ड्रेसलले जिते ओलम्पिकमा पाँचौ स्वर्ण
१७ साउन, एजेन्सी । अमेरिकी पौडीबाज सेलेब ड्रेसलले टोकियो ओलम्पिक २०२० मा पाँचौ स्वर्णपदक जितेका छन् । टोकियो अक्वाटिक सेन्टरमा आइतबार भएको चार गुणा १०० मिटर मिड्ले रिलेमा विश्व कीर्तिमानसहित स्वर्ण जित्दै ड्रेसलले स्वर्ण संख्या पाँच पुर्याएका हुन् ।
उनले व्यक्तिगत स्पर्धामा तीन र समूह स्पर्धामा दुइए गरी चारस्वर्ण पदक जितेका हुन् । ड्रेसलले यसअघि चार गुणा सय मिटर फ्रिस्टाइल, १ सय मिटर फ्रि स्टाइल, १ सय मिटर बटर फ्लाइमा र ५० मिटर फ्रिस्टाइलमा स्वर्ण जितेका थिए । १ सय मिटर फ्रिस्टाइलमा उनले ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेका हुन् । १ सय मिटर बटरफ्लाइमा नयाँ विश्व कीर्तिमान बनाएका छन् ।
उनीसँगै राएन मर्फी, माइकल आन्द्रे र ज्याक अप्पलले तीन मिनेट २६.७८ सेकेण्ड टाइमिङ निकाल्दै विश्व कीर्तिमान कायम गरेका हुन् । उनीहरुले सन् २००९ मा रोममा भएको वर्ल्ड च्याम्पियनसिपमा अमेरिकाले नै राखेको ३ मिनेट २७.२८ सेकेण्डको कीर्तिमान तोडे ।
त्यसअघि ड्रेसलले ५० मिटर फ्रिस्टाइलमा ओलम्पिकमा कीर्तिमानसहित जारी ओलम्पिकमा चौथो स्वर्णपदक जित्न सफल भएका हुन् । ड्रेसलले २१.०७ सेकेण्डमा दूरी पूरा गरे ।
२४ वर्षीय सेलेबले ब्राजिलका सेलार सेएलोको नाममा रहेको २१.३० सेकेण्डको ओलम्पिक कीर्तिमान तोडेका हुन् । फ्रान्सका फ्लोरेन्ट मानाउडोले २१.५५ सेकेण्डसहित रजत र ब्राजिलका ब्रुनो फ्रातुसले २१.५७ सेकेण्डसहित कास्य जितेका छन् ।