Advertisement

अन्तरदेशीय पेट्रोलियम पाइपलाइन : दुई वर्षमा तीन अर्ब बचत

0 805

Advertisement

२४ भदाै, काठमाडौँ । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको दुई वर्ष पूरा भएको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनको सहयोगमा भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको ७९ किलोमिटर पाइपलाइन निर्माण गरेर २०७६ भदौदेखि पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्र्याउन सुरु गरेको हो ।

दुई वर्षको अवधिमा पाइपलाइनबाट एक अर्ब ६१ करोड लिटर डिजेल आयात गरिएको छ । आर्थिक वर्ष २०७६-७७ मा ४८ करोड ८५ लाख लिटर, आव २०७७-७८ मा एक अर्ब ३१ तथा चालू आवको हालसम्ममा १२ करोड ४४ लाख डिजेल आयात भएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । निगमले सोही पाइपलाइनबाट दैनिक एक लाख ५० हजार किलोलिटर डिजेल आयात गर्दै आएको छ ।

पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात गर्न थालेपछि ढुवानीबापत रु तीन अर्ब २३ करोड २२ लाख १६ हजार बचत भएको पौडेलले बताउनुभयो । पेट्रोलियम पदार्थको ढुवानी भाडा र प्राविधिक नोक्सानी कम हुँदा निगमले सो बराबरको बचत गर्न सकेको उहाँ बताउनुहुन्छ ।

परियोजना सञ्चालनमा आएपछि उपभोक्तामा पेट्रोलियम पदार्थ अभाव हुँदैन भन्ने अनुभूति भएको, ढुवानीकर्ताले खेप्नुपर्ने सास्ती हटेको र परियोजना समयमा सम्पन्न गरेर जी–टू–जी मोडलको सफल परियोजनाको रुपमा एउटा उदाहरण बन्न सफल भएको छ । अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाले निगमको प्राविधिक रुपान्तरणको प्रतिनिधित्व गरेको पौडेलको भनाइ छ ।

पेट्रोल र मट्टितेल छिट्टै पाइपलाइनबाटै

पेट्रोल र मट्टितेल पनि एउटै पाइपलाइनबाट ल्याउन निगमले प्रक्रिया थालेको छ । यसका लागि निगमले भारतीय आयल कर्पोरेसनकै सहयोगमा प्रक्रिया अघि बढाइसकेको छ । अहिलेसम्म पाइपलाइनबाट डिजेल मात्रै आयात हुँदै आएको थियो ।

निगमको प्रदेश नम्बर २ प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रदीपकुमार यादव अबको डेढ वर्षमा एउटै पाइपलाइनबाट पेट्रोल, डिजेल र मट्टितेल आउन सुरु हुने बताउनुहुन्छ । परियोजना सम्पन्न भएपछि पेट्रोलियम पदार्थ लिन भारततर्फ पुग्न नपर्ने उहाँको विश्वास छ । यसबाट निगमले मासिक थप रु ११ करोड बचत गर्नसक्ने उहाँले जानकारी दिनुभयो ।

सो परियोजनाका लागि भारतीय आयल कर्पोरेसनले अमलेखगञ्ज डिपोका प्राविधिकलाई तालिमसमेत प्रदान गरिसकेको छ । यादवको नेतृत्वमा प्राविधिक टोली गत हप्ता भारत गएको थियो । प्राविधिकको टोलीले डिजेल, पेट्रोल र मट्टितेललाई फरक फरक भण्डारण टङ््याकीमा राख्ने सम्बन्धमा प्रत्यक्ष अवलोकन गरेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.