Advertisement

खाडीमा भन्दा बारीमा मनग्य कमाइ

0 563

Advertisement

२० असाेज, गलेश्वर । ‘सोचेजस्तो हुन्न जीवन, खोजेजस्तो हुन्न जीवन..’ भन्ने गीतका शब्द र भाव धेरैको जिन्दगीसँग मेल खान्छन् । गायिका अरुणा लामाको स्वरमा रहेको सो गीत घर परिवार, समाज र आफ्नै देश छोडेर पैसा कमाउने र सुखी जिन्दगी विताउने लालसामा वैदेशिक रोजगारीका लागि विदेश गएर सयौं हण्डर खाएका युवाको जिन्दगी सोचेजस्तो हुने कुरै भएन ।

अरबका खाडीमा खाइनखाइ पसिना बगाएर दशनङ्ग्रा खियाउँदा पनि राम्रो कमाइ गर्न नसकेपछि गाउँमा फर्किएर तरकारी र फलफूलखेती गरेका म्याग्दीका केही युवाले खाडीमा भन्दा तीन गुणाबढी आम्दानी गरेर मनमा सन्तोष र मुहारमा खुसी फर्काउन सफल भएका छन् ।

त्यस्ता धेरै युवामध्येका तीनजना प्रतिनिधि पात्र हुनुहुन्छ म्याग्दीको मङ्गला गाउँपालिकाका जीवन पौडेल, बेनी नगरपालिका–२ ज्यामरुककोटका हरिलाल घिमिरे र बेनी नगरपालिका–६ अर्थुङ्गेका नरेश जिसी ।

जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताएका यी तीनैजना युवाको पहिले र अहिलेको अवस्था करिब करिब मिल्दोजुल्दो छ । साउदी अरब, कतार र युएईमा एक दशक भन्दा बढी परिश्रम गर्दा पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका यी तीनजना युवाको जीवनको उत्तराद्र्धमा बल्ल हरियाली छाउन थालेको छ ।

मङ्गलाका ४७ वर्षीय पौडेल, ज्यामरुक कोटका ५३ वर्षीय घिमिरे र अर्थुङ्गेका ४८ वषर्र््ीय जिसीले जीवनको युवा अवस्था क्रमशः साउदी अरब, कतार र युएईको चर्को घाममा पसिना बगाउँदैमा बिताउनुभयो । खाडी मुलुकमा पसिना बगाए पनि खासै राम्रो कमाइ गर्न नसकेपछि घर फर्केर हलो र कोदाली बोकी आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि उहाँहरुको जिन्दगीमा खुसी फर्किएको छ ।

अर्का किसान घिमिरे पनि तरकारी खेतीबाट सन्तुष्ट हुनुहुन्छ । “विदेशमा कमाइ गर्न नसकेपछि गाउँ फर्केर आएँ, अनि तरकारी खेती सुरु गरेँ”, उहाँले भन्नुभयो, “कतिले मलाई विदेश छोडर बारीको माटोमा पैसा फलाउने रे भनेर गिज्याए । तर, म आफ्नो काममा लागिरहेँ ।” घिमिरेले यही माटोमा पसिना बगाउन थालेपछि मैले बुझे विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाउने हो भने पैसा यही फल्दोरहेछ भन्नुभयो ।

त्यसैगरी अर्थुङ्गेका जिसीले पनि विदेशको बसाइँलाई बिट मारेर गाउँमै कृषि कर्ममा रमाउँदै राम्रो कमाइ गरिरहनुभएको छ । उहाँको तीन रोपनी बारीभरी लटरम्म तरकारी फलिरहेको छ । बजारमा स्थानीय तरकारीको माग रहेकाले बिक्रीको कुनै समस्या छैन । तरकारी बेचेर मासिक ३० हजारभन्दा बढी आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

अहिले रोजगार पाउन नसकेको भन्दै धेरै युवा विदेशिने गरेका छन् । तर, म्याग्दीमा भने विदेशबाट फर्केर आएका युवाले तरकारी, फलफूल खेती र पशुपालन गरेर विदेशको भन्दा बढी कमाइ गरिरहेका छन् । स्थानीय तह र सम्बन्धित सरकारी निकाय तथा गैरसरकारी सङ्घ संस्थाले पनि व्यावसायिक किसानलाई प्रोत्साहन गर्ने, कृषि औँजारदेखि मल बीउसम्म सहयोग गर्ने र आर्थिक अनुदान समेत उपलब्ध गराउने गरेकाले धेरै युवाको कृषि पेसातर्फ आकर्षण बढ्दै जान थालेको पाइएको छ ।

युवालाई कृषि पेसातर्फ आकर्षित गर्नका लागि कृषि औजार र मल बीउ खरिदमा अनुदान, सिँचाइको प्रबन्ध, ठूलो क्षेत्रफल र ठूलै समूहमा खेती किसानी गर्न प्रोत्साहन गर्नुपर्ने यस क्षेत्रमा लागेका युवा बताउँछन् । । जिसीले भन्नुभयो, “हामी पाँच लिटर दूध उत्पादन गरेर बिक्री हुँदैन, के गाईपालन गर्नु भन्छौं । एक डोको सिमी फलाएर बिक्री नै हुँदैन, किन सब्जी खेती गर्नु भनेर क्यारेमबोर्ड खेलेर बस्छौं । त्यसो होइन । हामीले हरेक उत्पादन ठूलो मात्रामा गर्नुपर्छ ।”

उहाँका अनुसार कृषिलाई परम्परागत होइन, आधुनिक र प्रविधिकरण गरेर थोरै श्रमबाट धेरै उत्पादन दिन सक्नुपर्छ, जसले गर्दा लागत कम हुन्छ । यसका साथै यसले ग्रामीण र कृषि पर्यटनको सम्भावना पनि उत्तिकै बढाउनेछ । सबै युवा उद्यममा लागेपछि गाउँमा दिगो आर्थिक गतिविधि हुनेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.