Advertisement

गोठ रित्तिँदै जान थालेपछि सामूहिक भैँसीपालन अभियान

0 638

Advertisement

०६ कार्तिक, वालिङ । हाँका गाउँले सामूहिकरुपमा भैँसीपालन व्यवसायतर्फ जुटेका छन् । स्याङ्जाको वालिङ नगरपालिका–८ बगालथोक गाउँका स्थानीयवासी एकजुट भएर समूह दर्ता गरी सोही समूहमार्फत भैँसीपालन थालेका हुन् ।

गाउँलेले वालिङ नगरपालिकामा २०७६ को अत्यतिर ‘नवदुर्गा दुग्ध उत्पादक समूह’ दर्ता गरेर २०७७ को सुरुआतसँगै भैँसी पाल्न थालेको अध्यक्ष रीमाकान्ती बगालेले बताउनुभयो । तीस घरधुरी रहेको उक्त गाउँका घरमा क्रमशः गोठ रित्तै हुँदै गएकाले समूहमार्फत भैँसीपालन अगाडि बढाउने निर्णय गरेर गत वर्षदेखि भैँसीपालन गर्दै आएको समूहका अध्यक्ष बगाले बताउनुहुन्छ ।

“गाउँमा रहेका ३० घरधुरीलाई नै समेट्ने गरी समूह दर्ता गरे पनि सुरुआतको चरणमा सबै जना सहभागी हुनुभएको छैन”, अध्यक्ष बगालेले भन्नुभयो, “अहिले बाँकी रहनुभएका पनि समूहमा आबद्ध हुन इच्छा जनाउनुभएकाले उहाँहरुलाई पनि प्रक्रिया पु¥याएर सहभागी गराउने छौँ ।” सुरुआतको चरणमा गत वर्ष १४ जनाले जनही रु तीन लाखका दरले रु २१ लाख र समूहमार्फत रु ३० लाख कर्जा लिएर झण्डै रु ५१ लाख लगानीमा भैँसीपालन थालिएको हो ।

“पछिल्लो समय घर÷घरमा रहेका गोठ रित्तिँदै जान थालेपछि सामूहिकरुपमा भैँसीपालन अभियान अगाडि बढायौँ”, उपाध्यक्ष प्रदीप बगालेले भन्नुभयो, “तीस घरमा एक÷दुई वटा भैँसी प्रत्येकका घरमा हुन्थे, तर अहिले पाल्न छाडेर जम्मा छ÷सात घरमा मात्रै छ, उहाँहरु पनि क्रमशः छोड्ने तयारीमा हुनुहुन्छ ।” दूध नभई नहुने तर भैँसी पाल्न सक्ने अवस्था घर÷घरमा नदेखिएपछि सामूहिकताको अवधारणा अगाडि बढाइएको उपाध्यक्ष प्रदीपले बताउनुभयो ।

गाउँका सबै घर समूहमा आबद्ध हुने भएपछि भैँसीपालनका लागि आवश्यक पर्ने घाँसपात लगाउन, गोठ निर्माण गर्न, आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सहज हुनुका साथै समूहमा काम गर्दा सीप आदानप्रदान हुने भएकाले पनि सहज हुने गरेको अनुभव उहाँहरुको छ । “अहिले प्रत्येक घरमा रहेका गोठ विस्थापित गरी सबै घरमा बगैँचा वा करेसाबारी निर्माण गर्ने योजनामा छौँ”, उपाध्यक्ष प्रदीपले भन्नुभयो, “एक्ला एक्लैभन्दा पनि समूहमार्फत काम गर्न सहज हुने रहेछ, आफ्नो खेतबारीको घाँस यहीँ काम लाग्ने र यहाँ उत्पादन भएको दूध, मल आफैँले पाइने भएपछि गाउँले उत्साहित पनि हुनुहुन्छ ।” सुरुमा १४ वटा उन्नत जातका भैँसीबाट सुरु भएको समूहमा अहिले सानाठूला गरी २९ वटा गाईभैँसी छन् । उक्त समूहले नेपाल लाइभ सेक्टर इनोभेसन आयोजना, विकेन्द्रित आयोजना एकाइ पोखराको सहयोगमा उन्नत गाईभैँसी पालन तथा दुग्ध उत्पादन उपआयोजना सञ्चालनको तयारीमा छ ।

समूहले उन्नत गाईभैँसी पालन, खरिद तथा दुग्ध उत्पादन, आधुनिक गोठ निर्माण, आधुनिक औजार तथा मेसिन, उपकरण खरिद, खाद्यान्न गोदाम घर निर्माण, बायोग्यास प्लान्ट निर्माणलगायतका कार्य उपआयोजनाअन्तर्गत गर्न लागेको समूहका प्रबन्धक भरत बगालेले जानकारी दिनुभयो ।

नेपाल सरकार, प्रभु बैंक र समूहको गरी कूल रु एक करोड ४८ लाख ६१ हजार २७२ को लागत साझेदारीमा आगामी असार मसान्तसम्ममा उपआयोजना सम्पन्न गरिसक्नुपर्ने छ । हाल दैनिक करिब ९० लिटर दूध उत्पादन हुँदै आएको छ । यस समूहमार्फत गत वर्ष २७ हजार लिटर दूध संस्थाबाटै बिक्री भएको प्रबन्धक भरतले बताउनुभयो ।

“उपआयोजनाअन्तर्गत हामी अझै विस्तृत र फराकिलो तबरले अगाडि बढ्दै छौँ”, प्रबन्धक भरतले भन्नुभयो, “हामीले थप गोठ निर्माण गर्नुकासाथै उन्नत जातका ७० वटा गाईभैँसी थपेर दूधको उत्पादनमा जोड दिन्छौँ भने त्यसका लागि आवश्यक पर्ने पूर्वाधार र घाँस, दाना, आधुनिक मेसिन, औजारको पनि व्यवस्था गर्नेछौँ ।” उपआयोजनाअन्तर्गत बायोग्यास प्लान्ट निर्माण गरी केही घरमा जडान गर्ने तयारीमा रहेकाले यो नमूनाको रुपमा अगाडि बढ्नेमा आफूहरु विश्वस्त रहेको व्यवस्थापक भरतको भनाइ छ ।

गाउँले सबै मिलेर सामूहिकरुपमा गाईभैँसीपालनतर्फ लाग्नुभएकाले यो एउटा नयाँ र नमूनाको रुपमा अगाडि बढेको अभियानका रुपमा आफूले लिएको वडा नं ८ का वडाध्यक्ष कमलप्रसाद सुवेदीले बताउनुभयो । “यस प्रकारको नयाँ र नौलो कार्य वडाका लागि पनि गौरवको विषय हो”, वडा अध्यक्ष सुवेदीले भन्नुभयो, “अर्कोतर्फ स्थानीय बजारमा दूधको अत्यधिक माग भइरहेकाले खपतको पनि कुनै समस्या हुँदैन ।”

व्यवसाय सञ्चालनका क्रममा आइपर्ने समस्याको समाधानका लागि वडा तथा नगरपालिका किसानसँगै रहेको वडाध्यक्ष सुवेदीले बताउनुभयो । किसानका समस्याप्रति वडा तथा नगरपालिका समाधानका लागि तत्पर रहेकाले ढुक्क भएर अगाडि बढ्न सुझाव दिँदै कुनै समस्या भएमा तत्काल खबर गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.