Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

तिज हरितालिका र नारीको धार्मिक महत्व !

0 280

२३ भदाै, काठमाडौं । मिति २०७८ साल भाद्र २३ गते बुधबार भाद्रशुक्लपक्ष दुतिया तिथी राति: ४ / ०३ बजेसम्म त्यस उप्रान्त तृतिया तिथी आरम्भ हुने छ।यो दिन नारिहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा सम्पूर्ण देश बिदेशमा बस्नुहुने नारिहरुलाई हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछु।

हजुरहरुको सौभाग्य अटल रहोस, मनको कामना परिपूर्ति भई चाहेको लक्ष पुरा होस।यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरी/चेली लाई घरमा बोलाएर मीठा-मीठा परिकार ख्वाउँने तथा मनका भावना एवं सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने-बस्ने चलन छ । यस दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ।यहि दर खाने दिन बाट नै तिज पर्वको आरम्भ भएको मानिन्छ।दरमा खीर, ढकने वा सेलरोटी, केरा आदि अथवा ठाँउ अनुसार विभिन्न मिठा-मिठा परिकार खाने गरिन्छ।तर आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ। सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ। भोलिपल्ट दिनभर पानी सम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती ढीलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो।हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बसिन्।यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले।तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत वसी नाचगान र मनोरञ्जन गर्छन भने अविवाहिताहरू सुयोग्य वरको आशा राखी ब्रत बस्छन।ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दानदक्षिणा गर्ने चलन रहेको छ।

आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो।सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ।यसरी आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ।तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ ।महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ।तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ।यस दिन पानीसम्म पनि नखाई ब्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको भएपनि कतिपय महिलाहरु महादेवको पुजा आराधना पश्चात फलफुल ग्रहण गर्दछन् । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ।
तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।

हरितालिकाको बारेमा शाश्त्रमा यस्तो भनिएको छ।

“ना मास्य ब्रतराजस्य शृणु देवि यथा भवत।
आलिभिर्हरिता यस्मा दतस्सा हरितालिका”//

भविष्य पुराण। हे देवि ,यो ब्रतराजको नाम तिमि सुन भाद्रपद शुक्लको तृतीया तिथि, अनि त्यस दिन हस्ता नक्षत्र थियो, त्यसदिन तिमीले बालुवाको शिवलिङ्ग निर्माण गर्यौ। रातभरि मेरा स्तुतिमा गीत गाउँदै जागरण गर्यौ। तिम्रो यो कठोर तपस्याको प्रभावले मेरो आसन हल्लिन पुग्यो र शीघ्र तिम्रा सामूमा पुगेँ र तिमिलाई वर माग्न भनेँ।सखिहरूले तिमीलाई हरण गरेर लगेको बखत्मा तिमीले गरेको ब्रत हुनाले हरितालिका भन्ने यो ब्रतको नाम रह्यो। यो ब्रतको महत्व यसकारणले पनि महत्वपूर्ण छ। जसले यो ब्रत निष्ठापूर्वक पालन गर्दछ, त्यसलाई मनोवाञ्छित फल प्राप्त हुनेछ। यो ब्रतलाई हरितालिका भन्नुको अर्थ पनि पार्वतीलाई साथीहरूले पिता र आफ्नो प्रदेशबाट हरण गरी जंगलमा लगेको प्रसङ्गसँग जोडिन्छ। हरितालिका शब्दमा रहेका हरिता र आलिका यी दुई शब्दको अर्थ पनि क्रमशः हरण गरिएकी र सखीहरू भन्ने हुन्छ। भगवान शिवले पार्वतीजीलाई भन्नुभयो – यस व्रतलाई विधिविधानपूर्वक जसले लिन्छ, त्यसले तिम्रोजस्तै सुयोग्य र अचल श्रीमान् प्राप्त गर्दछ ।

नारीको महत्व !

नारीको साव्धिक अर्थ “न”भनेको होइन अथवा छैन।”अरि”भनेको सत्रु। जसको सत्रुछैन। त्यसलाई नारी भनिन्छ। नारिनै शृष्टिको मुहान हो। त्यसैले :”मातृदेवो भव”अर्थात् आमालाई देवता समान मान भनिएकोछ। सर्वप्रथम यो जगतमा शृष्टि स्वायम्भुव मनु र शतरुपाले मैथुन क्रियाबाट दुई छोरा र तीन वटी छोरीहरुको जन्मदिए । यिनैका संन्तानहरुले विश्व ढाकेको कुरा श्रीमद्भागवत पुराणमा वर्णन पाइन्छ। “यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता:।

यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफला: क्रिया:।-अथर्ववेद “अर्थात् जसको कुलमा नारीको पूजा,सत्कार हुन्छ ,उसको कुलमा दिव्यगुण ,दिव्यभोग र उत्तम सन्तान हुन्छन।त्यसपछि जसको कुलमा नारीको पूजा हुँदैन उसले गरेको सवैकार्य निष्फलहुने गर्दछ। त्यसैले हरेक शास्त्रहरुले पुरुषभन्दा नारीलाई अग्रस्थानमा राखेको पाइन्छ। “एकचक्रो रथो यद्वदेकपक्षो यथा खग :/अभार्योsपि नरस्तद्वदयोग्य :सर्वकर्मसु। अर्थात् जसरी एक पाङ्ग्रे रथ गुड्न सक्दैन ,एउटा प्वाँख भएको चरा उड्न सक्दैन ,त्यसैगरी एक्लो पुरुषले कुनै कार्य गर्न सक्दैन। जस्तो गृहस्थीको रेखदेख ,बच्चाको पालन – पोषण शिथिल बेलामा उत्साहको संवर्द्धन जुन खुबीले नारीहरु गर्नसक्दछन। त्यो कुरा पुरुषले गर्नसक्दैन।” पितृभिर्भातृभिश्चैता :पतिभिर्देवरैस्तथा। पूज्या भूषयितव्याश्च बहुकल्याणमिप्सुभी :”//अर्थात् पिता ,भ्राता {भाई }पति तथा देवरले आफ्नो भलाई चाहन्छन भने नारीलाई आदर गर्नुपर्दछ र वस्त्र ,आभूषणले सुसज्जित बनाउनु पर्दछ। त्यसैले मातृशक्ति भनेको लक्ष्मीको स्वरुप पनि हो,किनकि घरको लक्ष्मी हो ,गृहको अर्थ घर होइन ,गृहिणीको नाम घर हो। घर चलाउनेलाई गृहिणी भनिन्छ। गृहिणीले जस्तो घर बनायो त्यस्तै बन्दछ। गृहिणी भन्नु ,गृहलक्ष्मी भन्नु एउटै हो। जस्तो नारीहरुमा छ गुण हुन्छन “गृहेषु मन्त्री ,करणेषु दासी ,भोज्येषु माता ,शयनेषु रम्भा। धर्मानुकूला क्षमया धरित्री षड्गुण्यमतदधि पतिव्रतानाम्”/अर्थात् पहिलो घरको खर्च चलाउने भएकीले नारी गृहमन्त्री हुन्छिन ,तिनै नारी दोस्रो अवस्थामा जूठो भाँडो ,चुल्हो – चौका लिपपोत आदि कार्यमा कुशल भएकीले दासी हुन्छिन। तिनै नारी तेस्रो अवस्थामा घरपरिवारका सदस्यहरुलाई कसलाई कुन तरिकाले भोजन दिने र छोरा – छोरी प्रति वात्सल्यभाव देखाउने भएकीले माता हुन्छिन।

तिनै नारी चौथो अवस्थामा पतिपारायण भएर शयन अवस्थामा रम्भा नामकी अप्सराले दिने आनन्द उनले दिने भएकीले रम्भा समान हुन्छिन। तिनै नारी पाचौं अवस्थामा धर्म ,कर्म ,पूज़ा – आजा गर्न पुरुषभन्दा धेरै नै क्रियाशीलभई धर्मानुकूल कार्य गर्ने भएकीले ति नारी धर्ति समान हुन्छिन। तिनै नारी छैटौँ अवस्थामा विश्वमोहिनी ,शक्तिस्वरुपा ,प्रकृतिस्वरुपा ,अनन्तकोटी ब्रह्माण्डकी संचालीका हुन्छिन। त्यसैले नारीको गुणगान पूजा सम्मान जति गरेपनि थोरै नै हुन्छ। वैदिक कालमा नारी आमाहरुलाई पूर्ण पूजा सम्मान गरेको पाइन्छ। “अहल्या द्रौपदी तारा कुन्ती मन्दोदरि तथा। पञ्चकन्या स्मरेन्नित्यं महापातकनाशनम्”अर्थ अहल्या ,द्रौपती ,तारा ,कुन्ती ,मन्दोदरि यी पाँच कन्यालाई जसले नित्य सम्झन्छ भने त्यसको महापतक नाश हुन्छ। यी नारीहरुले आफुले जे चितायो त्यहि गर्न सक्दथे। त्यसैले नारीहरुको बारेमा जति लेखेपनि अपुरोहुने गर्दछ।
पं-बालमुकुन्द देबकोटा



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.