आगामी असोजसम्म नेपालमा थप १ करोड खोप मुलुकमा आउने
३१ साउन, काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी असोजसम्म नेपालमा थप १ करोड खोप मुलुकमा आउने बताएका छन्। कान्तिपुर इकोनोमिक समिट २०२१ मा भर्चुअल सम्बोधन गर्दै देउवाले हाल आइसकेको १ करोड ८ लाख खोपबाहेक असोजसम्म कम्तिमा अर्को १ करोड खोप आउने बताए।
उनले यो सप्ताहान्तसम्म पूर्ण मात्रामा खोप लगाएका ३२ लाखसहित कुल ७८ लाख जनाले कम्तिमा खोपको पहिलो डोज लगाएको उल्लेख गर्दै दिनको ३ लाख ६७ हजार जनासम्मलाई खोप लगाउन सकिएको अवस्था बनेको बताए।
यसवाहेक आगामी चैतसम्म सरकारले खोप लगाउन उपयुक्त सवै जनतालाई खोप लगाएर सक्ने प्रण गरेको पनि उनले बताए।
उनले भने, ‘यसका अतिरिक्त अबको हाम्रो कोभिडविरुद्धको रणनीति विज्ञानमा, स्वास्थ्य क्षेत्रका विज्ञहरुको सल्लाहमा आधारित हुनेछ भन्नेमा पनि म सरकार प्रमुखको हैसियतले सवैलाई विश्वस्त गराउन चाहन्छु।’
खोपपछिको तत्कालिक अर्थव्यवस्था संचालनको सरकारको मूल नीति समष्टिगत आर्थिक स्थायित्व कायम राख्ने तथा उपयुक्त राहत कार्यक्रमको ढाँचा तयार गर्नेमा केन्द्रित हुने पनि उनले बताए।