कर्णालीको स्याउ बजारमा आएपछि भारत र चीनको स्याउको बिक्री बन्द
२४ भदाै, नेपालगञ्ज । स्वदेशी स्याउ बजारमा आएपछि भारत र चीनबाट आउने स्याउको बिक्री यहाँ बन्द भएको छ । कर्णाली प्रदेशका जुम्ला, कालिकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको अर्गानिक स्याउ ठूलो मात्रामा स्थानीय बजारमा आएपछि भारत र चीनबाट आयात गरिने स्याउको बिक्री नहुँदा विस्थापित भएको हो ।
चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगञ्जमा अहिले कर्णालीको स्याउले जताततै बजार पाएको छ । कर्णालीका स्याउको प्रमुख बजार नेपालगञ्ज हो । अहिले बजारमा जताततै कर्णालीकै स्याउ विक्री भइरहेको छ ।
भारत र चीनबाट भित्रिएका महँगो स्याउले बजार ओगटेको समयमै कर्णाली प्रदेशबाट ल्याइएको स्याउ कोहलपुर र नेपालगञ्जमा सस्तोमा पाउन थालेपछि अन्य स्याउको बिक्री बन्द भएको छ ।
भारतीय स्याउ प्रति किलो १५० देखि २५० रुपियाँ र चीनको स्याउ प्रतिकिलो १६० रुपियाँभन्दा बढीमा बिक्री भइरहेको बेला कर्णालीको अर्गानिक स्याउ बाँकेमा प्रतिकिलो ९० देखि १२० रुपियाँसम्ममा पाइन थालेपछि अरू स्याउको बिक्री बन्द भएको व्यवसायीले जनाएका छन् ।
कर्णालीको जुम्ला र कालिकोटबाट ठुलो परिमाणमा स्याउ नेपालगञ्ज ल्याएर बिक्री सुरु गरिएकोले अन्य स्थानबाट ल्याइएका स्याउ बिक्री हुन छाडेको स्थानीय व्यवसायी रमजान कबडियाले बताउनुभयो ।
उहाँका अनुसार अहिले जताततै कर्णालीकै स्याउ बिक्री भइरहेको छ । भारतीय स्याउ महँगो र चीनको स्याउ त्यति स्वादिलो नभएकोले कर्णालीको स्याउको माग अत्यधिक छ ।
यसैगरी फलफूलका अर्का थोक विक्रेता शमसेर मियाँले अहिले बजारमा जताततै कर्णालीकै स्याउको माग उच्च रहेकोले अरू स्याउको बिक्री बन्द भएको जनाउनुभयो ।
उहाँले सीमापारिबाट आउने भारतीयहरूले समेत कर्णालीको स्याउ किनेर लग्ने गरेको बताउनुभयो ।
बाँकेको कोहलपुरस्थित कृषि उपज केन्द्रमा दैनिक करिब ३ देखि ५ टनसम्म कर्णालीको स्याउ विक्री भइरहेको छ । सो केन्द्रका अनुसार जुम्लाबाट व्यापारीहरूले कर्णालीका स्याउ कोहलपुर र नेपालगञ्ज पठाउने गरेको र त्यसको व्यापार कोहलपुर र नेपालगञ्जमा निकै फस्टाएको छ ।
यस क्षेत्रमा कर्णालीको स्याउको माग बढ्दै गएपछि कोहलपुरस्थित भेरी शीतभण्डार सहकारी संस्थामा ठुलो परिमाणमा स्याउ भण्डार भइरहेको र आउने क्रम अझै जारी रहेको भेरी शीतभण्डारले जनाएको छ । जुम्लाको स्याउ बजारमा आएपछि अरू सबै स्याउ हराएको स्थानीयले जनाएका छन् ।