Advertisement

भोजपुरमा कच्ची सडक हिलाम्य : स्थानीयवासीलाई समस्या

0 288

Advertisement

२५ भदाै, भोजपुर । वर्षायाम सुरु भएसँगै जिल्लाका ग्रामीण भेगका कच्ची सडक हिलाम्य हुँदा स्थानीयवासीलाई समस्या भएको छ । स्थानीयवासीलाई आवतजावतसँगै दैनिक उपभोग्य वस्तु ढुवानीमा समेत समस्या भएको छ ।

बर्सातका कारण यहाँका अधिकांश स्थानीय तहको सदरमुकामसम्मको यातयात सेवा बन्द छ । सदुरमुकामबाट उत्तरी क्षेत्र षडानन्द नगरपालिकासँग जोड्ने भोजपुर–दिंला मुख्य सडकको हिलाम्य भएपछि यात्रुवाहक तथा ढुवानीका साधन सञ्चालनमा समस्या छ । यस सडकको ग्राभेल गर्ने, नाली बनाउनेलगायत काम टेन्डर प्रक्रियामार्फत गरिएको थियो तर स्थानीय सरकारको सानो अवसाधानीका कारण यो सडक अहिले हिलाम्य बनेको स्थानीयवासीको आरोप छ । केही मात्रमा बिग्रिएको ठाउँमा ढुङ्गा माटो लगाइदिए बाटो यसरी नबिग्रिने सवारी चालक तथा स्थानीयवासी बताउँछन् । सदरमुकामकै सडक बेहाल हुँदासमेत भोजपुर नगरपालिकाले मर्मतमा ध्यान नदिएको उनीहरुकोे दुःखेसो छ ।

चालक हेमन्त तामाङले भन्नुभयो, “स्थानीय सरकारले बेवास्ता गर्दा यो अवस्था अत्यन्तै खराब छ, ज्यानको बाजी लगाएर सवारी तथा ढुवानीको साधन चलाउनु परेको छ, बढी मात्रामा बिग्रिएको ठाउँमा नगरपालिकाले ढुङ्गा लगाई दिए मात्र पनि सहजता हुने थियो तर नगरपालिकाले त्यही काम गर्न पनि ध्यान दिएको देख्दिन ।”

जिल्लाको मुख्य क्षेत्र पानीट्याङ्कीबाट नै सडक हिलाम्य रहेको स्थानीयवासीको भनाइ छ । सडक हिलाम्य भएपछि स्थानीय कृषकले उत्पादन गरेका कृषि उपजसँगै दूध सङ्कलनमा समेत समस्या भएको छ । मर्मतमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनीहरुको माग छ । नगरपालिकाले बिग्रिएको केही ठाउँमा मात्र मर्मत गरिदिए मात्रै पनि यातयात सञ्चालनमा सहजता हुने स्थानीयवासीको भनाइ छ ।

स्थानीयवासी गणेशथान दुग्ध उद्योगका सञ्चालक रमेश कार्कीले भन्नुभयो, कृषकले उत्पादन गरेको कृषि तथा दुग्धजन्य पदार्थ सङ्कलनमा समस्या छ, सरोकारवाला पक्षले यसको मर्मतमा ध्यान दिए स्थानीयवासीका लागि राहत हुने थियो । सदरमुकामको सडकमा दैनिक कष्टपूर्ण यात्रा गरेर कृषकको कृषि उपज बजारसम्म ल्याउनुपर्छ ।”

सडक हिलाम्य भएर यातयात सञ्चालनमा समस्या भएपछि सुत्केरी तथा गर्भवती, आकस्मिक बिरामी तथा प्राकृतिक प्रकोपका कारण कुनै पनि विपत् आएमा भने निकै ठूलो समस्या हुने स्थानीयवासीको भनाइ छ ।

त्यस्तै जिल्ला सदरमुकामबाट हतुवागढी , रामप्रसादराई, आमचोक , साल्पासिलिछो गाउँपालिकालगायत ठाउँमा समेत सहज यातायात सञ्चालनका लागि समस्या रहेको छ ।

कतिपय ठाउँमा सडक ग्राभेल गरिएको भए पनि उचित ढलको व्यवस्था नहुँदा त्यस्ता स्थानमा पनि समस्या भएको छ । चाडबाड नजिकिएसँगै मानिसहरुको आवतजावत बढेको छ तर सडक सञ्चालनमा भने समस्या छ ।

दैनिक उपभोग्य वस्तु ढुवानीका लागिसमेत कठिनाइ भएको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका स्थानीय व्यापारी सन्तोष विष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाटोमा समस्या हुँदा दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या छ । विभिन्न ठाउँमा पहिरो गएको छ भने कतिपय सडकमा ठूलाठूला खाल्डा परेका छन् । यसले गर्दा अहिले हाम्रो ठाउँमा सडकका कारण समस्या परेको छ । आकस्मिक बिरामी, सुत्केरी तथा वृद्धवृद्धालाई अत्यन्तै समस्या छ ।

जिल्ला सदरमुकामबाट खोटाङको सीमना पाँचधारे बजारसम्म सञ्चालन हुने सडक पनि बन्द भएको छ । दलगाउँ, ओख्रे, भुल्के, कोट, गोगने, लेखर्कलगायत स्थानीय यातयात सेवाबाट वञ्चित भएका छन् । यसरी सडक बन्द हुँदा किसानले उत्पादन गरेका कृषि उपजलाई बजारसम्म ल्याउन समस्या भएको किसानको भनाइ छ ।

स्थानीयवासी रामचन्द्र राईले भन्नुभयो, स्थानीयस्तरका बाटो बन्द हुँदा कृषि उपज बिक्री वितरणमा समस्या भएको छ । गाउँमा उत्पादन भएको आलु बिक्री गर्नसमेत कठिनाइ भएको छ । लेकाली भेगका हामी जस्ता किसानको मुख्य आम्दानीको स्रोत आलु नै तर सडकको अवस्था बिग्रँदा धेरै किसानले बिक्री गर्न सकेका छैनन् ।

पूर्वी क्षेत्रबाट भोजपुर–लेगुवा ६६ किलोमिटर सडक र पश्चिमी क्षेत्र जाने भोजपुर–चखेवा ४२ किलोमिटर सडकमा मात्र नियमित रुपमा यातयात सञ्चालनमा रहेको छ । यो सडक पनि करिब चार वर्षअगाडि मात्र कालोपत्र सम्पन्न भएपछि स्थानीयवासीलाई राहत मिलेको हो ।

पश्चिमी क्षेत्रबाट भोजपुर नगरपालिकाको बोखिम, सिद्धेश्वर, गुप्तेश्वर र टेम्केमैयुङ गाउँपालिकाको सेतीबगर, शिरदली, मेस्पाङ, खोङटाङ, अन्नपूर्णलगायत ठाउँलाई छोएर यो सडक विस्तार भएको छ । एक दिनसम्मको पैदल यात्रा गरेर भोजपुर बजार आउनुपर्ने अवस्था रहेका यस क्षेत्रका मानिसहरु सडकको सुविधा भएपछि आफ्ना क्षेत्रमा उत्पादन भएका कृषि उपज बिक्री गरेर घर फर्कन पाएका छन् ।

यस क्षेत्रमा उत्पादन भएका कृषि उपजहरु अहिले काठमाडाँै, धरान विराटनगरलगायत सहरमा पुग्ने गरेका छन् तर अन्य अधिकांश सडक भने वर्षात लागेपछि प्रायः सबै बन्द रहेका छन् ।

देशमा सङ्घीयता कार्यान्वयनमा आएसँगै सडक विस्तारले गति लिएको छ तर हिउँद महिनामा मात्र सडक सञ्चालन हुने भएकाले यस्तालाई १२ महिना चल्ने गरी निर्माण गरिनुपर्ने स्थानीयवासीको माग रहेको छ ।

प्रदेश सरकारको करिब रु १७ करोड लागतमा जिल्लाको एक मात्र टक्सार विमानस्थलबाट सदरमुकामसम्मको पाँच किलोमिटर सडक कालोपत्र गरिएको छ । यो प्रेदश–१ सरकारले कालोपत्र गरेको जिल्लाको पहिलो सडक पनि हो ।

त्यस्तै रामप्रसादराई गाउँपालिकाको डढुवादेखि आरीखोलासम्मको करिब २० किलोमिटर सडक कालोपत्रको काम भइरहेको छ । पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत निर्माण भइरहेको यो सडकमा प्रदेश सरकारको करिब रु ५४ करोड लगानी रहेको छ ।

त्यस्तै प्रदेश सरकारले षडानन्द नगरपालिका–१२ तुर्केपुल–फाली दोबाटो २२ किलोमिटर सडक कालोपत्रको काम सुरु गरेको छ । रु ६१ करोड ६० लाख लागतमा आस्फाल्ड प्रविधिबाट कालोपत्र भइरहेको सो सडक आगामी दुई वर्षभित्र सम्पन्न गर्ने सम्झौता रहेको पूर्वाधार विकास कार्यालयको भनाइ छ ।

जिल्लालाई छोटो सडक मार्गबाट तराईका जिल्लासँग जोड्ने लक्ष्यका साथ हतुवगढी –९ हसनपुरको चुहार र उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी जोड्ने दूधकोशी नदीमा मोटरेबल पक्की पुल निर्माण भइरहेको छ ।

प्रदेश १ सरकारकै रु २१ करोड २३ लाख १२ हजार चार सय सात लागतमा पुल निर्माण सुरु भएको हो । पुलको लम्बाइ ९० मिटर र चौडाइ फुटपाथसहित साढे १० मिटर रहेको छ । पुलको डिजाइन अवधि ५० देखि ८० वर्ष रहेको छ । पुल भूकम्प प्रतिरोधी हुने यातायात पूर्वाधार निर्देशनालय प्रदेश–१ ले जनाएको छ । सदरमुकामबाट दूधकोशी पुलसम्मको लम्बाइ करिब ६५ किलोमिटर रहेको छ । जिल्लामा प्रदेश तथा केन्द्र सरकारको लगानीमा धेरै ठाउँमा सडक, पुलको निर्माणका काम भइरहेको छ । विकास निर्माणको काम भइरहेको भए पनि यहाँका धेरै सडकहरुमा हिउँद महिनामा मात्र सञ्चालन हुने गरेका छन् । वर्सात कम भएपश्चात् सडकलाई मर्मत गरेर सञ्चालनमा ल्याउने स्थानीय तहले बताएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.