केपी ओली र एमाले कम्युनिस्ट आन्दोलनबाट च्युत भइसके : माधव नेपाल
२१ असाेज, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली कम्युनिस्ट आन्दोलनबाट च्युत भइसकेको आरोप लगाएका छन्।
बिहीबार एमाले केन्द्रीय सदस्य भानुभक्त जोशीलाई एकीकृत समाजवादीमा स्वागत गर्दै उनले एमाले सबै हिसाबले पतनको दिसामा गइसकेको दाबी गरे।
अन्तिम प्रयास गर्दा पनि एमालेलाई बचाउन नसकिने निष्कर्षका साथ आफूहरूले नयाँ पार्टी निर्माण गरेको नेपालले बताए। विधान महाधिवशेनको नाममा गरिएको भेला र त्यसले अघि सारेका कुरा पनि गलत देखिएको नेपालको टिप्पणी छ।
अर्को क्रान्तिकारी पार्टी बनाउनुपर्ने निष्कर्षका साथ भानुभक्त जोशी एकीकृत समाजवादी प्रवेश गरेको नेपालले बताए। ‘केपी ओलीलाई सुधार गर्न सकिँदैन भन्नेमा थियौं ।
त्यही पनि अन्तिमसम्म प्रयास गर्यौं। उनी सुध्रिएनन्’ नेपालले भने। लामो समयदेखि चलिरहेको अन्तरसंघर्ष फेस गर्न नसकेर ओलीले संसद् विघटन गरेको नेपालले दाबी गरे।
भानुभक्त जोशीजस्तै थुप्रै नेताहरू एकीकृत समाजवादीमा आउने नेपालले बताए। एकीकृत समाजवादीमा प्रवेश गरेका जोशीलाई स्थायी कमिटी सदस्य बनाउने नेपालले घोषणा गरे।