मैत्रीपूर्ण फुटबलमा भारतले नेपाललाई हरायो
२० भदौ, काठमाडौं । भारत विरुद्ध नेपालले उत्कृष्ठ प्रर्दशन गरेतापनि नेपाल भारतसंग पराजित भएको छ । दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्णमा खेलमा भारतले नेपाललाई २–१ गोल अन्तरले हराएको हो ।
भारतको जितमा कप्तान सुनिल क्षेत्री नायक रहे । उनले एक गोल गर्नुका साथै थप एक गोलको अवसर सिर्जना गरे । नेपालका तेज तामाङले एक गोल फर्काए ।
खेलको ६२ औं मिनेटमा फारुख हाजी चौधरीको गोलमा भारतले अग्रता बनाएको थियो । खेलको ८० औं मिनेटमा कप्तान क्षेत्रीले गोल गर्दै भारतको अग्रता दोब्बर बनाउने काम गरे ।
खेल सकिन ५ मिनेट अघि तेजले नेपालका तर्फबाट एक गोल फर्काए । राष्ट्रिय फुटबल टिमबाट तेजले पहिलो अन्तराष्ट्रिय गोल गर्न सफल भए । झण्डै २० यार्ड टाढाबाट तेजको शक्तिशाली प्रहारले जाली चुमेको थियो ।
साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले भारतलाई मैत्रीपूर्ण फुटबल खेलका लागि काठमाडौंमा आतिथ्यता प्रदान गरेको थियो । भारतविरुद्ध दुई मैत्रीपूर्ण फुटबल खेलेर साफको अन्तिम तयारीमा जुट्ने नेपालको योजना छ ।
बिहिबार पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १–१ गोलको बराबरी खेलेको थियो ।