Advertisement

माथिल्लो तामाकोशीको निर्माण लागत साढे ४८ अर्बबाट बढेर ८६ अर्ब

0 552

Advertisement

२२ असोज, काठमाडौँ । निर्माण सकिएर व्यवसायिक उत्पादन थालेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माणमा अनुमानभन्दा साढे ३७ अर्ब रुपैयाँ बढी खर्च भएको छ । तामाकोशी जलविद्युत उत्पादन कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७को वाषिर्क प्रतिवेदनमा आयोजना निर्माण गर्न करिब ८६ अर्ब रुपैयाँ लागेको उल्लेख छ ।

आयोजना थाल्दा निर्माण लागत र ब्याजसहित ४८ अर्ब ४१ करोड खर्च हुने अनुमान भएपनि ८६ अर्ब नाघेको हो । यो खर्च विवरण निर्माणका लागि लिइएको ऋणमा निर्माण अवधि (११ वर्ष) मा लागेको ब्याजसहितको हो ।

२०६५ सालमा निर्माण थाल्दा आयोजनाको लागत निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड ४१ लाख लागत अनुमान थियो । निर्माण सम्पन्न हुँदासम्म ब्याजबाहेककै लागत ५४ अर्ब पुगेको कम्पनीको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी आयोजना शुरु हुँदा निर्माण अवधि (अनुमानित ६ वर्ष)को ब्याजमा १३ अर्ब २२ करोड खर्च हुने अनुमान थियो । तर, आयोजना निर्माण सकिँदा यस्तो ब्याजमा आयोजनाले ३२ अर्ब रुपैयाँ खर्चिनुपरेको प्रतिवेदनमा उल्लेख छ ।

निर्माण अवधि करिब ५ वर्ष लम्बिँदा ब्याज, मूल्य समायोजन, विदेशी विनिमय दरमा भएका नोक्सानी र प्रशासनिक खर्च पनि बढेको आयोजनाको दाबी छ ।

ठेकेदारहरुले भुक्तानीमा पाउने डलर र युरोको मूल्य बढ्दा पनि आयोजनाको लागत थपियो । २०६६ सालमा अमेरिकी डलरको भाउ ८० रुपैयाँ आकलन गरिएको थियो, अहिले १२० भन्दा माथि छ ।

भूकम्प, नाकाबन्दी र कोरोना महामारीका कारण ढिला बनेको आयोजनाले अन्तर्राष्ट्रिय रुपमा भएको मूल्यवृद्धि र डलरको मूल्य बढेर नेपाली मुद्रामा भएको अवमूल्यनले पनि मार खेपेको प्रतिवेदनमा उल्लेख छ ।

हाइड्रोमेकानिकलतर्फ भारतीय ठेकेदार कम्पनी टेक्सम्याकोले समयमा काम नसक्दा लागत भारी वृद्धि भएको थियो । भूकम्पपछि आयोजनाको काम डेढ वर्षसम्म रोकिएको थियो ।

भूकम्पका कारण पहुँचमार्गहरु भत्किएपछि करिब तीन सय ६० मिटरको सुरुङ निर्माण गर्नुपरेको थियो । बाँधबाट सुरुङभित्र पानी पठाउने इन्टेक १९ सेन्टिमिटर भासिएको थियो । ठेकेदारका आवासगृह पनि क्षतिग्रस्त भएका थिए ।

रुग्ण बनिसकेको यो आयोजनालाई प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ब्युँताएका थिए । आयोजनामा ढिलाइ हुन नदिन घिसिङ महिनाको एक पटक आयोजनास्थल दोलखाको लामाबगर जाने गरेका थिए । यो बीचमा मुख्य सुरुङको अन्तिम खण्डमा पानीको भार थेग्न नसक्ने कमजोर चट्टान फेला परेपछि डिजाइन परिवर्तन गर्नुपरेको थियो । यो पूर्ण स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना हो ।

आयोजनामा सुरुमा कर्मचारी सञ्चयकोषले १० अर्ब, नेपाल टेलिकमको ६ अर्ब ९० करोड, नागरिक लगानी कोषको दुई अर्ब र राष्ट्रिय बीमा संस्थानको दुई अर्ब ८० करोड लगानी गरेका थिए । सरकारको १२ अर्ब लगानी छ ।

१० अर्ब ५९ करोडको स्वपुँजीसहित यो आयोजना सुरु गर्दा ४१ अर्ब ६७ करोडको वित्तीय स्रोत सुनिश्चित गरिएको थियो ।

यो आयोजनामा विद्युत प्राधिकरणको ४ अर्ब ३४ करोड, नेपाल टेलिकमको ६३ करोड, नागरिक लगानी कोषको २१ करोड, राष्ट्रिय विमान संस्थानको २१ करोड, सञ्चयकोषका कर्मचारी र बचतकर्ताको १ अर्ब ८२ करोड, तामाकोशी जलविद्युत कम्पनी र प्राधिकरणका कर्मचारीको ४० करोड, कर्जाप्रदायक संस्थाका कर्मचारीको ३० करोड, दोलखाका स्थानीयको १ अर्ब ५ करोड र सर्वसाधारणको १ अर्ब ५८ करोड शेयर पुँजी छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.