Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

” ज्ञानबिनाको दिशाविहीन डिग्री “

0 389

दीपक राज जोशी

१६ असाेज, काठमाडाै ।
गरिबी कम गर्ने एउटा प्रमुख औजारका शिक्षा हो । तर, नेपालमा शिक्षा नै विकासको बाधक बनेर बसेको छ । संस्कारयुक्त नभएको शिक्षा प्रणालीले कतै जाँदा पनि सहयोग गर्दैन । हाम्रो शिक्षा प्रणाली न त रचनात्मक छ न त सिर्जनात्मक । बरु यो भिसामुखी, पैसामुखी र राजनीतिमुखी मात्रै बनिरहेको छ ।

चार दिवारले घेरेको कक्षाकोठा हाम्रो ज्ञान आर्जनको थलो बनेको छ । यो आफैंमा गलत हो । कक्षाकोठा बाहिरको ज्ञान हाम्रा लागि सिक्न जरुरी देखिएको छैन । धर्मशास्त्रमा विद्यालाई ‘सा विद्या वा विमुक्ते’ वा विद्याबाट मुक्ति प्राप्त हुन्छ भनिएको छ । । विद्याबाट अमृत वा मोक्ष प्राप्त हुँदा रोग, शोक, द्वेष, पाप, अहंकार, गुलामी, गरिबी, बेरोजगारी, अभाव, अज्ञान, दुर्भाग्य, दुव्र्यवहार आदिको दासत्वबाट स्वतन्त्रता प्राप्त गर्न सकिन्छ । यस्तो विद्या हासिल गर्ने व्यक्ति विद्वान हुन्छ ।

के हाम्रो समाजमा मुक्ति पाउनका लागि विद्या आर्जन गरेका व्यक्ति छन् ? शिक्षाले डिग्री प्रदान गर्छ । त्यो भौतिक उन्नति, प्रगति, विकास र ज्ञानसँग सम्बन्धित हुन्छ । भौतिकवादीका लागि शिक्षा शारीरिक सुख भोगका लागि हो भने आध्यात्मवादीका लागि प्रगति ईश्वरीय सोचसहितको जीवन जिउनु हो । शिक्षा बाह्य रूपमा भौतिक फ्रेम हो आन्तरिक रूपमा संस्कार, पहिचान, जीवनको मूल्यबोध र जीवन दृष्टि हो । त्यसैले हामी सधैं विद्यार्थी भइरहन्छौं । शिक्षा अक्षर ज्ञान, पुस्तकीय ज्ञान, सूचना संग्र्रह, नम्बर र डिग्रीसम्म सीमित छ ।

विद्या जीवनलाई श्रेष्ठ एवं पवित्र बनाउन भएकाले धार्मिकपन, आधुनिकता, नैतिकता, सदाचार शिष्टाचारको भावना जाग्रत गराई खुसी र सन्तुष्ट बनाउने साँचो हो । भनिन्छ ‘विद्वाविहीनः पशुभिः समानः’ विद्याविहीन व्यक्ति पशुसमान हुन्छ । शिक्षा आफूलाई पूर्ण बनाउनु हो । यसले असल, नैतिक इमानदार, दयालु, धार्मिक एवं नैतिकवान बनाउँछ ।

तर, आधुनिक शिक्षालाई व्यवसायका रूपमा लिइने गरिएकाले कसरी पैसा कमाउने भन्नेमा सीमित हुन पुगेको छ । हामीसँग भएका पाठ्यक्रमले कामचलाउ जनशक्ति मात्रै उत्पादन गरिरहेको छ । विशेष गरी दुर्गम क्षेत्रका सरकारी स्कुललाई व्यवस्थित गर्न र अनुकूलन र प्रवद्र्धन गर्न हामीकहाँ आर्थिक स्रोत र साधनको कमी छ । शिक्षाआर्जनका लागि आधारभूत आवश्यकता जस्तै व्यवस्थित शौचालय, कक्षाकोठामा बिजुलीबत्तीदेखि लिएर शिक्षासँग सम्बन्धित आवश्यक पूर्वाधार, कम्प्युटर र अतिआवश्यक सुविधाको अभाव छ । शैक्षिक गुणस्तर घटाउने अर्को समस्या भनेको शिक्षकले गर्ने तयारीको कमी हो । शिक्षाको गलत ढाँचा, अभिभावकको महŒवाकांक्षा, अत्यधिक प्रतिस्पर्धाको आक्रामकता र ‘सफलता’को त्रुटिपूर्ण प्रवृत्तिले नेपालका कलिला दिमागलाई नष्ट गर्दै छ ।

शिक्षकको प्रभावकारिता र जिम्मेवारी सुधार गर्नु हो । हामीकहाँ बालबालिकालाई उत्साहित गर्ने शिक्षाप्रणाली आवश्यक छ । विद्यालयमा समय खर्च गर्नु मात्र पर्याप्त छैन, कौशल सिक्न आवश्यक छ । शिक्षा व्यवसाय हुनु हुँदैन । यो अधिकार हो । शिक्षाको फाइदा व्यक्ति र समुदाय हरकोहीका लागि निर्विवाद छ । गरिबी हटाउन र देश विकासलाई बढावा दिन शिक्षा एक प्रभावकारी उपाय हो । सफलताका साथ सिक्न शिक्षालाई अधिकारका रूपमा बुझ्नुपर्छ, विद्यार्थी जस्तोसुकै पृष्ठभूमि वा सामाजिक–आर्थिक, सांस्कृतिक वा व्यक्तिगत प्रकृतिको भए पनि शिक्षाको अधिकार भनेको सबै विद्यार्थीबिना भेदभाव सफलताका साथ सिक्न पाउने अधिकारका रूपमा बुझ्नुपर्छ ।

वर्तमान शिक्षाले विद्यार्थीलाई तनाव दिन्छ । तनावको अधिक भारले उनीहरूको दिमाग र शरीरमा चिन्ता विकार, डिप्रेसन, उच्च रक्तचाप र किशोर–किशोरीमा मोटोपना निम्त्याउन सक्छ । अझभन्दा तनावको प्रभावले मस्तिष्कको भागमा रक्त प्रवाह असर, न्यून रक्तचाप पनि हुन सक्छ । यसले मस्तिष्कका विभिन्न भागबीचको ‘न्युरोनल कम्युनिकेसन’ बिग्रिन्छ र यसको परिणामस्वरूप उनीहरूमा नकारात्मक भावना पैदा हुने, झोक्किने, रिसाउने, झगडा गर्ने हुन सक्छ ।

हाम्रो शिक्षा प्रणाली विविधतामा अनुकूल छैन, हाम्रा विद्यार्थीको शिक्षण र शिक्षा व्यक्ति केन्द्रित हुँदैन । अभिभावक र शिक्षकबीच आपसी अविश्वास छ । हामीले एक वास्तविक गुणस्तरीय शैक्षिक टोलीको गठन गर्नु आवश्यक छ । शिक्षामा अत्यधिक राजनीतिकरण भएकाले राजनीतिकर्मीको हस्तक्षेप नियन्त्रित र सीमित गरिनुपर्छ । हाम्रा राजनीतिज्ञले आउँदो चुनावबारे भन्दा आउँदो पिँढीबारे चिन्ता गर्न सकून् ।

विकसित देशमा अर्थव्यवस्था वृद्धिको मुख्य इन्जिन शिक्षा हो । एक आधुनिक, प्रजातान्त्रिक र खुला अर्थव्यवस्था तब हुन्छ जब मानवीय पुँजी, लगानी संकलनको प्रक्रियामा शिक्षा मुख्य इन्जिन हुन्छ । भारत र चीनले राम्रो जनशक्ति उत्पादन गर्छ । उनीहरूले उत्पादन गरेको जनशक्ति विकसित देशमा गएर धेरै पैसा कमाउने काम गर्ने गर्छन् । तर, हाम्रो शिक्षा व्यवस्थाले मजदुर मात्रै उत्पादन गर्ने हुनाले ती सबै खाडी जान बाध्य छन् ।

शिक्षा ऐतिहासिक रूपमै आर्थिक विकासको मुख्य इन्जिन बन्नुपर्छ । शिक्षामा लगानीको सिधा सम्बन्ध आजको ‘ग्लोबलाइज्ड अर्थव्यवस्था’मा आर्थिक वृद्धि र विकाससँग छ । शिक्षाले श्रमशक्तिमा अन्तरनिहित मानवीय पुँजी बढाउन सक्छ । यसले कामको उत्पादकत्व बढाएर उत्पादनमा सन्तुलन कायम गर्छ ।

आधारभूत मानव पुँजीको दृष्टिकोण के हो भने शिक्षाले समग्र सीप र कार्यबलको क्षमतामा सुधार ल्याउँछ, जसले अधिक उत्पादन क्षमता र विद्यमान टेक्नोलोजी प्रयोग गर्ने क्षमतामा सुधार ल्याउँछ र यसरी आर्थिक वृद्धिमा योगदान पु‌¥याउँछ । ज्ञान आधारभूत उपकरण हो, जसले मानिसलाई स्वतन्त्र हुन तथा परिस्थितिलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने क्रममा जीवनको उत्तम मार्ग निर्माण गर्न सक्षम तुल्याउँछ जसले पहिले, आफ्नै परिवर्तनलाई प्रभावित गर्छ र त्यसपछि सामूहिक राष्ट्रिय वास्तविकतालाई प्रभावित गर्छ ।

जसका कारण देशको विकास र उन्नति हुन्छ, शिक्षा व्यवस्था सही हुन्छ । जीवनमा सफल हुन असल शिक्षा एक महŒवपूर्ण साधन हो । उपनिषद्मा मातृ देवो भवः पितृ देवो भवः आचार्य देवो भवः, अतिथि देवो भवः भनिएको छ । अर्थात् माता, पिता, गुरु र अतिथि संसारका चार प्रत्यक्ष देवता हुन् । उनीहरूको सेवा गर्नुपर्छ जसमा माताको स्थान पहिलो, पिताको स्थान दोस्रो, गुरुको स्थान तेस्रो र अतिथिको स्थान चौथो रहेको हुन्छ ।

वैदिक शिक्षाले विवेकाधिकार र आत्मसंयम, चरित्रमा सुधार, मित्रता या सामाजिक जागरुकता मौलिक व्यक्तित्व र बौद्धिक विकास, पुण्य प्रसार, आध्यात्मिक विकास, ज्ञान र संस्कृतिको संरक्षणतर्फ केन्द्रित हुन्छ । एसईई बोर्डले यी सबै कुरा दिन सक्दैन । समाजलाई सही दिशा दिने वैदिक शिक्षाको आवश्यकता छ । व्यावहारिक शिक्षा प्रदान गर्नुका साथै व्यक्तित्व विकास, चरित्र निर्माण, नागरिक र सामाजिक उत्तरदायित्व, संस्कृतिको संरक्षणका साथै आत्मज्ञान प्राप्तलाई शिक्षाको ध्येय बनाउनुपर्छ ।

(लेखक लेक्चरर र आईटी परामर्शदाता हुन्। उनी कपिद जोशीको नामले फिक्शन पनि लेख्छन्। उनी लाइ [email protected] मा सम्पर्क गर्न सकिन्छ।)



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.