे उम्मेद्वारी दर्ता गर्न सक्नेछन् । बन्द सत्र सकिएको घोषणा गरेका ओलीले केहीबेरपछि फेरि भने, ‘भोलि बिहान १० बजे नै अतिथि शासन ग्रहण गरिसक्नु होला ।’

अर्थात्, ओलीले आइतबार बिहान १० बजे नै प्रस्तावित केन्द्रीय कमिटीको नामावली प्रस्तुत गर्नेछन् । ‘सर्वसहमत नेतृत्व चयन भयो भने पनि भयो । अब दायाँबायाँ हुन्न’, ओली निकट एक नेता भन्छन् ।

बन्दसत्र चलिरहँदा नै केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले सञ्चारकर्मीहरुलाई आइतबार सम्पूर्ण रुपमा सहमतिमा नेतृत्व चयन हुने सूचना पठाएका थिए । उनले लेखेका थिए, ‘महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुने । महाधिवेशन सम्पूर्ण रुपमा सहमतिमा १४ गते सम्पन्न हुने ।’

तर शनिबार साँझ ओलीलाई केन्द्रीय कमिटीको नामावली प्रस्तुत गर्न दिइएको अधिकारप्रति असन्तुष्टि जनाउनेहरु भने महाधिवेशन कब्जा गर्न खोजिएको बताउँछन् । ‘यसरी सर्वसम्मतिको प्रस्ताव पेश गर्ने कुरा एकदमै नियन्त्रण गर्ने कुरा हो’, उपमहासचिव घनश्याम भूसाल भन्छन् । लोकतान्त्रिकरणको एजेण्डा लिएर नेतृत्वमा पुगेका ओलीले अपनाएको शैलीप्रति उनी आश्चार्य प्रकट गर्छन् ।

महाधिवेशनका सहभागीहरुको साहरा लिएर निर्विरोध नेतृत्व चयनको नामावली हलमा घोषणा गर्ने ओलीको तयारी छ भने शनिबार साँझसम्मको परिस्थिति हेर्दा रावल पनि अध्यक्षमा उम्मेद्वारी दर्ता गर्नेमा अडिग छन् ।

‘केही टुंगो छैन । स्प्रिट सर्वसहमति गर्ने भनिएको हो । यो बेला पार्टीको एकताका लागि सर्वसहमति राम्रो उपाय हो भनिएको हो’, नेता सुवास नेम्वाङ भन्छन् । विधान संशोधन हलबाट अनुमोदन भएको र नेतृत्व चयन राजनीतिक कुरा भएको बताउने उनी भन्छन्, ‘सर्वसहमतिको कोसिस गर्नुपर्छ । सर्वसहमतिलाई मेरो पुरा समर्थन रहन्छ । तर, चुनाव हुने भयो भने म त्यतिबेला नै बोल्छु ।’

चुनावबाट नेतृत्व चयन हुने अवस्थामा नेम्वाङले बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने बताउँदै आएका छन् । महासचिव पोखरेलको पनि बरिष्ठ उपाध्यक्षमा दाबी छ । पोखरेल र नेम्वाङले बरिष्ठ उपाध्यक्षमा दावेदावरी सँगै ओली निकट नेताहरु समेत दुई धारमा विभाजित भएका थिए । यसले पनि ओली दबावमा परेका थिए । पदाधिकारीको संख्या बढाउँदा पनि सहमति जुट्न नसकेपछि शनिबारको बन्द सत्र ढिलो गरेर उनी छलफलमा जुटेका थिए । मध्यान्हतिर बन्दसत्र हलमा छिरेका ओली आफू निकट नेताहरुसँग दुई घण्टा बढी आन्तरिक छलफलमा बसेका थिए ।

त्यही छलफलबाटै अध्यक्ष ओलीलाई केन्द्रीय कमिटीको नामावली प्रस्ताव गर्ने अधिकार दिने निर्णय भएको एक केन्द्रीय सदस्य बताउँछन् । ‘केपी ओलीलाई साथ दिएका नेताहरु नै विभाजित हुने अवस्था रोक्नकै निम्ति पनि केन्द्रीय कमिटीको नामावली हलमा प्रस्तुत गर्नुपर्ने अवस्था आयो नि । नत्र भीम रावलले उम्मेद्वारी दिए भन्दैमा किन यस्तो गर्नुर्थ्यो र’, ओली निकट एक नेता भन्छन् ।

शनिबार राति हलमा देखिएको दृष्यले पनि ओलीले सर्वसहमतिको नाममा निर्वाचन प्रक्रिया रोक्नुपर्ने देखिँदैन । १० बुँदे सहमति गरी आएका रावलको चुनौतीले ओली फेरि नेतृत्वमा दोहोरिन रोकिने अवस्था छैन । ‘जित्ने हार्ने कुरा अलग हो । तर केपी ओलीले ल्याएको प्रस्तावले एमालेभित्र आन्तरिक लोकतन्त्र रहेन’ १० बुँदेगरी एमालेकै रहेका एक नेता भन्छन्, ‘हलमा नामावली प्रस्तुत हुन्छ, त्यसबेला ताली पनि बच्छ, ताली बजिरहँदा भीम रावलको उम्मेद्वारी थिएन भन्ने हुन्छ र ?’

ओली निकट नेताहरु भने पार्टी विशेष परिस्थितिमा रहेकाले सर्वसहमत नेतृत्व चयन गर्न यस्तो बाटो रोज्न परेको बताउँछन् । ‘केपी ओलीलाई निरन्तर साथ दिइरहेका, १०बुँदेमार्फत् पार्टीमा रहेका र पूर्वमाओवादी सवैलाई समेट्नेगरी नाम प्रस्तुत हुन्छ । हलबाट अनुमोदन पनि हुन्छ’, ओली निकट अर्का नेता भन्छन् ।

उनका अनुसार अध्यक्ष ओलीले तीन पक्षलाई समेट्ने गरी पदाधिकारीहरुको नामावली तयार पारिसकेका छन् । एमालेले एक अध्यक्ष, एक बरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव, सात सचिव सहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दैछ । सँगै, केन्द्रीय आयोग र निकायहरु समेत बन्नेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.