Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

वर्षा नरोकिँदा सडक मर्मत थाँती

0 64

१४ असोज, काठमाडौं । वर्षा नरोकिँदा खाल्डा परेका सडकको मर्मत सुरु हुन सकेको छैन । समयमा मर्मत नहुँदा देशभरका धेरै राष्ट्रिय राजमार्गमा खाल्टाखुल्टी परेका छन् । अझै केही दिनसम्म वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ । त्यसैले तत्काल खाल्डा पुर्ने काम अघि नबढाइएको हो । खाल्डामा पानी हुने र पानी जम्दा त्यसको मर्मत गरे पनि टिकाउ नहुने भएकाले तत्काल मर्मत सुरु नगरिएको सडक विभागका उपमहानिर्देशक (सम्भार महाशाखाका प्रमुख) भीमार्जुन अधिकारीले बताउनुभयो ।

आगामी अक्टोबर दुई देखि वर्षा कम हुने अनुमान छ । उहाँले भन्नुभयो, “हामीले देशभरका सबै राजमार्गमा एकैपटक मर्मत गर्नेछौँ ।” सडक निर्माणपछि आवधिक मर्मत हुँदा मात्रै त्यो लामो समयसम्म राम्रो अवस्थामा रहन्छ । कोभिडले गत आवमा मर्मतको काम विगतमा भन्दा कम भएको थियो ।

सडक कालोपत्र भएको छ सात वर्षमा कालोपत्र थप्ने काम (ओभरले) गरिन्छ । विभागले कुनै स्थानमा खाल्डा पर्नासाथ पुर्छ । खासगरी असार, साउन र भदौमा मर्मत गरिँदैन । पानी पर्दा गरिने मर्मत टिकाउ हुँदैन । विगतमा भदौसम्ममा वर्षा रोकिँदा मर्मत गरिन्थ्यो ।

वर्षा रोकिने समय र दसैँ, तिहारजस्ता चाडपर्व अघि यात्रुको आवतजावत बढ्ने हुँदा विभागले सालिन्दा यही समयमा सडक मर्मत गरिन्छ । यही २१ गते घटस्थापना रहेकाले त्यस पहिले नै सडक मर्मत गरिसकिने गरी योजना बनाइएको उपमहानिर्देशक अधिकारीले बताउनुभयो ।

पूर्वपश्चिम राजमार्गमा दाङलगायत बढी समस्या भएका ठाउँमा मात्रै अहिले मर्मत भइरहेको छ । त्यसबाहेक अधिकांश स्थानमा मर्मत सुरु भएको छैन । दुई चार दिनपछि मर्मत सुरु भए पनि दसैँ पहिले नै सकिने योजना छ । उहाँले भन्नुभयो, “डिभिजन सडक कार्यालयले जनशक्ति र आवश्यकमात्रामा उपकरण तयारी अवस्थामा राखेकाले एक हप्तामा सबैतिर खाल्टाखुल्टी हट्नेछ ।”

यस वर्ष विगतको तुलनामा बढी वर्षा भएकाले सडक धेरै बिग्रिएका छन् । राष्ट्रिय राजमार्गमा ठाउँठाउँमा खाल्डा परेका छन् । कतिपय स्थानमा भने माथिबाट आएको पहिराका कारण सडक अवरुद्ध छन् । बेँसीशहर–चामे सडकबाहेक अधिकांश स्थानमा सडक खुलाइएको विभागले जनाएको छ ।

धेरै सडक एकातर्फीरुपमा खुलाइएको भए पनि दुवैतर्फबाट खुल्न सकिरहेको छैन । ती सडक वर्षा रोकिएपछि दुवैतर्फ खुलाउने योजना छ । चाडपर्वमा धेरै नागरिक आआफ्नो घर फर्कने हुँदा सवारीसाधनको चाप बढ्ने भएकाले दुवैतर्फ खुलाउनुपर्ने आवाज उठिरहेको छ ।

सडकका खाल्टाखुल्टी नहटेका कारण सवारीसाधन गुडाउन गाह्रो भएको भन्दै चाँडो मर्मत गर्नुपर्ने यातायात व्यवसायीले बताउँदै आएका छन् । अहिले दाउन्ने, नौबिसेलगायतका स्थानमा सडकको अवस्था खराब रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताउनुभयो ।

सडकको अवस्था खराब हुँदा दुर्घटनाको जोखिम हुन्छ । उहाँले भन्नुभयो, “दसैँ आउन थोरै समय बाँकी भएकाले चाँडो मर्मत गरिसक्नुपर्छ ।” सडक बोर्ड नेपालले सडकमा मर्मतको काम गर्दै आएको छ । देशभरका डिभिजन सडक कार्यालयले जुनसुकै समयमा खाल्टाखुल्टी भएमा तत्काल मर्मत गर्दै आएका छन् । डिभिजनले मर्मतभन्दा नयाँ निर्माणमा ध्यान दिएको आरोप लाग्दै आएको छ । विभागले भने ससाना निर्माणमा छुट्टै योजना कार्यालय स्थापना सम्भव नभएकाले पनि डिभिजनलाई छोटो दूरीमा निर्माणमा समेत लगाउनुपर्ने बताउँदै आएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.