Advertisement

दसैंका सामान उत्तरी नाकामै रोकिए सरकारले पर्याप्त पहल नगर्दा व्यापारीहरू मर्कामा

0 390

Advertisement

२१ आश्विन, काठमाडौं । जुत्ता व्यवसायी देवेन्द्र कुमारले दसैंलाई लक्षित गरेर चीनबाट ल्याएका दुई गाडी जुत्ताचप्पल तीन महिनादेखि केरुङ नाकामा रोकिएका छन्। जुत्ता नआएपछि देवेन्द्र दसैंमा के बेच्ने भन्ने चिन्तामा छन् । ‘अहिलेसम्म कोभिडले व्यापार भएको थिएन,’ उनले भने, ‘दसैंमा जुत्ताचप्पल बेचौंला भनेको, ती सामान बोकेर आएका गाडी सीमानाकापारि नै रोकिए।’

दसैंका लागि नेपाली व्यापारीले खरिद गरेका सामान बोकेर चीनको गोन्जाउ सहरबाट नेपालतर्फ हिँडेका करिब आठ सय गाडी उत्तरी सीमावर्ती चिनियाँ क्षेत्रमा रोकिएका छन् । कोभिडका कारण चिनियाँ पक्षले तातोपानी र केरुङ नाकाबाट थोरै गाडीमात्र पास गरेकाले सामान अड्किएका हुन्।

कोभिड सुरु हुनअघि दैनिक करिब दुई सय ५० मालवाहक गाडी नेपाल भित्रिने केरुङ नाकाबाट अहिले मुस्किलले नौ गाडीसम्म आउने गरेको अवस्था छ। त्यसैगरी, तातोपानी नाकाबाट पनि सोही हाराहारीमा सामान आयात भैरहेको छ।

नेपाली व्यापारीले खरिद गरेका सामान बोकेर आएका करिब आठ सय गाडी चिनियाँ सीमा क्षेत्रमा रोकिएको हिमालय सीमापार वाणिज्य संघका महासचिव भरत कार्कीले बताए। ‘केरुङ र तातोपानी हुँदै आउने करिब आठ सय गाडी सामान उतै सीमापारि रोकिएका छन्,’ कार्कीले भने, ‘दसैंका सामान रोकिएपछि व्यापारीको बिचल्ली भएको छ।’ संघका अनुसार केरुङतर्फ करिब साढे छ सय र तातोपानी नाकातर्फ डेढ सय मालवाहक गाडी रोकिएका छन्।

अघिल्ला वर्षको तुलनामा चिनियाँ पक्षले निकै कम गाडी छाडेकाले समस्या भएको रसुवाका भन्सार प्रमुख रामप्रसाद रेग्मीले बताए। ‘कोभिड सुरु हुनुअघि दैनिक अढाई सय गाडी यो नाका हुँदै आउँथे,’ रेग्मीले भने, ‘अहिले दैनिक सातदेखि नौ गाडी सामान आइरहेको छ।’ दसैंका बेला सामान ल्याउन दबाब बढेको रेग्मी बताउँछन्। ‘चाडपर्वमा धेरै सामान आउने भएकाले भनेजति पास भएको छैन,’ उनले भने, ‘कोटा तोकेर आएकाले कठिनाइ भएको हो।’

दसैंका लागि तीन/चार महिनाअघि अर्डर गरेका सामान नआएपछि व्यापारी चिन्तित छन्। दसैंमा बिक्री गर्ने जुत्ताचप्पल, कपडा, विद्युतीय सामग्रीलगायत करोडौंका सामग्री रोकिएको व्यापारीले बताएका छन्।

चिनियाँ पक्षले स्वास्थ्य सामग्री, हाइड्रोका सामान, अदुवा, लसुन, स्याउलगायत कृषिजन्य वस्तुलाई प्राथमिकता दिएर भन्सार पास दिने गरेको छ । कृषिजन्य वस्तु कुहिने, नष्ट हुने भएकाले स्याउ, अदुवालाई प्राथमिकता दिँदा लत्ताकपडा, औद्योगिक कच्चा पदार्थले कम प्राथमिकता पाएका छन्। कहिलेकाहीं नौ गाडीमध्ये पाँच/छ गाडी स्याउलगायत कृषिसँग सम्बन्धित सामान मात्र आउने गरेका छन्।

धेरै सामान सीमावर्ती चिनियाँ भूभागमा रोकिएका छन्। चिनियाँ पक्षले कतिपय गाडी केरुङभन्दा करिब ८० किलोमिटर उता सिगाक्षे र तातोपानीभन्दा उता मेलमा रोकेको छ।

नेपालमा चीनबाट वार्षिक खर्बौं रुपैयाँबराबरको सामान आयात हुन्छ । भन्सार विभागको आर्थिक वर्ष ०७७/७८ को तथ्यांक अनुसार दुई खर्ब ३३ अर्ब ९२ करोड रुपैयाँको सामान चीनबाट आयात भएको छ। चालु आवको साउन र भदौमा मात्र ४२ अर्ब ८४ करोड मूल्यका चिनियाँ सामान आयात भएको छ।

व्यापारीले भारत हुँदै पनि सामान ल्याउने गरेका छन् । भारत हुँदै ल्याउँदा पानी जहाजको भाडा केही महँगिएका कारण मूल्य केही बढी पर्न जान्छ। त्यसैले केरुङ र तातोपानी नाका हुँदै सामान आयात गर्नुपरेको व्यापारी बताउँछन्। उत्तरी नाकाबाट सामान ल्याउँदा व्यावहारिक झन्झट बढी बेहोर्नुपरेको गुनासो व्यापारीको छ।

केरुङ हुँदै आउने सामान चिनियाँ पक्षले केरुङ र रसुवागढीको बीचमा रहेको मितेरी पुलमा झार्ने गरेको छ । त्यहाँबाट नेपाली कामदारले लोड गरी यता ल्याउँछन्। कोभिडका कारण चिनियाँ पक्षले सामान पुलमा झार्दा लोड गर्न पनि नेपाली व्यापारीलाई झन्झट भएको छ।

केरुङको तुलनामा तातोपानी भन्सार हुँदै आउने सामान आयातमा केही सहज भए पनि करिब डेढ सय बढी गाडी रोकिएको व्यापारी बताउँछन् । तातोपानी नाकामा भने चिनियाँ कन्टेनरले नै भन्सारसम्म सामान ल्याएर छाड्ने गरेकाले केही सजिलो छ ।

कोभिडको कारण देखाउँदै थोरै गाडी सामानमात्र भन्सार पास भएको रसुवा भन्सार प्रमुख रेग्मीले बताए। ‘व्यापारीको गुनासो आएपछि गाडीको संख्या बढाउन पटकपटक चिनियाँ पक्षलाई आग्रह गरिरहेका छौं,’ उनले भने, ‘चिनियाँ पक्षले कोभिडको कारण देखाइरहेको छ।’ व्यापारीले भनेजति संख्यामा मालवाहक गाडी रोकिएको औपचारिक जानकारी भने आफूले नपाएको उनले बताए। ‘चीनमा नेपालीको प्रवेशलाई कडाइ गरेकाले केकति गाडी रोकिएका छन् भन्ने प्रष्ट रुपमा थाहा भएन,’ रेग्मीले भने, ‘सबै सामान ल्याउन नपाउँदा व्यापारी पीडित भएका छन्।’

सवा दुई खर्ब रुपैयाँभन्दा बढी व्यापार भएको चीनले नाकामा सहजता नल्याउनु दुःखद पक्ष भएको व्यवसायीको गुनासो छ। पटकपटक नाका सहज गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएको हिमालय समिापार वाणिज्य संघका पूर्वमहासचिव नवराज तिमिल्सिनाले बताए। ‘कोभिड सुरु भएयता व्यवसायीले ठूलो मार खेपिरहेका छन्,’ उनले भने, ‘सरकारी तहबाट पर्याप्त पहल भएन।’

हिमालय सीमापार वाणिज्य संघको प्रतिनिधिमण्डलले नाकामा रोकिएका सामान सहज रुपमा आयात गर्ने व्यवस्था मिलाउन परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेटेर ध्यानाकर्षण गराएको छ। चिनियाँ राजदूतलाई यो विषयमा सहजीकरण गर्न आग्रह गर्ने परराष्ट्रमन्त्री खड्काले बताएको जानकारी महासचिव कार्कीले दिए।

‘दसैंका लागि बेच्न ल्याएका सामान सीमापारि नै रोकिएपछि परराष्ट्रमन्त्रीलाई ध्यानाकर्षण गरायौं,’ कार्कीले भने, ‘चिनियाँ राजदूतलाई बोलाएर छलफल गर्ने प्रतिबद्धता उहाँले जनाउनु भएको छ।’

सामान रोकिएपछि मूल्यसमेत वृद्धि हुने व्यापारी बताउँछन्। दसैंलाई लक्षित गरेर ल्याएका सामग्री बीचबाटोमा रोकिएपछि ठूलो क्षति भएको व्यापारीको गुनासो छ। दसैंलाई लक्षित गरेर खरिद गरेका लत्ताकपडा नआउँदा लाखौं रुपैयाँको नोक्सानी हुने महाबौद्धका कपडा व्यापारी प्रमोद शिल्पकारले बताए।

‘सिजनल रुपमा कपडा ल्याउने गरेका छौं,’ शिल्पकारले भने, ‘सिजन सकिएपछि आएका कपडाको मूल्य नै पर्दैन ।’ दसैंमा धेरै कपडा बिक्री हुने भएकाले व्यवसायीले धेरै सामान अर्डर गरेका थिए । ‘चिनियाँ पार्टी (व्यापारी) लाई पैसा तिरिसक्यौं,’ उनले भने, ‘सामान नआएपछि अब के बेच्ने ?’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.