Advertisement

देशभरका शक्ति पीठमा भक्तजनको घुइँचो

0 571

Advertisement

२७ असोज, काठमाडौं । शक्तिका लागि भगवतीको आशीर्वाद लिने पर्व नवरात्रको आठौँ दिन पनि काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ ।

आश्विन शुक्ल पक्ष शक्तिस्वरुपा दुर्गा भवानीको विशेष आराधना गर्ने पर्वका रुपमा चिनिन्छ । वर्षमा चारवटा नवरात्र पर्ने भए पनि शरद ऋतुअन्तर्गत आश्विन शुक्ल पक्षमा पर्ने नवरात्र विशेष रुपमा मनाइन्छ । बडादसैँसमेत भनिने शारदीय नवरात्र देशभर भव्य रुपमा मनाइन्छ । देवीको पूजा, पाठ एवं दर्शन गर्न भक्तजन मन्दिर जाने गर्छन् ।

शक्तिपीठमा पनि पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरको विशेष महत्व रहेको विभिन्न पुराणमा उल्लेख गरिएको छ । यही महत्वका कारण आश्विन शुक्ल प्रतिपदादेखि नै यस मन्दिरमा भक्तजनको घुइँचो छ । गत वर्ष कोरोनाका कारण सबैजसो शक्तिपीठ बन्द गरिएको थियो । मन्दिर परिसर पुग्ने भक्तजनले पनि बाहिरबाटै दर्शन गरेर फर्किएका थिए । यस वर्ष कोरोना जोखिम कम भएकाले भक्तजन मन्दिरमा लाम लागी पूजाआराधना गरिरहेका छन् ।

गुह्येश्वरी शक्तिपीठका बारेमा पशुपति पुराणमा भनिएको छ ः –
पशुपतिसमं लिङ्गं वाग्वत्या च समा नदी ।
गुह्येश्वरीसमं पीठं नास्ति ब्रह्माण्डमण्डले ।।

अर्थात् पशुपतिको समान लिङ्ग, वाग्मतीको समान नदी र गुह्येश्वरीको समान पीठ ब्रह्माण्डमा अरू छैनन् । स्कन्द पुराण नेपाल माहात्म्यको हिमवत्खण्डमा पनि गुह्येश्वरी पीठको महत्वका बारेमा प्रकाश पारिएको छ । गुह्येश्वरी मन्दिरमा विगत वर्षहरुमा भन्दा यस वर्ष पूजा आराधनाका लागि आउने भक्तजनको सङ्ख्या बढेको छ ।

गुह्येश्वरीमा भक्तजन बढे, बलि दिने घटे

गुठी संस्थानअन्तर्गतको गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुमित खड्गी मन्दिर पूजा, आराधना र दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढे पनि बलिसहित पूजा गर्ने भने घटेको बताउनुहुन्छ । गत वर्ष कोरोना महामारीका बेलाभन्दा पनि यस वर्ष बलि दिनेको सङ्ख्या घटेको उहाँले जानकारी दिनुभयो ।

गुह्येश्वरी मन्दिरमा प्राचीनकालदेखि महाअष्टमीका दिन राष्ट्राध्यक्षले पूजाआराधना गर्ने परम्परा छ । विश्वमै प्रसिद्ध शक्तिपीठ भएकाले यो परम्परा बसेको हो । आज दिउँसो ४ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्नुुहुने कार्यक्रम रहेको समितिले जनाएको छ ।

यसैगरी पशुपति क्षेत्रका वनदेवी, वत्सलेश्वरी, बज्रश्वरी, नवदुर्गाको मूर्ति रहेको क्षेत्र, जयवागेश्वरीलगायत देवी मन्दिरमा पनि भक्तजनको भीड छ । महासरस्वतीका रुपमासमेत पूजाआराधना गरिने जयवागेश्वरी पुनःनिर्माण भइरहे पनि नवरात्रमा पूजा, आराधना र दर्शन गर्न मिल्ने गरी ढोका खुला गरिएको जयवगोश्वरी मन्दिर पुनःनिर्माण समितिको सदस्यसमेत रहनुभएका काठमाडौँ महानगरपालिका–८ का वडा सदस्य विवेक सङ्गतले राससलाई जानकारी दिनुभयो ।

यसैगरी मैतीदेवी, नक्साल भगवती, कालिकास्थान, भद्रकाली, हनुमानढोका दरबार क्षेत्रका शक्तिपीठ, कङ्केश्वरी, बिजेश्वरी, शोभाभगवती, रक्तकाली, श्वेतकाली, दक्षिणकालीलगायत देवी मन्दिरमा पनि पूजा, आराधना र दर्शन गर्ने भक्तजनको घुइँचो छ । कोरोनाको जोखिमका कारण लामो समय घरभन्दा बाहिर ननिस्किएका मानिस पनि उकुसमुकुस भएर शक्तिपीठ पुगेका छन् ।

काठमाडौँ उपत्यकाका बज्रबाराही, बज्रयोगिनी, सुन्दरीमाई, चामुण्डादेवी, इन्द्रायणीलगायत मन्दिरमा पनि पूजाआराधना र दर्शनका लागि पुग्ने भक्तजन धेरै छन् । नवदुर्गाको विशेष पूजा गरिने नवरात्रमा शक्तिपीठमा गई पूजाआराधना र दर्शन गरेमा मनाकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठहरुमा पनि बलिसहित पूजाआराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुँइचो लागेको छ ।

यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष रुपमा पूजाआराधना गरिन्छ । नवरात्रमा बलका लागि महाकाली, धनका लागि महालक्ष्मी र विद्याका लागि महासरस्वतीको पूजाआराधना गरिन्छ । यसका साथै सुख, शान्तिका लागि पनि भगवतीसँग प्रार्थना गरिन्छ । महाअष्टमी पर्व विशेष रुपमा शक्ति स्वरुपा भगवतीको प्रार्थना गर्ने दिनका रुपमा लिइन्छ । यस दिन कतिले बलिसहित पूजा गर्छन् भने कतिले सात्विक रुपमा देवीको पूजाआराधना गर्छन् ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.