तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर
१२ भदाै, काठमाडाैँ । कोरोना भाइरसको सङ्क्रमणको तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर भएको जनस्वास्थ्यविद्ले जनाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अबको एक महिना अर्थात् असोज दोस्रो हप्ता सङ्क्रमणको तेस्रो लहर आउने चेतावनी दिएको छ । तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर हुने विज्ञले बताएका छन् । निषेधाज्ञा खुकुलो र चाडपर्व सुरु भएसँगै आउजाउ बढेको र जनस्वास्थ्य सुरक्षा मापदण्ड लागू नगर्दा तेस्रो लहरको जोखिम बढेको बताइएको हो ।
अहिले जनस्वाथ्यका मापदण्ड लागू नगर्दा गत साउनदेखि उकालो लागेको कोरोना भाइरस सङ्क्रमण दर अहिले पनि जारी छ । गत साउन १ गते दुई हजार ९३६ मा कोरोना भाइरस सङ्क्रमण देखिएकामा गत साउन ७ गतेसम्म आइपुग्दा दुई हजार ७१४ जना सङ्क्रमित पुगेका छन् । यस्तै हिजो (शुक्रबार) दुई हजार ६५, भदौ १० गते दुई हजार ४३३, भदौ ९ गते दुई हजार ४८२, भदौ ८ गते दुई हजार ५२५ सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर भएको बताउनुभयो । “सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागू गरे भने तेस्रो लहर आउने सम्भावना कम हुन्छ उहाँले भन्नुभयो, तेस्रो लहर नेपालमा भित्र्याउने कि नभित्र्याउने, कस्तो भेरियन्ट ल्याउने भन्ने जनताको हातमा छ ।” भीडभाडमा हिँड्ने, जनस्वास्थ्यका मापदण्ड लागू नगर्ने हो भने नेपालमा पनि तेस्रो लहर नआउने भन्न नसकिने उहाँको भनाइ छ । उहाँले सरकारले मात्र सङ्क्रमण नियन्त्रण गर्न नसकिने भन्दै सर्वसाधारणले पालना गरेको मापदण्डका आधारमा सङ्क्रमण नियन्त्रण गर्न सकिने जानकारी दिनुभयो ।
गत वर्ष निधेषाज्ञा खुला भएसँगै सर्वसाधारणले जनस्वास्थ्यमा मापदण्ड लागू नगरेकाले गत चैतमा दोस्रो सातादेखि दोस्रो लहरको सङ्क्रमण फैलिएको थियो । दोस्रो लहरमा मुलुकमा धेरै नै मानवीय क्षति भएको थियो । नेपालमा अहिले कोभिड–१९ को डेल्टा भाइरस रहेका छन् ।
सङ्क्रमणको चौथो तह
मन्त्रालयका प्रवक्ता डा पौडेलका अनुसार अहिले नेपालमा समुदायस्तरमा सङ्क्रमण फैलिरहेको छ । अहिले समुदायस्तरमा सङ्क्रमण मजाले फैलिरहेको छ । यसरी फैलिनु भनेको देशको सबै भागमा सङ्क्रमणको तेस्रो वा चौथो तह भन्ने बुझिन्छ उहाँले भन्नुभयो, कुनै पनि जिल्ला वा गाउँमा सङ्क्रमण छैन भन्ने अवस्था छैन । सङ्क्रमण फैलिरहेको हुनाले कति सचेत भएर रोक्न सक्छौँ भन्ने कुरा हो ।
उहाँले तेस्रो लहरका लागि अहिले मानिसमा बनेको रोग प्रतिरोधात्मक क्षमताले कति काम गर्छ भन्ने अध्ययनका क्रममा रहेको जानकारी दिनुभयो । पाँच÷छ महिना अघि खोप लगाएका मानिसको पनि रोग प्रतिरोधात्मक क्षमता घटेकाले तेस्रो लहरसँग सचेत हुनुपर्ने बताउनुभयो । “अहिले भन्दा कमजोर भेरियन्ट आए समस्या हुँदैन उहाँले भन्नुभयो, तर अहिलेको भन्दा बलियो आए समस्या आउन सक्छ ।”
पीसीआर परीक्षण गर्दा अहिले १९.५ प्रतिशतमा सङ्क्रमण देखिएको छ । सङ्क्रमित सबैले परीक्षण नगराउँदा पनि सङ्क्रमणको यकीन तथ्याङ्क बाहिर नआएको मन्त्रालयले जनाएको छ । अहिले पनि सामान्य रुघाखोकी, ज्वरो आएका मानिस परीक्षण गराउन नगएकाले घरमै सङ्क्रमित रहेको मन्त्रालयका प्रवक्ता डा पौडेलले जानकारी दिनुभयो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुष बाँस्तोलाले मानिस आफैँ सचेत भएर सङ्क्रमणलाई रोक्नुपर्ने बताउनुभयो । उहाँले दैनिक १० देखि २० जना अस्पतालमा आइसकेको भन्दै खोप लगाएका मानिसबाट पनि सङ्क्रमण सर्नसक्ने भएकाले स्वास्थ्यको मापदण्ड लागू गर्न आग्रह गर्नुभयो ।
मन्त्रालयले तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, शय्यालगायतका पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ । तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने भएकाले उनीहरुका लागि सघन उपचार कक्ष र भेन्टिलेटर तयारी अवस्थामा राख्न निर्देशनसमेत दिएको छ ।
मन्त्रालयले कामै नपरी घर बाहिर निस्किने, अनावश्यकरुपमा जमघट गर्ने जस्ता कार्य गर्दा कोरोना फैलिएर तेस्रो लहर नआउला भन्न सकिन्न । त्यसैले जिम्मेवार नागरिक भई भीडभाड भएको ठाउँमा नजान र घरबाट निस्किँदा सधै सही तरिकाले मास्क लगाउन र एक अर्काबीच कम्तीमा दुई मिटरको दूरी कायम गर्न मन्त्रालयले आग्रह गरेको छ ।
साँझ ८ बजेपछि एक समूह जोगियो
मन्त्रालयका प्रवक्ता डा पौडेलले साँझ ८ बजेपछि होटेल रेन्टुरेन्ट बन्द गरेर एउटा समूह सङ्क्रमणको जोखिमबाट जोगिएको उहाँको भनाइ छ । “रेन्टुरेन्टमा बसेर खाना, खाजा खानेले मास्क लगाउँदैनन् उहाँले भन्नुभयो, तर साँझ ८ बजेपछि रेन्टुरेन्ट बन्द हुँदा एउटा समूह सङ्क्रमणको जोखिमबाट जोगिएको छ ।