दशैंअघिको शेयर बजार काराेबार बन्द
२५ आश्विन, काठमाण्डौं । दशैं अघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक २३.१९ अंक घटेर २६३९.३७ विन्दुमा झरेको छ। गत साताको अन्तिम दुई कारोबार दिनमा १०० अंकभन्दा बढी बढेको बजार आइतबारदेखि प्रोफिट बुकिङ्गका कारण नेप्से घट्न पुगेको थियो।
दशैंको लागि सरकारले असोज २६ गते फूलपातीको दिनदेखि असोज ३० गते एकादशीको दिनसम्म सार्वजनिक बिदा दिएको छ । यसअनुसार अब । असोज २६ गतेदेखि असोज ३० गतेसम्म नेप्से बन्द रहने छ भने असोज ३१ ग्ते आइतबार मात्र शेयर बजार खुल्नेछ ।
हिन्दुहरुको महान चाड बडा दशैं । दशैं भन्ने वित्तिकै निधारमा रातो टिका र हरियो जमराको झल्को आउँछ । यहि दशैंलाई स्वागत गर्न दशैंअघिको अन्तिम शेयर कारोबार दिन सोमबार बजार पनि रातो भर्ई स्वागत गरेको छ ।
सोमबार बजार सूचक मापक नेप्से २३.१९ अंकले घटेर बन्द भएको छ । सूचक घटेसँगै सोमबार नेप्से २६३९.३७ बिन्दुमा बन्द भएको हो । ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स ५.५६ अंकले घटेर ४९४.२२ अंकमा झरेको छ । यसदिन २१९ कम्पनीको ९३ लाख १४ हजार ७८० कित्ता शेयर ४४ हजार ४६२ वटा संख्यामा खरीद बिक्री भएका छन् । कारोबार रकम ३ अर्ब ६३ करोड ९४ लाख ६८ हजार ९३ रुपैयाँमा समेटिएको छ ।
नेप्सेका अनुसार आज कारोबारमा आएका ११ वटा उपसमुह ओरालो लागेको छ भने दुई वटा मात्र उकालो लागेको छ । लगानी १.०७ र म्युचुअल फण्ड ०.३८ प्रतिशतका दरले बढेको छ । ब्यापार र अन्य सूचम २ प्रतिशत धेरैले घट्दा विकास बैंक, जलविद्युत, फाइनान्स, माइक्रोफाइनान्सको सूचक १ प्रतिशत धेरैले घटेका छन् । होछल, उत्पादनमुलक, निर्जीवन बीमा, जीवन बीमाको सूचक १ प्रतिशतभन्दा कम घटेका छन् ।
सोमबार नबिल बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । बैंकको १७ करोड १३ लाख ८५ हजार ३१८ रूपैयाँ बराबरको १ लाख १८ हजार ४३ कित्ता शेयर कारोबार भएको छ । यस्तै हिमालयन डिष्टिलरीको १६ करोड ९२ लाख, महालक्ष्मी विकास बैंक १२ करोड ४३ लाख, निफ्रा ११ करोड ६७ लाख र नेपाल बैंकको १० करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा बैंक, जीवन विकास लघुवित्त, सूर्या लाइफ संस्थापक, अरुण भ्याली हाइड्रोपावर र ग्लोबल आइएमई बैंक शीर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन् । दशौं ठूलो कारोबार भएको ग्लोबल बैंकको ७ करोड १७ लाखको शेयर कारोबारमा आएको छ ।
शतप्रतिशत नगद लाभांश वितरणको घोषणाले सोमबार ग्लोबल आइएमई समुन्नत योजना १ को इकाई मूल्य दश प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । योजनको इकाई मूल्य २१ रूपैयाँ ६७ पैसा पुगेको छ । यसैगरी सानिमा लाइफ इन्स्योरेन्स ७.८८, निफ्रा ५.०९, कुमारी इक्वीटी फण्ड ३.३८, राष्ट्रिय बीमा कम्पनी संस्थापक शेयर ३.१५ प्रतिशतले बढेको छ ।
त्यसैगरी, सोमबार महालक्ष्मी विकास बैंक लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै ८.७६ प्रतिशतले घटेर ५७६ मा झरेको छ । रैराङ हाइड्रोपावर ८.२९, छ्याङ्दी हाइड्रोपावर ७.४३, र मल्टिपपर्स फाइनान्सको मूल्य पनि ५.२० प्रतिशतका दरले घटेको छ । माउन्टेन हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, सिभिल लघुवित्त, सिंगटी हाइड्रोपावर, युनिलिभर नेपाल र घलेम्दी हाइड्रोपावरको शेयरका लगानीकर्ताले पनि गुमाएका छन् । बजार घटेसँगै सोमबार बजार पूँजीकरण ३६ खर्ब ९५ अर्ब ९ करोड रुपैयाँमा समेटिएको छ ।