भोलि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी, शीर्ष नेताको बैठक फेरि बस्दै
१३ भदाै, काठमाडाैँ । सत्ता गठबन्धनका दलले सोमबार मन्त्रिपरिषद्को विस्तार गर्ने तयारी गरेका छन्।सोमबार बिहान सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बसेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरिएकाे छ।
प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा आइतबार बिहान छलफल भएको छ।
जसपाका अध्यक्ष यादव काठमाडौंबाहिर रहेकाले सोमबार पुनः बैठक बसेर मन्त्री र मन्त्रालयको भागवण्डा गर्ने सहमति बनेको जनाइएको छ। दलहरुले प्राप्त गर्ने मन्त्रालय र संख्या टुंग्याएर सपथ पनि सोमबार नै हुने बालुवाटार स्रोतले जानकारी दिएको छ।
कांग्रेसले ७ तथा अन्य तीन दललाई ६/६ मन्त्रालय प्राप्त गर्ने सम्भावना छ। माधवकुमार नेपाल नेतृत्वमा नयाँ दल बनेपछि सत्ता गठबन्धनलाई मन्त्रिमण्डल विस्तार गर्ने बाटो खुलेको छ।
असार २९ मा सपथ लिएका प्रधानमन्त्री देउवाले सोही दिन अन्य चार जनालाई मन्त्री बनाएका थिए। हालसम्म कांग्रेसबाट तीन र माओवादी केन्द्रबाट २ जना मात्रै मन्त्री बनेका छन्।