Advertisement

दसैं, खानपिन र कोभिड संक्रमित

0 252

Advertisement

प्रा.डा मनसा थापा ठकुराठी

२८ असाेज, काडमाडाैं । चाडपर्वमा धेरैको रोजाई माछा, मासु अनि मिठाइजन्य परिकार नै हुन्छ। त्यसमा पनि चिल्लो र मसलेदार परिकारले सबैको जिब्रो लोभ्याउँछ। तर, यी खानेकुराहरू स्वास्थ्यका निम्ति फाइदाजनक मानिँदैन।

सामान्य दिन होस् या चाडपर्व खानपिनमा ध्यान दिनुपर्छ। दसैंमा धेरैले माछा मासु अनियन्त्रित तरिकाले खाने गर्छन्। घरमा मात्र नभई पाहुनाको रुपमा बाहिर जाँदा पनि मासु नै मुख्य परिकार हुन्छ।

दसैंमा शरीरको आवश्यकताभन्दा बढी खानेकुरा तथा मासु बढी खाने प्रचलन हुन्छ। एक हिसाबले दसैंमा गरिने खानपिनमा कुनै नियन्त्रण हुँदैन। चाडपर्वको समयमा न कुनै खानपिनको मात्रामा ध्यान दिन्छौं, न स्वास्थतर्फ नै सचेत रहन्छौं।
खानेकुरालाई मिठो बनाउन प्रयोग गरिने अत्यधिक तेल र मरमसालाले जिब्रोलाई एकछिन लोभ्याएपनि स्वास्थ्यलाई भने असर गर्छ।

कोभिड निको भइसकेका व्यक्ति सचेत हुन आवश्यक

गत वर्षझैँ यस वर्ष पनि कोभिड महामारीकै बीचमा सावधानी अपनाउँदै दसैं मनाउनुपर्ने भएको छ। अहिले धेरै व्यक्तिहरू कोभिड संक्रमित भई निको भइसकेका छन्। तर, कोभिड निको भइसकेका अधिकांश व्यक्ति पूर्ण रुपमा स्वस्थ छैनन्। धेरैजसो व्यक्तिमा सामान्यदेखि जटिल खालका स्वास्थ्य समस्या देखिने गरेका छन्।

थकाई लाग्ने, शारीरिक कमजोरीदेखि विभिन्न समस्याले उनीहरूलाई सताउने गरेको छ। त्यसैले कोरोना निको भइसकेका व्यक्ति दसैंको खानपिनप्रति सचेत हुनैपर्छ।

बढी चिल्लो, नुन, मसला भएका खानेकुरालाई एक स्वस्थ व्यक्तिले जसरी नियन्त्रित गर्नुपर्छ, त्यसरी नै कोभिड भइसकेका व्यक्तिले पनि यी खानेकुरामा नियन्त्रण गर्नुपर्छ। बढी चिल्लो, नुन र मसला भएका खानेकुराले स्वस्थ व्यक्तिलाई त असर गर्छ भने कोभिड निको भएका व्यक्तिलाई झनै असर गर्छ।

यस किसिमको खानपिनलाई नियन्त्रित गरिएन भने स्वास्थ्य समस्या बढाउने खतरा हुन्छ। आफ्नो पाचन प्रक्रिया, आवश्यकता र मात्रा मिलाएर मात्र दसैंको खानपिन गर्नुपर्छ।

कोभिड निको भइसकेका दीर्घ रोगी तथा ज्येष्ठ नागरिकले त झनै दसैंको खानपिनमा ध्यान दिनैपर्छ। मधुमेह, मुटुरोग, मिर्गौला लगायत दीर्घ रोग भएका व्यक्तिहरू थप सचेत हुन आवश्यक छ। शरीरको रोगलाई ध्यानमा राखी मात्र खानेकुरा खानुपर्छ।

मासु कति मात्रामा खाने?

दसैंको समयमा हरेकको घरमा विशेष पाकवानको रुपमा मासु हुन्छ। शरीरको आवश्यकता र मात्रालाई ध्यान नदिई धेरैले असीमित मात्रामा मासु खान्छन्। तर, पोषण विज्ञानले एक दिनमा कति मात्रासम्म मासु खान सकिन्छ भन्ने कुरा निर्धारण गरेको छ।

पोषण विज्ञानले यसलाई दुई किसिममा विभाजन गरेको छ। एक, स्वस्थ व्यक्तिले खाने मात्रा र दोस्रो, कुनै विशेष अवस्था भएका व्यक्तिले खाने मात्रा।

स्वस्थ व्यक्तिले एक दिनमा ९० देखि धेरैमा एक सय ग्रामसम्म मासु खान मिल्छ। तर, कुनै रोग भएका व्यक्तिले आफ्नो रोग, शारीरिक अवस्था र क्षमतालाई ख्याल गरेर मात्र खानुपर्छ। स्वस्थ व्यक्तिले एक दिनमा ९० देखि एक सय ग्राम खान्छन् भने दसैंको समयमा २ सयदेखि ३ सय ग्राम खान मिल्छ।

यो हिसाबले हेर्दा दसैंमा एक व्यक्तिले सामान्य दिनमो तुलनामा दुई गुणा बढी मासु उपभोग गर्छन्। अन्य दिनको तुलनामा धेरै खाएपछि ती व्यक्तिले त्यसलाई पचाउन केही न केही शारीरिक व्यायाम गर्नुपर्छ। यो निकै महत्त्वपूर्ण कुरा हो।

दसैंमा खानपिनको मात्रा बढाइएको छ भने शारीरिक सक्रियतालाई पनि बढाउनुपर्छ। यो सँगै हरियो सागसब्जी, तरकारी, फलफूल, सलादको मात्रालाई पनि बढाउनुपर्छ।

यदी स्वस्थ व्यक्तिले दसैंमा दुई गुणा बढी खाँदा शारीरिक सक्रियता बढाउनुपर्छ भने रोगी व्यक्तिले धेरै खाए के हुन्छ होला ? त्यसैले कुनै रोग भएका व्यक्तिले आफ्नो शारीरिक अवस्था अनुसार खानाको मात्रा निर्धारण गर्नुपर्दछ।

दीर्घरोगी या कुनै रोग भएका व्यक्तिले दसैंको खानपिन गर्दा सम्बन्धित चिकित्सक र पोषण विज्ञसँग परामर्श गर्नैपर्छ। आफ्नो शारीरिक अवस्थाबारे पनि परीक्षण गराएर मात्र मासु या कुनै परिकार खाने अनुमति लिनुपर्छ। केही दिन त हो, औषधि खाएपछि ठीक हुन्छ भन्ने सोचेर दीर्घरोगीहरूले आफूखुशी खानपिन गर्नु हुँदैन।

उदाहरणका लागि कुनै मिर्गौला रोगीले धेरै प्रोटिन खानुपर्ने पनि हुन्छ। उसले दिनमा १२० ग्रामसम्मको प्रोटिन खान सक्छ। तर, कसैलाई २० देखि ३० ग्रामको प्रोटिन मात्र खानुपर्ने हुन्छ। त्यस्तो रोगीहरूले त मात्रालाई एकदमै ध्यान दिनुपर्छ।

खाना कटौती गर्ने बानी बसालौँ

पेट नघाउँदासम्म हामी खानेकुरा खान्छौं। तर, खानालाई कटौती गर्ने बानी बसाल्नु अत्यन्तै आवश्यक छ। विशेषगरी चाडपर्वमा यसको महत्त्व बढी हुन्छ। खानामा कटौती गर्ने बानी नहुँदा नै हामी धेरै खाइरहेका हुन्छौं।

हामी अरुको घरमा पाहुनाको रुपमा जाने हो भने घरमा खाइने खानेकुरामा कटौती गर्नुपर्दछ। आज म बाहिर खानुपर्छ त्यसैले घरको खानामा कटौटी गर्छु भन्ने सोचाईको विकास गर्नुपर्छ। घरमा पनि टन्न खाने र पाहुनाको रुपमा जाँदा पनि टन्न खाने गर्नु हुँदैन। बिहान, दिउँसो, बेलुकी नै मासु मात्र खाइरहनु हुँदैन।

जुन खानेकुरा खानु हुँदैन, स्वास्थ्यलाई बेफाइदा गर्छ भने त्यसको परिणाम के हुन्छ ? खान नहुने भनिएका खानेकुरा खाँदा उनीहरूका निम्ति त्यो विष सरह नै हुन्छ। बिरामी आफैं सचेत भएर खानपिनलाई नियन्त्रण गर्नुपर्दछ।

केही दिनको चाडपर्व र रमाइलोले पछि अस्पताल भर्ना हुनुपर्यो‍ भने के गर्ने ? पाँच सय रुपैयाँको मासु खाँदा पाँच हजारको औषधि गर्नुपर्ने पनि अवस्था आउन सक्छ। आफ्नो नियम र अनुशासनभित्र रहेर मात्र खानपिन गर्नु बुद्धिमानी हुन्छ।

मासुलाई पचाउन तोरी र रायो मिसाएर बनाइएको काक्रो र मुलाको अचारलाई पनि खानामा समावेश गर्न सकिन्छ। बजारमा पाइने धेरै रंग मिसिएको मिठाइ र पेय पदार्थ खानु हुँदैन।

आवश्यकता भन्दा कुनै पनि खानेकुरा खायौँ भने त्यसको नतिजा पनि सँधै नकारात्मक नै आउँछ। चाडपर्वमा शारीरिक सक्रियतामा कमी हुने र धेरै खाने भएकाले अपचको समस्या हुन सक्छ। शरीरको तौल बढ्ने, अपच हुने, कोलेस्ट्रोल बढ्ने समस्या हुन्छ। दीर्घरोगीहरू छन् भने मधुमेहका बिरामीको सुगर लेभल बढ्ने, रक्तचापको समस्या बढ्ने लगायत समस्या निम्तिन सक्छ।

माछा, मासु या कुनै पनि खानेकुरा खानै नहुने भन्ने हुँदैन। आवश्यकता, पोषणतत्व, मात्रालाई ध्यान दिएर खायौँ भने स्वस्थपूर्ण तरिकाले चाडपर्वलाई रमाइलोका साथ मनाउन सकिन्छ। चाडपर्वमा जिब्रोको स्वादलाई मात्र नभई स्वास्थ्यलाई पनि ध्यान दिनुपर्छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`

स्वास्थय खबर पत्रिका



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.