नेपालबाट मनसुन बाहिरिन थाल्याे
२३ असोज, काठमाडाैं । नेपालबाट मनसुन बाहिरिन थालेकाे छ । हिजाे शुक्रबारदेखि यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भू-भाग, लुम्बिनी प्रदेशको पश्चिमी भु-भागबाट बाहिरेिएकाे जल तथा माैसम विज्ञान विभागकाे बुलेटिनमा उल्लेख गरिएकाे छ ।
अहिले नेपालको मौसमलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनिय मौसम प्रणाली नभएकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।
हाल प्रदेश नं १ र बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा सामान्यतया सफादेखि आंशिक बदली रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भु-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राती देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।