Advertisement

साढे ५ अर्ब बढी ठगीको उजुरी परेको सिभिल समूहका अध्यक्ष इच्छाराज तामाङकाे १२ अर्बको सम्पत्ति भेटियो

0 887

Advertisement

०९ मंसिर, काठमाडौं । सिभिल सहकारीका बचतकर्ताको साढे ५ अर्ब भन्दा बढी ठगीको आरोपमा सिभिल समूहका अध्यक्ष इच्छाराज तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

‘राजनीतिक आड’मा व्यापार विस्तार गरेका तामाङले सिभिल सहकारीका बचतकर्ताको निक्षेप फिर्ता नगरी त्यसको अपचलन गरेपछि उनलाई गत असोजमा सीआइबीले पक्राउ गरेर अनुसन्धान गरेको हो ।

समयमा पक्राउ गर्न नसकिएको भए तामाङ विदेश जाने तयारीमा रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

ब्यूरो प्रमुख धीरजप्रताप सिंहले उनी विदेश जाने अन्तिम तयारीमा रहेको भेटिएको बताएका छन् ।
सुरुमा सिभिल सहकारीको ४६ करोड रुपैयाँ ठगी गरेको उजुरी ब्यूरोमा परेको थियो । सोही आधारमा उनलाई पक्राउ गरिएको हो ।

पछि सहकारी पीडितको उजुरी आउने क्रम चलिरह्यो । सोमबारसम्म सहकारीबाट ठगिएका निक्षेपकर्ताको संख्या १४८० पुगेको छ । जो नेपालकै इतिहासमा एउटै व्यक्तिबाट ठगिएकाको यो सबैभन्दा ठूलो समूह हो । यति ठूलो समूहमा एउटै व्यक्तिले ठगि गरेको आफूहरुको जानकारीमा नभएको अनुसन्धानमा सक्रिय प्रहरी अधिकारी बताउँछन् ।

उनीहरुले सहकारीले आफूहरुको ५ अर्ब ५९ करोड रुपैयाँ फिर्ता नगरेको भन्दै उजुरी दिएको ब्यूरो प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।

“पहिलेदेखि नै सीआईबीमा तामाङविरुद्ध उजुरी आइरहेको थियो, उनीविरुद्धको एउटा फाइल नै बनिसकेको थियो,” उनले भने, “तर, सहकारी ऐनअनुसार सहकारीको नियमन अनुसन्धान गर्ने अधिकार सीधै प्रहरीलाई छैन, सहकारीको कार्यक्षेत्रअनुसार स्थानीय तह प्रदेश र केन्द्रमा सहकारी विभागले नियमन गर्छ, सहकारीमा भएको ठगीको उजुरी आए पनि सीधै प्रहरीले अनुसन्धान गर्न मिल्दैन, नियमन गर्ने निकायले पत्राचार गर्नुपर्ने हुन्छ ।”

सीआईबीमा पहिलेदेखि नै उजुरी भए पनि प्रदेशको सहकारी कार्यालयले सीआईबीलाई पत्राचार गरेपछिमात्रै करिब दुईमहिना लगाएर उनलाई पक्राउ गरेको डीआइजी सिंहको भनाई छ ।

अहिले करिब ५ अर्ब ६० करोड ठगी गरेको उजुरी परेपनि अझै कतिपय पीडित उजुरी गर्न नसकेकाले करिब ७ अर्ब हाराहारीमा ठगी गरेको अनुमान अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको देखिन्छ ।

सहकारी ऐन विपरीत तामाङले सिभिल सहकारीको बचतको ९० प्रतिशत भन्दा बढी रकम उनी र उनी संलग्न विभिन्न कम्पनीमार्फत परिचालन गरेको सीआईबीले जनाएको छ । सहकारीले ९ अर्ब भन्दा बढी ऋण परिचालन गरकोमा ७ अर्ब भन्दा माथि ऋण उनी संलग्न रहेका कम्पनीमा भएको देखिएको सीआईबीले जनाएको छ ।

उक्त कम्पनीको परिचालन भएको रकम कुनै न कुनै माध्यमबाट तामाङ, उनका मामाससुरा सिभिल सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठ र उनले केही समय अगाडि मात्रै ‘डिभोर्स गरेको भनिएकी’ सिर्जना शाक्यको नाममा गएको सीआईबी प्रमुख सिंहले बताए । सहकरीको ७ अर्ब कर्जा उनी संलग्न कम्पनीमा परिचालन भएकोले पनि सहकारी पीडितको संख्या अझै बढी हुन सक्ने र ७ अर्बभन्दा माथि रकम अपचलन भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

सहकारी पीडितले प्रहरी तथा सरकारको विभिन्न निकायमा पनि लगातार उजुरी र दबाब बढाउँदै गएका थिए ।

उजुरी परे पनि नेकपा एमालेसँग नजिक रहेका तामाङलाई केपी ओली नेतृत्वको सरकार रहुन्जेल प्रहरीले पक्राउ गर्न सकेको थिएन ।

ओली नेतृत्वको सरकार ढलेपछि प्रहरी पनि उनलाई खोजी गर्न सक्रिय भएको थियो ।

सीआईबीले अनुसन्धान सुरु गरेपछि तामाङले सहकारीको साधारणसभा बोलाए र नयाँ अध्यक्षसमेत बनाए ।

यसरी सहकारीबाट बाहिरिएर तामाङले नेपाल छोड्ने तयारीसमेत गरेको प्रहरीको दाबी छ ।

इच्छाराज तामाङसँग कति छ सम्पत्ति ?

तामाङमाथि अहिले ५ अर्ब ५९ करोड ३८ लाख ठगी गरेको उजुरी रहेको छ । तर उनीसँग सम्पत्ति कति रहेको छ भन्ने धेरैको चासो रहेको देखिन्छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार उनले इमान्दार भएर पीडितको रकम फिर्ता गर्न चाहेमा पुग्ने सम्पत्ति देखिएको बताउँछन् ।

काठमाडौंकै टेकुमा रहेको सहकारी भवन, उनी संलग्न रहेको कम्पनीहरुको सम्पत्ति, साथै उनको कीर्तिपुर ट्याङ्लाफाँटमा रहेको घर तथा जग्गा उनको सम्पत्ति हो ।

प्रहरी स्रोतले दिएको जानकारीअनुसार उनीसँग करिब १२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति रहेको भेटिएको छ । तामाङले कसरी सम्पत्ति आर्जन गरेर भनेर सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान गरिरहेको छ ।

हाल विभागले उनको सम्पत्ति रोक्का गरेको छ । विभागले एक वर्ष अगाडिबाटै उनको सम्पत्ति रोक्का राखेर अनुसन्धान गरिरहेको छ ।

तर, सहकारीको यति ठूलो रकम उनले चलाएको देखिएसँगै सम्पत्तिको स्रोत नै यही भएको प्रहरीको निष्कर्ष देखिन्छ । तामाङसँग सिभिल बैंकको करिब ३५ लाख कित्ता संस्थापक सेयर रहेको छ । श्रमतीको नाममा रहेको बैंकको सेयर बिक्री गर्न केही वर्ष अगाडिमात्रै उनले डिभोर्स गरेका थिए ।

तामाङको सम्पत्ति आफ्नो नाममा भन्दा पनि श्रीमतीको नाममा देखिएको सीआईबीले जनाएको छ । सीआईबीमा ठगी गरेकाहरुको नामावलीमा तामाङकै श्रीमती शाक्य पनि रहेकी छन् ।

जसमध्ये १२ जना पक्राउ परेका छन् भने शाक्यसहित अरु फरार छन् । फरार रहेकामध्ये अरु सहकारीका पूर्वपदाधिकारी रहेको बताइएको छ ।

तामाङले सुरुमा सम्पत्ति विदेश पु¥याएको आशंका प्रहरीले गरेको थियो ।

तर अनुसन्धान गर्दै जाँदा करिब १२ अर्बको सम्पत्ति देखिएको सीआईबीको अनुमान छ । उनको लगानी रहेको २१ वटा कम्पनीको सम्पत्ति (जसमा सिभिल बैंकको सेयर र सहकारीको टेकुमा रहेको भवन पनि) छ । साथै धापाखेल र गोदावरीमा रहेको हाउजिङ र सीटीसी मलमा पनि केही सटर तामाङको देखिएको छ ।

यसबाहेक कीर्तिपुरको ट्याङ्लाफाँटमा १२ रोपनीको कम्पाउण्डमा रहेको घरसमेत रहेको छ । यस्तै काठमाडौंमै श्रीमतीको नाममा ४५ रोपनी जमिनसमेत फेला परेको सीआईबी प्रमुख सिंहले बताए ।

उक्त ४५ रोपनी जग्गा ईच्छाराज तामाङ र ओखलढुङ्गाा अमीरबाबु गुरुङको लगानी रहेको देखिएको छ । उक्त सम्पत्ति तामाङ पत्नी शाक्यको नाममा रहेको प्रहरीले जनाएको छ ।

यता तामाङको दुईवटा बैंक र कर्मचारी सञ्चय कोषमा तिर्न बाँकी ऋण पनि देखिएको छ ।

कर्मचारी सञ्चय कोषमा २३ करोड र एनआईसी एशिया बैंक र राष्ट्रिय सहकारी बैंकमा करिब १५ करोड ऋण तिर्न बाँकी रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.