झलनाथ खनालको उपचार खर्च जुटाउन तयार छौं, सरकारी खर्च प्रयोग नगरौं – गगन थापा
०६ श्रावण, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले विदेशमा उपचार गरेको खर्च सरकारले दिनु गैर कानुनी भएको बताएका छन्।
२०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भन्ने व्यवस्था भएको र २०७५ असोज २ गतेदेखि लागू भइसकेको उनले स्मरण गरेका छन्। पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने चर्चा चलिरहेको समयमा थापाले सामाजिक संजालमार्फत यस्तो बताएका हुन्।
‘जहाँसम्म पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारको सन्दर्भ छ हामी सबै वहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छौँ।नेपालको लोकतान्त्रिक आन्दोलनमा अभूतपूर्व योगदान पुर्याउनु भएका झलनाथ खनालले पछिल्लो पटक निजी नाफा घाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई जसरी उभ्याउनु भएको छ यसले उहाँको कद अझ बढेको छ। झलनाथ खनाल समेतको अडान र नेतृत्वदायी भूमिकाका कारणले जोगिएको संसदमा सँगै काम गर्न हामी प्रतीक्षारत छौं’, उनले भनेका छन्, ‘उहाँको उपचारको लागि परिवार, स्वजन, पार्टी पङ्क्ति लागिरहेकै छ। उहाँलाई उपचार खर्च जुटाउनु पर्ने अवस्था नै आएमा त्यसको लागि देश विदेशमा रहेका हामी सबै नेपाली हरदम तयार छौँ र रहन्छौँ नै।यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाइ उहाँको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ।’
अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा प्रधानमन्त्री शेरबहादुर देउवा सचेत रहेको विश्वास व्यक्त गरेका छन्।
उक्त कानून कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति,प्रधानमन्त्री देखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न नपाउने उनको भनाई छ।