Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

महामारीमा बिच कसरी बढा दशैं मनाउनुपर्छ ?

0 54

२१ असोज, काठमाडाैँ । हिन्दूधर्मालम्बीकाे महान चाड हो दशैँ । यसपटक पनि काेराेनाकालमा हामी दशैँ मनाउँदैछाैँ । धेरै सावधानी अपनाउनुपर्ने देखिन्छ र हामी सजग पनि हुनेछाैँ । किनकी याे महामारीले ११ हजार बढीकाे ज्यान लिइसकेकाे छ भने ७ ८ लाख माथि संक्रमित बनाएकाे छ । हजाराैँकाे घरमा दशैँकाे टीका छैन । याे कहर र रहरकाे दशैँमा अत्यन्तै सावधानी अपनाएकै राम्राे ।

दशैँ दश दिन मनाउने पर्व भनेर बुझ्न सकिन्छ । दशैँको सरुवात आश्विन शुक्ल प्रतिपदा देखि हुन्छ, अर्थात आबाट दशैँ सुरू हुन्छ । जसलाई नवरात्र (नवरथा) पनि भन्ने गरिन्छ । प्रतिपदाको देखिनै घर–घरमा जमरा (जवँरा) राखि दूर्गा भगवतिको नौ रुपको पूजा आराधना गर्ने गरिन्छ । दूर्गाको पूजा गर्नाले शक्ति प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

जमरा राख्दा सप्तधान छर्ने गरिन्छ । जमराको रस स्वास्थ्यको लागि पनि उपयोगी मानिन्छ । देवीभागवत अनुसार– सीता वियोगमा सन्तप्त्त रामलाई नारदमुनिले आएर नवरात्रको उपासनाले उनको सम्पूर्ण कष्ट हरण हुने कुरा व्यक्तगरे र रामलाई आश्विनको नवरात्रको व्रत गर्ने प्रेरणा दिए ।

“व्रतं कुरुष्व श्रद्धावानाश्विने मासि साम्प्रतम्” आश्विनको व्रतको प्रभावले नै हजुरले रावण लाई जित्न सक्नुहुने छ । नवदुर्गाको उपासनाले शक्ति संचय हुनुका साथै आत्मवल प्राप्ति हुन्छ ।

त्यसैले हे राजेन्द्र हजुरले रावण वधको लागि नवरात्र व्रत गर्नुस् – “तस्मात्वं कुरु राजेन्द्र रावणस्य वधाय च” नारदको वचनबाट प्रेरित भएर श्रीरामले नवरात्रको सविधि व्रत गरे । व्रतको शक्ति संचयको प्रभावले रामचन्द्र भगवानले रावण माथि विजय हासिल गरे । दुष्ट सक्तिमाथि विजय हासिल गरेको हुनाले विजया दशमीको रुपमा मनाउन थालियो ।

दशैँको पहिलो दिन

प्रतिपदाका दिन जमरा राखि सुरुहुने दशैँको पहिलो दिन धरको सरसफाई गरेर जमरा राखी दूर्गा भगवतिको पहिलो रुप शैलपुत्रीको पूजा गर्ने गरिन्छ । शैलपुत्रीको पूजाले धैर्य, शहनशीलता ममता, करुण्यता पाईने र पृथ्वी तत्वको सन्तुलन शरीरमा रहने कुराको शास्त्रमा उल्लेख गरिएको छ । यसदिन पूजन पछि सेतो चिज तथा गाईको घ्यूले बनेको परिकार चढाउनाले रोगबाट मुक्ति मिल्ने विश्वास छ ।

दोस्रो दिन

दशैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजन गर्ने गरिन्छ । यिनले तपको आचरण गर्ने भएका कारण ब्रह्चारिणी भनिएको हो । पूर्वकालमा फल–फूल पात खाएर घोर तपश्या गरेर शिव भगवानलाई पतिरुपमा वरण गरेकी थिइन् । ब्रह्चारिणी शक्तिको पूजाले तेज, ब्रह्मज्ञान, सत्चरित्रको वरदान तथा जल तत्वको सन्तुलन शरीरमा हुने भएका कारण रक्त सम्बन्धी विकार पैदा नहुने कुराको वर्णन पाईन्छ । पूजापछि चीनी मिश्री र पञ्चामृत प्रशाद चढाउनाले तथा दान गर्नाले दिर्घायु हुने मानिन्छ ।

तेस्रो दिन

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा नामले दूर्गा माताको पूजा गर्ने गरिन्छ । देवीको मस्तकमा चन्द्राकार घण्ट सुसोभित भएका कारण उनलाई चन्द्रघण्टा भनिएको हो । यिनलाई बिर रसको अपूर्व शक्ति मानिएको छ । चन्द्रघण्टा देवीको रुपको पूजाले मनुष्यले राक्षसी तथा भुत प्रेत शक्तिबाट उन्मुक्ति पाउँछ भनिएको छ । तेस्रो शक्तिको पूजा आराधनाले शरीरमा तेजको सन्तुलन र सूर्यको तेजबाट प्रज्ञावान हुने मनिन्छ । यसदिन पनि पूजा पछि दूधबाट बनेको पदार्थ प्रशाद लगाउनाले सम्पूर्ण दुःख नास हुने मानिएको छ ।

चौथो दिन

नवरात्रको चौथो दिन भगवतीको कूष्माण्डा नामले आरधना गर्ने गरिन्छ । भगवती दूर्गाको कूष्माण्डा शक्तिबाट नै ब्रह्माणको उत्पत्ती भएको भनिएको छ । माताको निवास सूर्य मण्लमा रहेको छ भने सेतो कुभिण्डोको जस्तो रुप भएका कारण यिनलाई कूष्माण्डा भनिएको हो । पूजनपछि माल पूवाको प्रशाद चढाउने र बाँढेर खानाले बुद्धि दिमाग तिब्र हुने भनिएको छ ।

पाँचौ दिन

पाँचौ दिन स्कन्दमाताको पूजा गर्ने गरिन्छ । स्कन्दमाता देवताहरुका सेनापति कार्तिकेय कुमारकी माता भएका कारण स्कन्दमाता भनिएको हो । स्कन्दमाताको पूजाले बच्चाहरुको संरक्षण हुने, तथा न्यालयमा विजय प्राप्तिमा सहयोग हुने मानिन्छ । यिनको पाँचौँ दिन पूजा गर्नाले काम, क्रोध, लोभ मोह शान्त हुने मानिन्छ । स्कन्दमाताको पूजाले आकाश तत्वको सन्तुलन हुन्छ । यसदिन देवीलाई केराको भोग लगाउने तथा प्रशाद बाँढेर खानाले वुद्धि विकास हुने मनिएको छ ।

छैठौँ दिन

नवरात्रको छैठौँ दिन दूर्गाको कात्यायनी रुपको पूजन गर्ने गरिन्छ । महिषासुरको उत्तपातले आक्रान्त पृथ्वीको संरक्षणको लागि महर्षि कात्यायनको घरमा उत्पति भएका कारण कात्यायनी भन्ने गरिन्छ । भगवान कृष्ण पति पाउन गोपीनीहरुले यिनै भगवतीको पूजा गरेका थिए । कात्यनीको पूजा गर्नाले कन्याहरुले आफूले चाहेको बर पाउने कुराको उल्लेख छ । माता कात्यायनीको पूजा गर्नाले भवन, भूमि, ऐश्वर्य मिल्ने हुन्छ भनिएको छ । कात्यायनीको पूजाले समस्त मानसिक, दैविक , दैहिक कष्ट नाश हुने र घरमा सुख, शान्ति प्राप्त हुने विश्वास रहि आएको छ ।

सातौँ दिन

नवरात्रीको सातौं दिन कालरात्री देवीको पूजा आरधना गर्ने गरिन्छ । कालो स्वरुप भएकाकारण कालरात्री भनिएको हो । शास्त्रमा कालरात्रीको स्वरुपको स्मरण मात्रले दुष्ट दैत्य, दानव, राक्षस, भूत–प्रेत सबै भय शान्त हुन्छ । कालरात्रीको पूजा आराधनाले मनुष्यको अज्ञान, अन्धाकार आदि नष्ट हुने मानिन्छ । यसदिन घरकोतमा फूलपाति पनि भित्र्याउने गरिन्छ ।

सप्तमीको दिन फूलपातिस्वरुप केरा, दारिम, धान हलेदो, माने, कर्चुर, वेल, अशोक, र जयन्ती नौ प्रकारका बस्तुहरुलाई बाजा बजाउँदै विधिवत लगेर घर भित्र अथवा कोट मन्दिरहरुमा भित्र्याउने गरिन्छ ।

आठौँ दिन

नवरात्रको आठौँ दिन महागौरीको आरधना गर्ने गरिन्छ । यसदिनलाई महा अष्टमी पनि भनिन्छ । महागौरी आठ वर्षको उमेरमै कठोर तपश्यामा लिन हुँदा शरीर कालो भएको थियो र साक्षात् शिवले गंगा जलद्वारा स्नान गराएपछि यिनको शरीर गोरो भएका कारण महागौरी भनिएको हो । यस दिन आफ्ना कुलदेवी कोत घरमा बलि पनि दिने प्रचलन छ तर बलि अर्थ खासमा हिंसा भने होईन बलि भनेको त निवेदन अथवा उपहार हो ।

बलि भनेको मनुष्यमा रहेको काम, क्रोध लोभ, मोह अहंकर रुपी पशुलाई भगवतीको चरणमा अर्पण गर्नु भनिन्छ । यस दिन देवीको बाहन सिंहलाई विधिवत पूजन गर्ने र हात हतियारहरुको पूजा गर्ने प्रचलन पनि रहेको छ । महागौरीको पूजाको दिन नरिवलको प्रशाद लगाएर सबैलई बाँडेर खानाले सकल मनोरथ पुराहुने विश्वास छ ।

नवौँ दिन

दशैँको अधिल्लो दिन अर्थात नवरात्रको नवौं दिन भगवती दूर्गाको सिद्धिदात्री स्वरुपको पूजा गर्ने गरिन्छ । यसै दिन विहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरूको पूजा तथा विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दश वर्षसम्मका नव कन्याहरूको पनि पूजाआजा गर्ने गरिन्छ । सिद्धिदात्रीको पूजाले मनको अहंकार मेटिन्छ भनिएको छ ।

यसै दिन पूजन पश्चात् देवीलाई सम्पूर्ण प्रकारको अन्न तथा हलुव, चना, पुरी, खीर, आदिका व्यञ्जनको भोग लगाएर गरिब दुखीलाई बाँड्नाले सबै प्रकारका कष्टको निवारण हुने बताइन्छ ।

दशौँ दिन

दशौँ दिनलाई दशैँ भन्ने गरिन्छ । नौ दिन सम्म गरिएको पूजा आरधनाको प्रसाद आर्शिवाद लिने दिनको रुपमा पनि दशैँलाई चिनिन्छ । अश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म दश दिन मनाइने भएको हुनाले दशैँ भनियो ।

यस दिन भगवन रामचन्द्रले नारदका उपदेशले नवरात्र व्रत गरि रावणमाथि विजय प्राप्त गरेकाले विजयादशमी भनिएको पाईन्छ , नौ दिनसम्म गरेको पूजामा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न राता अक्षताका तीन थुप्रा बनाई मध्यमा अपराजिता देवी दायाँ जया देवी र वायाँ विजया देवीको यथाशक्ति पूजा र जमराको पूजा गरी अनि भगवती दूर्गा पितृ अन्य देवीदेवता चढाई त्यो टीका प्रसाद आफुभन्दा ठुलाको हातबाट थाप्ने चलन रहेको छ ।

मान्यजनको अशीर्वादले कसैले पनि आफूमाथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ ।

टीका लगाउँदा आशिष दिने मन्त्र यस्तो छ –

आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योेधने ।

दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।

विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस, भगवान् रामको जस्तो शत्रु नाश हुन, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईंलाई प्राप्त होस् भनी मान्यजनबाट आशीर्वचन लिइन्छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.