Advertisement

टोकियो ओलम्पिक: पुरुष फुटबलको स्वर्ण फेरि ब्राजिलकै नाममा, स्पेन पराजित

0 1,007

Advertisement

२३ श्रावण, काठमाडौं । जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको फाइनल खेलमा ब्राजिलले स्पेनलाई २-१ गोलले पराजित गर्दै स्वर्ण पदक जितेको छ।

निसान स्टेडियममा शनिवार सम्पन्न फाइनल खेलमा साविक विजेता ब्राजिल अण्डर-२३ले दावेदार मानिएको स्पेन अण्डर-२३लाई २-१ गोलले पराजित गर्दै लगातार दोस्रो ओलम्पिक फुटबल स्वर्ण जितेको हो। निकै नै प्रतिस्पर्धात्मक खेलको ३८औं मिनेटमा ब्राजिलले पेनाल्टी प्राप्त गरेको थियो। स्पेनका गोलरक्षक उनाइ सिमोनले डि-बक्स भित्र ब्राजिलियन खेलाडीलाई फल गर्दा ब्राजिलले पेनाल्टी प्राप्त गरेको थियो।

तर ब्राजिल तथा इंग्लिश क्लब एभरटनका स्ट्राइकर रिचारलिसनले प्रहार गरेको सो पेनाल्टी आकासिएको थियो। त्यसपछि ब्राजिलले पहिलो हाफको अतिरिक्त समयमा अग्रता लिन सफल भयो। पहिलो हाफमा थपिएको इन्जुरी समयको दोस्रो मिनेटमा ब्राजिलले म्याथ्युस कुनहाको गोल मार्फत खेलमा अग्रता लिएको थियो। ब्राजिलका कप्तान ड्यानी एलभेसको शानदार क्रसमा कुनहाले उत्कृष्ट गोल गरेका थिए।

पहिलो हाफमा १-० गोलले अगाडि रहेको ब्राजिलले दोस्रो हाफमा भने स्पेनको साहसी एट्याकलाई रोक्न सकेन। दोस्रो हाफको ६१औं मिनेटमा स्पेनले खेलमा बराबरी गोल गर्न सफल भयो। प्रतिस्थापन भएर मैदान प्रवेश गरेका खेलाडी कार्लोस सोलरको शानदार क्रसमा स्पेनका कप्तान मिकेल ओयरजाबालले ‘वर्ल्ड क्लास’ फिनिशिङ गर्दा स्पेन खेलमा फर्किएको थियो। त्यसपछि निर्धारित ९० मिनेटसम्म दुवै टोलीले निर्णायक गोल गर्न सकेनन्।

९० मिनेटको खेल समाप्त हुँदासम्म खेलमा विजेताको टुङ्गो नलागेपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो। अतिरिक्त समयको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। खेलमा कुल १५ शट प्रहार गरेको ब्राजिलले खेलको १०८औं मिनेटमा पुनः अग्रता लियो। ब्राजिलले ‘फास्ट ब्रेक’मा स्पेनको जब्बर डिफेन्सलाई बिट गर्न सफल भयो। प्रतिस्थापन भएर मैदान प्रवेश गरेका बार्सिलोनाका पूर्व विंगर माल्कोमले निकै नै गार्हो स्थानबाट प्रहार गरेको ‘लेफ्ट फुटेड’ शटले सिधै जाली चुमेको थियो।

त्यसपछिको १० मिनेट स्पेनले बारम्बार गोल गर्न प्रयास गरेपनि खेलमा अरु कुनै गोल हुन सकेन र ब्राजिलले टोकियो ओलम्पिक पुरुष फुटबलतर्फको स्वर्ण पदक जित्न सफल भयो। सन् २०१२ मा रजत तथा सन् २०१६ मा स्वर्ण पदक विजेता ब्राजिलले लगातार दोस्रो ओलम्पिक फुटबल स्वर्ण पदक जितेको हो। उता सन् १९९२ बार्सिलोना ओलम्पिकमा पछिल्लो पटक स्वर्ण पदक जितेको स्पेनले भने रजत पदकमै चित्त बुझाउनु परेको छ।

टोकियो ओलम्पिक: पुरुष फुटबल पदक तालिका

स्वर्ण: ब्राजिल अण्डर-२३
रजत: स्पेन अण्डर-२३
काश्य: मेक्सिको अण्डर-२३



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.