Advertisement

मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक

0 544

Advertisement

२८ असोज, जलेश्वर । मिथिलाञ्चलका गाउँगाउँमा अहिले झिझिया नृत्यको रौनक छाएको छ । दसैँ सुरु हुनुलगत्तै मिथिलाञ्चलका गाउँगाउँमा झिझिया नाचिन्छ । पूर्ण तान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिलामा आफ्नै महत्व छ । दसैँमा देवी स्तुतिका रूपमा झिझिया नृत्य गरिन्छ । बोक्सीबाट आफ्ना सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गर्ने गरिएको जनविश्वास छ । दसैँ सुरु भएपछि हरेक साँझ देवी दुर्गाको मन्दिरमा झिझिया नाच गरिन्छ ।

यसको बनावट र स्वरूपभित्र जादु, टुनामुना, बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ । बलिरहेको दियो तथा असङ्ख्य प्वाल पारिएको घैँटो त्यसकै नमूना हो । टाउकामा राखेर नृत्य गर्ने महिलाद्वारा टाउकोको दायाँबायाँ हल्लाइरहने प्रवृत्तिले यसमा निहित विशेष अर्थलाई सङ्केत गर्दछ । महिलाको टाउकामा राखिएको घैँटोको प्वाल कुनै बोक्सीले गन्न सफल भयो भने नाच्ने महिला ठहरै हुने जनविश्वास छ । त्यसकारण सो घैँटो टाउकामा राखी जादु, टुनामुनाबाट मुक्ति पाउनका लागि परम्परागत रूपमै नृत्य गरिने गरिन्छ ।

झिझिया नृत्यको अर्को उद्देश्य समाजमा रहेका बोक्सीबाट आफना सन्तानको सुरक्षा गर्नु पनि रहेको जलेश्वर नगरपालिका– ८ की ६० वर्र्षीया राजवती देवीले बताउनुभयो । विशेष सुरताल र झिझियाको गीतमा झुमी टाउकामा घैँटो राख्ने महिला चारैतिर फन्को मार्दै नृत्य गर्दै जाँदा अद्भुत वातावरणको निर्माण हुन्छ । नृत्यसँगै गाइने सो गीतमा बोक्सीलाई गाली गरिनाका साथै धम्कीसमेत दिइन्छ । बोक्सीको अनैतिक शक्तिको प्रभाव सो गालीले कम हुने गरेको तथा सन्ततिहरूको सुरक्षा हुने जनविश्वास रहेको छ । घैँटोमाथि बलिरहेको आगोको डल्लो लिएर नृत्य गर्नु आफैँमा साहस र कलाको अलौकिक प्रदर्शन नै झिझिया नृत्य हो । समाज रूपान्तरणसँगै लोकनृत्यहरू गायब हुन थालेका छन् ।

झिझिया लोकनृत्य महोत्तरीलगायत धनुषा, सिरहा, सर्लाही, बारा, पर्सासहितका जिल्लामा नाचिन्छ । त्यस्तै, भारतीय मिथिला क्षेत्रमा पनि यो नृत्य प्रस्तुत गरिन्छ । झिझिया कुनै जाति विशेषको नभई सम्पूर्ण मैथिली समाजको लोकनृत्य पनि हो । दसैं सुरु भएसँगै साँझ पर्नासाथ युवती तथा महिलाको टोली जम्मा भएर झिझियाको तयारी गर्ने गर्दछन् भने राति अबेरसम्म दुर्गा प्रतिमा अगाडि र विभिन्न चोकचोकमा झिझिया नृत्य गर्ने गरेको देख्दा जो कोही पनि मन्त्रमुग्ध हुने गरेका छन् ।

झिझियाको सुरुआत

घैँटोमाथि बलिरहेको आगोको डल्लो लिएर नृत्य गर्नु आफैँमा साहस र कलाको अलौकिक प्रदर्शन नै झिझिया नृत्य हो । समाज रूपान्तरणसँगै लोकनृत्यहरू गायब हुन थालेका छन् । तैपनि गाउँघर तथा सहर बजारमा यसलाई जीवित राख्न भए पनि बर्सेनि झिझिया नृत्य आयोजना गरिन्छ ।

सातौँ वा आठौँ शताब्दीतिर बोक्सीविरुद्ध प्रतिकार गर्ने उद्देश्यले एउटा अनौठो नृत्यको प्रदर्शन गर्दै झिझिया नृत्यको सुरुवात गरिएको इतिहासकारहरू बताउँछन् । गाउँघरमा ती झिझिया नृत्यले निरन्तरता पाइरहँदा सहर बजारसमेत झिझिया नृत्यबाट अछूतो रहेन । महोत्तरीमा अहिले हरेक रात समूह समूहमा महिला झिझिया नृत्य गरिरहेको सहजै देख्न सकिन्छ ।

यसको एउटा उद्देश्य दसैँको समयमा देवी दुर्गालाई रिझाउनु रहेको छ । झिझिया नृत्य गर्दै गाइने गीतहरूमा भगवती दुर्गाको स्तुति गरिएका अत्यन्त मोहक गीतहरू पनि गाइन्छन् । त्यसमा प्रत्येक दसैँमा आफ्ना खास सवारीसाथ आउने भगवतीको शृृङ्गार डोलीमा सवारी र कामख्याको गन्तव्यको सजीव चित्रण गरिएका गीतहरू गाइन्छ ।

नृत्यपूर्वको तयारी

झिझिया नृत्य प्रारम्भ गर्न पूर्वतयारी गर्नुपर्छ । एउटा वा दुइटा स्वच्छ घैंटो किनेर त्यसलाई सफासुग्घर गरी घैंटोभरि प्वाल बनाइन्छ । घैंटोको मुखमा राखिएको ढकनामा आगो सल्काइन्छ । टाउकामा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ । तर, टाउकामा राखी नृत्य गर्नुपूर्व झिझियालाई कुनै गुणी ओझाबाट मन्त्रद्वारा सिद्ध पारिन्छ ।

आफ्ना सन्तान, परिवारको सुस्वास्थ्य र दीर्घजीवनको कामना यस नृत्यको पृष्ठभूमिमा रहेको छ । झिझिया लोक नृत्यको अर्को उद्देश्य दशमीको बेला माता दुर्गालाई स्तुति गर्नु पनि रहेको छ । यसरी मन्त्रबाट सिद्ध भएपछि पाँचदेखि १५ जनासम्मका महिला टोलीमध्ये एक वा दुई महिला टाउकामा आगो बलिरहेको घैँटो राखेर हातको सहारा लिई नाच्दै ब्रह्मस्थानमा पुगेर सबभन्दा पहिले पूजा गरेर नृत्य गर्ने गर्दछन् । ब्रह्मस्थानमा नृत्य गरेलगत्तै झिझिया औपचारिक रूपमा सुरु हुन्छ । त्यसपछि घरघरमा गएर नृत्य देखाउने परम्परा छ । प्रत्येक घरबाट पूर्णाहुतिका लागि अन्न÷रुपैयाँ चन्दा माग्ने चलन छ । त्यही मागिएको रकम जोडेर विजयादशमीको दिन पूजा पाठ, भोज र प्रसाद वितरण गरिन्छ र झिझिया लोकनृत्य विसर्जन हुन्छ ।

समाजमा प्रचलित यो झिझिया गीतले सामाजिक अन्धविश्वासलाई प्रस्ट्याउँछ । यद्यपि, गाउँघरका महिलाले आफ्नो पारिवारिक शान्तिको कामना गर्दै दसैँताका झिझिया नाच नाच्ने परम्परा छ । परम्परागत लोकविश्वासमा आधारित कैयौं यस्ता लोकगीतहरू लोपोन्मुख अवस्थामा छन् । यसकारण, सांस्कृतिक दृष्टिले जगेर्ना गर्नुपर्ने आवश्यकता देखिएको छ ।

मिथिलामा झिझिया नृत्यको आफ्नै मौलिकता, पहिचान र इतिहास छ । घैँटोको मुखमा राखिएको ढकनामा आगो सल्काइन्छ । टाउकामा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ । यसरी ढकनामा सल्काइएको आगो टाउका लिएर नृत्य गर्नु आफैँमा साहास र कलाको अलौकिक प्रदर्शन हो । बोक्सीलाई आधार मानेर यस संस्कृतिलाई निरन्तरता दिनु अन्धविश्वासबाहेक अरू केही मान्न नसकिने भन्नेहरु पनि कमी छैन । तर झिझिया नृत्यमा प्रदर्शन गरिने कलालाई रुपान्तरित समाजमा परिस्कृत गर्दै अगाडि बढ्दा झिझिया नृत्य अझै लोकप्रिय र समाजले त्यसबाट केही लिनसक्ने कुरा संस्कृतिविद् ध्रुव रायले बताउनुभयो ।

–––

राष्ट्र कल्याणको शक्तिका रुपमा तलेजु भवानी

नवरात्रको अन्तिम दिन आज सर्वसाधरणको दर्शनका लागि हनुमानढोकास्थित तलेजु भवानी मन्दिर खुला गरिएको छ ।

प्रत्येक वर्ष महानवमीका दिन खुल्ने उक्त मन्दिरमा काठमाडौँ तथा त्यस वरपर क्षेत्रबाट आएका भक्तजनको भीड लोगेको छ । काठमाडौँ महानगरपालिका–२४ हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्न बिहानदेखि खुला गरिएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाले साँझ ६ बजेभित्र पसेका सबै भक्तजनलाई दर्शनको व्यवस्था मिलाउने जनाएको छ ।

स्थानीय महादेव मखन क्लबले सुरक्षाकर्मीसँग समन्वय गरी भीड व्यवस्थापनका साथै प्रारम्भिक स्वास्थ्य उपचारमा सहयोग उपलब्ध गराएको छ । उक्त क्लबले इन्द्रजात्रा, गाईजात्रा, शिवरात्रि, तीज, साउनको सोमबार, कृष्णजन्माष्टिमीलगायत पर्वमा त्यस सम्पदास्थलमा आउने भक्तजनको सहजतका लागि आवश्यक सहयोग जुटाउँदै आएको छ । विधिविधानपूर्वक कुमारीलाई राति ९ बजे मूल चोकमा ल्याएर तलेजु भवानीको दर्शन गराइने गौतम शाक्यले जानकारी दिनुभयो । कुमारीघरबाट मूलचोकसम्म कुमारीलाई लगिनेछ । जीवित देवीका रुपमा आस्था प्रकट गरिन्छ ।

कामपा–२४ का वडा सदस्य विनोद तुलाधरले मन्दिर तथा त्यस आसपास क्षेत्रमा आएका भक्तजनलाई आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर दर्शनको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । गत वर्ष भने कोरोना महमारीका कारण मन्दिर बन्द गरिएको थियो । तलेजु भवानीलाई फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइने गरिन्छ भने दशमीका दिन बिहान शुभ सइतमा मूल मन्दिरमा लगिन्छ । मूलचोकमा अष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ ।

मुलुकमा कुनै प्रकारको अनिष्ट नहोस् भनेर समग्र देश र जनताको कल्याणको कामना गर्दै तान्त्रिक विधिबाट बलि दिने परम्परा छ । राज्य सञ्चालनका क्रममा शक्ति प्राप्त होस् भन्ने सङ्कल्पका साथ महानवमीका अवसरमा विभिन्न कोतमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजासमेत गर्ने परम्परा छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित कोतपूजा गरिन्छ । काठमाडौँ उपत्यकामा भएका सात विश्व सम्पदास्थलमध्ये महत्वपूर्ण मानिएको यस क्षेत्रमा विभिन्न देवीदेवताका मन्दिर देख्न सकिन्छ ।

त्यसैगरी प्राचीन कला, संस्कृतिको जीवन्ततासमेत यहाँ हेर्न पाइने भएकाले पर्यटकीयस्थलका रुपमा समेत विकास भएको छ । त्यस्तै आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँ घरमा आज नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजाआराधना गरिन्छ । महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष रूपमा पूजाआराधना गरिन्छ । नवरात्रमा बलका लागि महाकाली, धनका लागि महालक्ष्मी र विद्याका लागि महासरस्वतीको पूजाआराधना गरिन्छ ।

यसका साथै सुख, शान्तिका लागि पनि भगवतीसँग प्रार्थना गरिन्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिने चलन छ । वर्षमा चारवटा नवरात्र पर्ने भए पनि शरद ऋतुअन्तर्गत आश्विन शुक्ल पक्षमा पर्ने नवरात्र विशेष रूपमा मनाइन्छ । बडादसैँसमेत भनिने शारदीय नवरात्र देशभर भव्य रूपमा मनाइन्छ । देवीको पूजा, पाठ एवं दर्शन गर्न भक्तजन मन्दिर जाने गर्छन् ।

मैतीदेवी, नक्साल भगवती, कालिकास्थान, भद्रकाली, हनुमानढोका दरबार क्षेत्रका शक्तिपीठ, कङ्केश्वरी, बिजेश्वरी, शोभाभगवती, रक्तकाली, श्वेतकाली, दक्षिणकालीलगायत देवी मन्दिरमा शक्तिपीठको पूजा, आराधना गरिने हुँदा भक्तजन दर्शनका लागि पुग्ने गर्दछन् । काठमाडौँ उपत्यकाका बज्रबाराही, बज्रयोगिनी, सुन्दरीमाई, चामुण्डादेवी, इन्द्रायणीलगायत मन्दिरमा पनि पूजाआराधना र दर्शनका लागि पुग्ने भक्तजन धेरै छन् । नवदुर्गाको विशेष पूजा गरिने नवरात्रमा शक्तिपीठमा गई पूजाआराधना र दर्शन गरेमा मनाकाङ्क्षा पूरा हुने विश्वास छ । काठमाडौँ उपत्यका बाहिरका शक्तिपीठमा पनि बलिसहित पूजा गरिने हुँदा सम्बन्धित स्थानका भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

–––



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.