१३ औं संस्करण साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा
२५ साउन, काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण माल्दिभ्समा आयोजना हुने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले साफ च्याम्पियनसिप माल्दिभ्समा आयोजना गर्ने निर्णय गरेको हो ।
सोमबार बसेको साफको कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिएको हो।
‘साफले च्याम्पियनसिप माल्दिभ्समा गर्ने निर्णय गरेको छ । किनकी कोभिड-१९ को अवस्था हाम्रो भन्दा त्यहाँ राम्रो छ,’ अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिब इन्द्रमान तुलाधरले भने ।
साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ सम्म आयोजना हुनेछ ।
१३ औं साफमा नेपाल, भारत,बंगलादेश, माल्दिभ्स र श्रीलंकाले खेल्ने पक्का भईसकेको छ ।
भुटानले तीन दिनपछि निर्णय गर्ने एन्फाले जनाएको छ ।
प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बंगलादेशले कोभिड-१९ का कारण साफ गर्न नसक्ने जानकारी दिएपछि नयाँ आयोजक राष्ट्र चयन गरिएको हो ।
साफ आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव पेश गरेको थियो ।