Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

दैनिक विद्युतभार कटौतीले उपभोक्ता समस्यामा

0 88

२९ साउन, डोटी । जिल्ला सदरमुकाम सिलगढी, पुरानो क्षेत्रीय सदरमुकाम राजपुर, पिपल्ला तथा दिपायलमा दैनिक भइरहेको विद्युत्भार कटौतीले उपभोक्ता मारमा परेका छन् ।

विशेषगरी यहाँका मिल तथा इलेक्ट्रोनिक व्यवसायी बढी मारमा परेको केबी स्टिल तथा फर्निचर उद्योगका दिपायल पिपल्लाका व्यापारी कमरुद्दिन हुसेनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दैनिक विद्युत् अनियमितताका कारण मिल तथा उद्योग व्यवसायी बढी मारमा परेका छौँ ।”

मिनेटमिनेटमा बिजुली बत्ती आउने र जाने समस्याले स्थानीयले दुःख पाइरहेको गुनासो विद्युत् प्राधिकरणमा जानकारी गर्दा पनि सुनुवाइ नभएको यहाँका व्यवसायीकोे आरोप छ । अघोषितरुपमा भइरहेको विद्युत्भार कटौतीले गर्दा यहाँ नागरिकको आक्रोस र गुनासो दिन प्रतिदिन बढिरहेको दीपक इलोक्ट्रोनिक तथा सप्लायर्सका प्रमुख दीपकबहादुर भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार साँझ र बिहानपख तालिका विना अघोषित विद्युत्भार कटौती हुँदा घरेलु उपभोक्ता बढी समस्यामा परिरहेका छन् । विद्युत् अनियमितताका कारण एफएम रेडियो तथा पत्रपत्रिका पनि समयमा प्रकाशन तथा प्रसारण हुन नसकेको नेपाल पत्रकार महासङ्घ डोटी शाखाका अध्यक्ष मोहन शाहीले जानकारी दिनुभयो । पछिल्लो समय विद्युत् अनियमितताका कारण बैंक तथा सहकारीमा असर पुगेको राष्ट्रिय वाणिज्य बैंक दिपायलका प्रबन्धक गणेशबहादुर विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दैनिक विद्युत् कटौतीले बैंकमा आउने सेवाग्राहीलाई समस्या हुने गरेको छ, खाता खोल्नदेखि रकम भुक्तानीमासमेत समस्या हुने गरेको छ ।”

विद्युत् क्षणमा आउने क्षणमा जाने हुँदा वैकल्पिक ऊर्जाका रुपमा प्रयोग गरिने जेनेरेटर पनि खोल्ने र बन्द गर्ने अनावश्यक सास्ती मात्रै भइरहेको पिपल्लाका मिल व्यवसायी मोहन मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “मिलमा पिठो तथा तेल पेल्न राखिएको हुन्छ त्यसैबेला बत्ती जान्छ जेनेटर खोलौँभन्दा बत्ती आउँछ, बन्द गर्दा विद्युत् जान्छ, दैनिक निकै समस्या भएको छ ।”,

विद्युत् कार्यालय दिपायलका प्रमुख कुम्भराज जोशीले वर्षासँगैको हावाहुरीका कारण पुराना बिस्तार गरिएका विद्युत् तारमा रुखका हाँगा लाग्ने र फल्ट बढी हुने भएका कारण विद्युत् अनियमितता भएको र यो समस्या चाँडै समाधान गर्नतर्फ पहल भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्युत् तार अव्यवस्थित छन्, सानो वर्षा हुँदा र हावा चल्दा तारमा छुने भएकाले विद्युत् जाने आउने गरेको हो, नयाँ तार बिस्तारका लागि बजेट छैन तैपनि हामी सकेसम्म समस्याको समाधानका लागिपरेका छौँ ।” विद्युत नियमितताका लागि यहाँका उपभोक्ताले सम्बन्धित निकाय तथा प्रशासन कार्यालयमा ज्ञापनपत्र पेश गर्दासमेत समाधान नभएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जिल्लाका अन्य ठाउँमा पनि पुरानै तार बिस्तार छन् । दिपायल र सिलगढीमा मात्रै विद्युत् अनियमितता हुने गरेको छ, उक्त समस्यामा समाधानका लागि सबै निकायमा आग्रह गर्दा पनि कसैले वास्ता गरेनन् ।”



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.