Advertisement

नयाँ नियमका कारण युएई विमानस्थलबाट फर्किए डेढ सय यात्रु

0 696

Advertisement

२७ श्रावण, काठमाडौँ । कोरोनाका कारण विभिन्न मुलुकले लागु गरेको आआफ्नै नियमका कारण नेपाली युवाले वैदेशिक रोजगारीमा जान समस्या खेप्दै आएका छन्। पछिल्लो समय संयुक्त अरब इमिरेटस् (युएई) ले लागु गरेको नयाँ नियमका कारण सोमबार डेढ सय यात्रु दुबई जानबाट रोकिए।

युएई सरकारले जहाजको बोर्डिड पास लिनुभन्दा अघि विमानस्थलमा नै एन्टिजेन परीक्षण गरेकालाई मात्र आफ्नो मुलुकमा आउन दिने नियम लागु गरेको छ। नेपालमा अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्टिजेन परीक्षणको सुविधा नभएकाले दुबई जान लागेका डेढ सय यात्रु रोकिएका हुन्। यी यात्रुमध्ये ९० प्रतिशतभन्दा धेरै रोजगारीका लागि दुबई जाने युवा थिए।

नेपाल वायुसेवा निगमको आरए २२९ र हिमालय एयरलाइन्सको एचएन ५६५ उडानमार्फत दुबई उड्न विमानस्थल पुगेका यात्रु सोमबार त्यसै फर्किए। विमानस्थलका अधिकारीहरूका अनुसार एयर ट्रान्सपोर्ट अपरेसन दुबई सिभिल एभिएसन अथोरिटीले लागु गरेको नयाँ नियमका कारण कोही पनि यात्रु जान नपाउँदा जहाज रित्तै उडेका थिए।

नेपालबाट दुबई उड्ने यात्रुको हकमा ४८ घण्टाभित्र गरिएको कोरोना परीक्षण (पिसिआर) को रिपोर्ट र चार घण्टापहिले विमानस्थलमै गरिएको एन्टिजेन परीक्षणको रिपोर्ट अनिवार्य गरेपछि हिमालय एयरलाइन्सका ९० र नेपाल वायुसेवा निगमका ६० जना यात्रु उड्न नपाएको विमानस्थल कार्यालयले जनाएको छ। युएई सरकारले पछिल्लो समय कोरोना संक्रमण बढेका संसारका १६ मुलुकलाई जोखिमको सूचीमा राखेको छ। यही सूचीमा रहेका मुलुकबाट आउनेहरूका लागि नयाँ नियम लागु गरिएको हो। नेपालसहित भारत, पाकिस्तान, नाइजेरिया, श्रीलंका र युगान्डालाई अति जोखिम भएका देशको सूचीमा राखिएको छ। यो नयाँ नियमका कारण नेपालबाट दुबईमा हुने उडान अनिश्चित बनेको छ। दुबईबाट नेपालमा हुने उडान भने यथावत् छ।

युएईस्थित नेपाली दूतावासकी श्रम काउन्सिलर निर्मला थापाका अनुसार एयर ट्रान्सपोर्ट अपरेसन दुबई सिभिल एभिएसन अथोरिटीले तीन दिनअघि (७ अगस्ट) देखि नै उडानमा कडाइ गरेको हो। कोरोनाविरुद्ध खोप लगाएका यात्रुलाई पनि ४८ घण्टाभित्र गरिएको कोरोेना परीक्षणको रिपोर्ट र विमानस्थलमा गरिएको एन्टिजेन परीक्षणको रिपोर्ट अनिवार्य गरिएको उनले जानकारी दिइन्।

‘नेपालमा बढ्दै गएको कोरोना संक्रमणका कारण यूएईले नेपाललाई रेड जोनमा राखेको छ। संक्रमणकै कारण काठमाडौं–दुबई उडानमा परीक्षणको दायरा परिवर्तन गरिएको हो,’ नागरिकसँग टेलिफोनमा उनले भनिन्, ‘नयाँ नियम कहिलेसम्म जारी रहन्छ भन्ने नेपालको कोरोना संक्रमणको दरमा भर पर्ने देखिएको छ।’

हाल आवासीय भिसा भएका र कर्मचारीका लागि मात्रै युएईले प्रवेश अनुमति दिएको छ। त्यसका लागि उडान समयभन्दा चार घन्टाअघि एन्टिजेन परीक्षण, ४८ घन्टाअघि गरिएको पिसिआर परीक्षण रिपोर्ट अनिवार्य गरिएको उनको भनाइ छ।

नयाँ नियम जारी भएपछि सोमबार रातिको उडानबाट कुनै पनि यात्रुलाई दुबई उडाउन नसकिएको हिमालय एयरलाइन्सले जनाएको छ। कम्पनीका सेवा सुधार शाखा प्रमुख उज्जला दलीका अनुसार ७ अगस्टकै नियमअनुसार हिमालय एयरलाइन्सको जहाजमार्फत दुबई जान कोरोना परीक्षणको रिपोर्ट, खोप लगाएको प्रमाणित कागजात बोकेर यात्रुहरू विमानस्थल पुगेका थिए।

नेपालबाट युएई प्रवेश गर्नेहरूका लागि नयाँ नियमबारेको जानकारी साँझ ६ बजे मात्र विमान कम्पनीले पाएको र त्यही नियम लागु गरेका कारण यात्रुहरू विमानस्थलबाट फर्किनुपरेको हो। संयुक्त अरब इमिरेट्स सरकारले आफ्नो देशमा प्रवेश गर्नेहरूका लागि तोकेको मापदण्ड पूरा गर्न नसक्दा यात्रुहरूलाई उडाउन नसकिएको दलीले बताइन्।

टिकट लिएर उड्न नपाएका यी यात्रुलाई सरकारले विमानस्थलमा नै एन्टिजेन परीक्षणको व्यवस्था गरे पहिलो उडानमा प्राथमिकता दिनेसमेत उनको भनाइ छ। यात्रुले टिकटको मूल्यसमेत फिर्ता लिन सक्ने उनले बताइन्।

हिमालय एयरलाइन्सबाट दुबई उड्न विमानस्थल पुगेका एक यात्रुका अनुसार उड्न नपाएपछि केही यात्रु विमानस्थलबाट फर्केर आफन्तकोमा गएका थिए भने केहीलाई विमान कम्पनीले जमलस्थित होटल प्यासेफिकमा राखेको थियो। विमानस्थलनजिकै रहेको काठमाडौं मेडिकल कलेजबाट एन्टिजेन परीक्षणको रिपोर्ट बोकेर विमानस्थल पुगेकाहरूलाई समेत विमानस्थलमै गरिएको परीक्षण रिपोर्ट चाहिने भन्दै उडानमा रोक लगाइएको उनको भनाइ छ। नेपाल वायुसेवा निगमका कर्मचारी भने सम्पर्कमा आउन चाहेनन्। ११ः३० मा उड्ने तालिका रहेको निगमको जहाज रित्तै राति १ बजे दुबई उडेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.