Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

खुमलटारमा देउवा : प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्दै प्रधानमन्त्री शेरबहादुर देउवा

0 103

०५ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

मंगलबार प्रचण्ड निवास खुमलटार पुगेर प्रधानमन्त्री देउवाले सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। प्रचण्डसँग भेटवार्ता गर्न खुमलटार पुगेका देउवाले सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

सीताले आराम गरिरहेको कोठमा पुगेर देउवाले नमस्कार गर्दा प्रचण्डले ‘उहाँ प्रधानमन्त्री शेरबहादुर देउवाजी’ भनेर चिनाएका थिए। सीताले ‘चिने’ भनेर जवाफ दिएकी थिइन्।

प्रचण्डले सीतालाई आरजुसमेत भेट्न आउने जानकारी गराएका छन्। लामो समयदेखि ओछ्यान परेकी सीताको मनोबल यसरी मान्छेले भेट्दा बढ्ने प्रचण्डले सुनाए। ‘यसरी भेटघाट गरिदिएपछि उनको मनोबल पनि उठ्छ क्या’, प्रचण्डले देउवासँग भने।

खुमलटारमा देउवाले अध्यक्ष प्रचण्डसँगै माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरेका छन्। देउवा नेतृत्वको सरकार बनेपछि सत्तारुढ गठबन्धनलाई न्यूनतम साझा सहमति गरेर अगाडि बढाउने तयारी प्रचण्डले गरेका छन्। माओवादी केन्द्र र नेपाली कांग्रेसका दुई दुई गरेर अहिलेसम्म देउवा सरकारमा चारजना मात्र मन्त्री सहभागी भएका छन्।

बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँगको भेटसँगै प्रचण्डले सरकारलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन छलफल सुरु गरेका हुन्। देउवासँगको भेटमा प्रचण्डले सरकारको साझा न्यूनतम् कार्यक्रम बनाएर अगाडि बढ्ने विषयमा छलफल गरेका थिए ।

देउवाको भेटमा गठबन्धनमा सहभागी दलको भावनाअनुसार साझा न्यूनतम कार्यक्रम बनाएर सरकारलाई गतिदिने विषयमा छलफल भएको थियो ।

देउवासँगको भेटअघि प्रचण्डले नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका छन्। वरिष्ठ नेता नेपाल निवास कोटेश्वरमा दुवै नेतासँग प्रचण्डले छलफल गरेका हुन्।

कोटेश्वरमा प्रचण्ड, नेपाल र यादवबीचको भेटमा केपी ओली सरकारले असंवैधानिक ढङ्गबाट गरेका राजनीतिक नियुक्ति खारेज गर्ने विषयमा छलफल भएको थियो।

एमाले अध्यक्षसमेत रहेका निवर्तमान प्रधानमन्त्री केपी ओलीविरुद्ध सहकार्य गरेका दलसँग सहमति गरेर अगाडि बढ्ने तयारीमा प्रचण्ड छन् । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने पार्टी र सांसदलाई मिलाएर अगाडि बढ्ने गरी उनको छलफल केन्द्रित देखिन्छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले देउवा सरकारलाई विश्वासको मत दिएपछि मन्त्रिपरिषद् विस्तारमा सबैलाई समेट्नुपर्ने बाध्यता देउवामाथि देखिन्छ । अहिले देउवा सरकारमा दुई कांग्रेस र दुई माओवादी गरेर चारजना मात्र मन्त्री रहेका छन् ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.