Advertisement

एनआरएनए अध्यक्षका उम्मेदवार कुल आचार्यको प्रतिवद्धताः नागरिकता र सम्पत्तिको अधिकार पहिलो प्राथमिकता

0 199

Advertisement

२० असोज, काठमाडौं । गैरआवासीय नेपाली संघको आसन्न महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले आफ्नो प्रतिवद्धता सार्वजनिक गर्दै आगामी दुई वर्षमा संघको सदस्य संख्या कम्तिमा पाँच लाख पुर्‍याउने र राष्ट्रिय समन्वय परिषदको संख्या एक सय पुर्‍याउने घोषणा गरेका छन् ।

असोज १० मा काठमाडौंमा विशेष समारोहको आयोजना गरी उम्मेदवारी घोषणा गरेका आचार्यले भर्चुअल पत्रकार सम्मेलन गरी आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।

आचार्यले सार्वजनिक गरेको प्रतिवद्धतामा प्रवासमा लाखौं नेपालीहरू रहेको भए पनि संघमा अपेक्षाकृत सहभागिता नभएको उल्लेख छ । उनले आफू अध्यक्षमा निर्वाचित भएपछिको दुई वर्षमा सदस्य संख्या कम्तीमा पाँच लाख पुर्‍याउने र एनसीसीहरुको संख्या पनि एक सय पुर्‍याउने बताए ।

हाल संघका पन्जीकृत सदस्य संख्या एक लाखको हाराहारीमा रहेको छ । ८४ देशमा एनसीसी स्थापना भएको छ । तर, २० वटा एनसीसी हाल निष्कृय रहेका छन् ।

‘पद्धति र पारदर्शिता’को नारासहित उम्मेदवारी घोषणा गरेका आचार्यले निर्णय प्रक्रियामा सहभागिता र कार्यान्वयनमा पारदर्शितालाई पहिलो शर्तका रुपमा अघि सारेका छन् । ‘सीमित व्यक्तिले गर्ने निर्णय र अपारदर्शी व्यवहारबाट संस्थाको साख गिर्दै गइरहेको छ, मैले यसलाई पूर्णरुपमा सुधार गर्नेछु’ आचार्यले भने ।

नागरिकता पहिलो प्राथमिकता

नेपालको संविधानले प्रदान गरेको गैरआवासीय नेपाली नागरिकताको अधिकार कार्यान्वयनमा ल्याउन आवश्यक सबै पहल गर्ने आचार्यले स्पष्ट पारेका छन् ।

संविधानसभाले संविधान निर्माण गर्दादेखि नै नागरिकताको मुद्दा उठाइरहेका आचार्यले संविधानमा उल्लेख भएपनि आवश्यक ऐन बन्न नसक्दा गैरआवासीय नेपालीहरु नागरिकताको अधिकारबाट बन्चित भएको उनले बताए । आगामी कार्यकालमा यसलाई निष्कर्षमा पुर्याउने आफ्नो योजना रहेको उनले बताए ।

नागरिकताको अधिकार कार्यान्वयन नहुँदा सम्पत्तिको अधिकार पनि उपयोग गर्न नपाएको र त्यसकै कारण नेपालबाट पूँजी पलायन हुन थालेको बताउँदै आचार्यले नेपालको पूँजी नेपालमै राखेर विदेशमा आर्जन गरेको पूँजी नेपाल भित्र्याउन पहल गर्ने बताए । ‘सम्पत्तिको अधिकारले एकातिर पूँजी पलायन रोक्छ र विदेशमा कमाएको सम्पत्ति नेपालमा ल्याउने बाटो पनि खुल्छ,’ उनले भने ।

कोभिड महामारीको कारणले प्रवासमा रहेका नेपाली मजदुरहरुको उद्धार गर्न दातृ निकायले दिएको अनुदानमा समेत आर्थिक अनियमितता भएको समाचारले संघ र सम्पूर्ण गैरआवासीय नेपाली परिवारको शिर निहुरिएको भन्दै आचार्यले आगामी दिनमा यस्तो अवस्था आउन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले सदस्यता र डेलिगेट्ससम्बन्धी पछिल्लो विवाद पनि व्यक्तिगत स्वार्थ, अपारदर्शी निर्णय र विधान विपरीतका क्रियाकलापका कारण उत्पन्न भएको उनले बताए ।

मर्यादित र सुरक्षित वैदेशिक रोजगारीको योजना

अध्यक्ष पदका उम्मेदवार आचार्यले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पठाएको रेमिट्यान्स मुलुकको अर्थतन्त्रको प्रमुख मेरुदण्ड भए पनि रेमिट्यान्स पठाउने दाजुभाइ तथा दिदीबहिनीहरुको पसिनाको सम्मान हुन नसकेको बताए ।

वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने तत्कालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने उनले स्पष्ट पारे ।

वैदेशिक रोजगारीका क्रममा दिवंगत भएकाहरुको शव व्यवस्थापन तथा सम्मानित दाहसंस्कारको लागि स्पष्ट नीति तथा कार्ययोजना बनाउने र विदेशमा जेलमा रहेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउन संस्थागत रुपमै पहल गर्ने आचार्यले बताए ।

सातै प्रदेशमा शीप विकास प्रशिक्षण केन्द्र स्थापना गरी स्वरोजगारका लागि अभिप्रेरित गर्ने तथा वैदेशिक रोजगारीमा जानेहरुका लागि आवश्यक आधारभूत शीप प्रदान गर्ने आफ्नो लक्ष्य रहेको उनले जानकारी दिए । आचार्यले ‘एक एनआरएन एक रोजगार’को अवधारणालाई कार्यान्वयनमा ल्याउने पनि बताए ।

गैरआवासीय नेपालीहरुको लगानीलाई वृद्धि गर्दै मुनाफामुलक बनाउने र संघले सञ्चालन गरेका लगानी तथा पूर्वाधार बोर्ड र विकास कोषमा सहभागिता वृद्धि गर्ने पनि आचार्यले प्रतिवद्धता व्यक्त गरे ।

पूँजीसँगै ज्ञान र शीप पनि नेपालमा

अध्यक्ष पदका उम्मेदवार आचार्यले विदेशमा ख्यातिप्राप्त नेपाली ज्ञानलाई आफ्नै मातृभूमिमा फर्काउनु आफ्नो उद्देश्य रहेको बताएका छन् ।

संघमा युवा तथा महिला सहभागिता वृद्धि गर्दै नयाँ पुस्तालाई नेपालसँग जोड्नु पनि आफ्नो उद्देश्य रहेको बताउँदै आचार्यले विदेशमा हुर्किरहेको दोश्रो र तेश्रो पुस्तालाई मातृभूमिसँग जोड्न पुलको काम गर्ने पनि स्पष्ट पारे ।

आचार्यले प्रवासमा नेपाली भाषा, कला र संस्कृति प्रचार प्रसार गर्दै विदेशमा नेपाललाई चिनाउने अभियान सन्चालन गर्ने उनले बताए । विदेशी पर्यटकलाई नेपाल भित्र्याउन संघका आमसदस्यहरूलाई सद्भावना दूतको रुपमा परिचालन गर्ने योजना पनि आचार्यले सार्वजनिक गरेका छन् ।

अध्यक्ष पदका उम्मेदवार आचार्यले बेलायतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरुको मुद्दा कहिल्यै नबल्झिने गरी समाधान गर्न निर्णायक पहल गर्ने बताएका छन् ।

त्यस्तै, मध्यपूर्वको श्रम समस्या, युरोप, अमेरिका र अष्ट्रेलियाको विद्यार्थी समस्या तथा अफ्रिका क्षेत्रको भिसा लगायतका समस्याका बारेमा आफू जानकार रहेको भन्दै उनले यी समस्या समाधानका लागि पनि योजनाबद्ध रुपमा अगाडि बढ्ने स्पष्ट पारेका छन् ।

‘एनआरएनएः भिजन २०२० एण्ड बियोन्ड’ दस्तावेजमा गरिएका सिफारिसहरूलाई कार्यान्वयनमा ल्याउने, केन्द्रीय कार्यालयलाई थप प्रभावकारी र उत्तरदायी बनाउने, राष्ट्रिय समन्वय परिषद् एनसीसीहरूलाई स्वायत्त, स्वावलम्वी र प्रभावकारी बनाउने योजना पनि आचार्यले सार्वजनिक गरेका छन् ।

आचार्यले गैरआवासीय नेपालीहरुलाई मात्रै नेपाली मूलका विदेशी नागरिकहरुलाई पनि नेपालसँग जोड्ने योजना सार्वजनिक गरेका छन् । विश्वका थुप्रैै मुलुकमा नेपाली मूलका मानिसहरु रहेको बताउँदै उनीहरुलाई नेपालसँग जोड्ने आफ्नो उद्देश्य रहेको बताए । ‘पिपुल अफ नेपाली अरिजिन, पिएनओ’ हरुलाई नेपालसँग जोड्न सकेमा नेपालको विकास र समृद्धि तथा भावनामा पनि थप बल पुग्ने उनले बताए ।

कार्यक्रममा उपाध्यक्ष पदका उम्मेदवारहरू एसी शेर्पा, त्रिलोक गुरुङ, महासचिव पदका उम्मेदवार डा. केशव पौडेल, सचिव पदका उम्मेदवार नारायण आचार्य, प्रवीण गुरुङ तथा गंगाधर गौतम, युवा उपाध्यक्ष पदका उम्मेदवार हिमाल गुरुङ, महिला संयोजक उम्मेदवार जुनु गुरुङ, युवा संयोजक उम्मेदवार बिमला सापकोटा, सहकोषाध्यक्ष पदका उम्मेदवार नारायण सुवेदी, गोविन्द श्रेष्ठ रोविन्द्र, युरोपबाट उपक्षेत्रीय संयोजक पदका उम्मेदवार भीम केसी कमल लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

त्यसैगरी, एनआरएनए अभियन्ता लोकप्रसाद दाहालले आफूले केन्द्रीय सहमति अनुरुप कुल आचार्यको टिमबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका थिए ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.