Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

श्रावण साेमबार शिवजीकाे व्रत किन बस्ने?

0 171

०३ साउन, काठमाडाैं । मिती २०७८ साउन ४ गते साेमबार अाषाढ शुक्लपक्ष दशमी तिथी राति ७ : १८ बजेसम्म त्यस उप्रान्त हरिशयनी एकादशी अारम्भ हुने भएकाेले श्रावण महिना सोमबार किन शिवजीको व्रत बस्नुपर्दछ ?

“सोमबारे व्रतम् कार्यम् श्रावणे वै यथाविधि:

“अर्थात् श्रावणको सोमबार प्रात:विधिपूर्वक स्नान गरी शुद्ध वस्त्र धारणा गरी अनुकुल मिल्ने शिवमन्दिरमा पुगी पुण्य नदीहरुबाट ल्याइएको शुद्ध जल चढाई उपलब्ध भएसम्मका उपचार विधिअनुसार शिवको पूजा गर्नु ।

“जलाधार प्रिय शिव”

अर्थात् शिवजीलाई जलधारा प्यारो लाग्दछ।यो व्रत श्रावण, चैत, वैशाख, कात्तिक वा मंसिर महिनाको शुक्लपक्षको पहिलो सोमबारबाट प्रारम्भ गर्नुपर्दछ।यो व्रत पाँच वर्ष, चौध वर्ष अथवा सोह्र वर्षसम्म श्रद्धा र भक्तिका साथ विधिपूर्वक गर्नु पर्दछ। चैत्र शुक्ल अष्टमी तिथि, आर्द्रा नक्षत्र, सोमबार वा श्रावण महिनाको पहिलो सोमबारबाट व्रत सुरु गरेमा एकदमै ठूलो फल प्राप्त हुन्छ। व्रत आरम्भ गर्दा बिहान सबेरै उठेर पानीमा कालो तिल मिसाई नुहाउनु पर्दछ, त्यसपछि ‘ॐ नमः शिवाय’ लगायत शिवकू मन्त्र वा प्रार्थनाद्वारा शिव-पार्वतीको पूजा गर्नु पर्दछ, सेतो वस्त्र लगाएर सेतो फूल, सेतो चन्दन, पञ्चामृत, अक्षता, सुपारी, बेलपत्र आदिले पूजा गर्नु पर्दछ, पूजा गरिसकेपछि ब्राह्मणलाई दान, दक्षिणासहित भोजन गराइसकेपछि मात्रै आफूले भोजन गर्नुपर्दछ।

सोमबारको व्रत भरिसक्य निर्जल, निराहार अथवा एक छाक अलिनो खान्की ग्रहण गरी सम्पादन गर्ने शास्त्रीय मान्यता छ।व्रतको समापन पनि माथि उल्लेखित महिनामा परे उत्तम मानिन्छ।सोमबारको व्रत लिनाले मानसिक शान्ति, धन, पुत्रप्राप्ति, पतिप्राप्ति एवं सबै किसिमको कष्टबाट छुटकारा प्राप्त हुनेछ।त्यसैले शिव महिमा गाउनु, कथा प्रवचन सुन्नु, सात्विक व्यवहार गर्नु, बेलुकी मात्र शुद्ध भोजन गर्नु ।बैदिक सनातन धर्मावलम्वीहरुले नित्य कर्मकै रुपमा श्रावणी सोमवारको व्रत गर्नुपर्दछ । देवी पार्वतीले साउन महिनाभरि निराहार रहेर कठोर व्रत बसेकोहुनाले सोमबार व्रतको महत्व छ।

श्रावण १ गते सूर्य कर्कट राशिमा प्रवेश गरी दक्षिणायन प्रारम्भ हुन्छ ।चन्द्रमानअनुसार आषाढ शुक्ल एकादशीदेखि चर्तुमास व्रत आरम्भ हुनेहुँदा श्रावण महिनाको महत्व आध्यात्मिक दृष्टिले पनि उत्तम कोटीमा रहेको पाइन्छ।चन्द्रमानअनुसार श्रावण कृष्ण प्रतिपदादेखि श्रावणशुक्ल पूर्णिमासम्म, सूर्यमानअनुसार श्रावण १ गतेदेखि मसान्तसम्म श्रावणी उत्सवको महिमा रहेको छ ।महिलाहरु साउने सङ्क्रान्तिका दिनदेखि नै एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनुका साथै शिवलाई प्रसन्नपार्न सोमबारेव्रत बस्छन् ।

यो व्रत बस्नेलाई

“अपुत्रो लभते पुत्रन्निर्धनो धनवान् भवेत्,
अविद्दो लभते विद्दामिति धर्मविदो विदु :”

अर्थात् छोरा नहुनेलाई छोरा प्राप्त हुने, धन नभएकाहरुलाई धन प्राप्त हुने, अनपढलाई विद्दा प्राप्त हुने यो नै धर्मको निर्णय हो।त्यसैले सोमबारको व्रत अवस्य बस्नु पर्दछ।समुद्र मन्थनगर्दा उत्पन्न भएका चन्द्रमा शिवको माथमा {शिरमा }बसेका थिए।त्यसकारण उहाँलाई सोमनाथ अर्थात् चन्द्रमाका मालिक भनिन्छ।चन्द्रमाको शिवको शिरमा बसेका हुनाले सोमबार शिवको पूजा – अर्चना अरुदीन भन्दा विशेष रुपले गरिन्छ।यस श्रावण महिनालाई कर्कट महिना भनिन्छ।कर्कट राशिको ग्रह स्वामी चन्द्रमा हुन् ,यिनले शिवको शिरमा निवास गरेको हुनाले पनि श्रावण यो महिनाभरी सोमबारमा शिवजीको पूजा – अर्चना र जलाधार गरिन्छ।

एकजना असाध्यै धनवान व्यापारी थियो, उसको घरमा धन आदिको कुनै किसिमको कमी हुंदैनथ्यो। तर ऊ संततिसुखको अभावको पीडा भोग्दै थियो।यही नै साहूको चिन्ताको विषय थियो।ऊ पुत्रको कामना गर्दै प्रति सोमवारका दिन शिवजीको व्रत र पूजन गर्ने गर्दथ्यो र सायंकालमा शिव मन्दिरमा गएर शिवजीको श्री विग्रहअगाडि दियो बाल्ने गर्थ्यो।उसको यस भक्तिभावलाई विचार गरेर एकपटक श्री पार्वतीमाताले शिवजीसँग भन्नुभयो –

हे स्वामी ! यो वैश्य हजुरको अनन्य भक्त हो अनि सदैव हजुरको व्रत र पूजन असाध्यै श्रद्घापूर्वक गर्दछ। यसको मनोकामना त पूर्ण गर्नुपर्दछ। पार्वतीका कुरा सुनेर शिवजीले भन्नुभयो – हे पार्वती।

यो संसार कर्मक्षेत्र हो। जसरी किसान खेतमा जस्तो बीउ छर्दछ त्यस्तै फल प्राप्त गर्दछ। त्यसरी नै यस संसारमा प्राणीले जस्तो कर्म गरेको हुन्छ त्यस्तै फल भोग्न पाउंछ। पार्वतीले अत्यन्त आग्रहपूर्वक भन्नुभयो – महाराज ! जब ऊ हजुरको अनन्य भक्त छ र यसलाई कुनै किसिमको दुःख छ भने त्यस कष्टलाई अवश्य निवारण गर्नु पर्छ किनकि हजुर सदैव आफ्ना भक्तप्रति दयालु हुने गर्नुहुन्छ र तिनका समस्त दुःखकष्ट निवारण गर्नुहुन्छ।

यदि हजुरले भक्तलाई राहत प्रदान गर्नु भएन भने मनुष्यले हजुरको सेवा तथा व्रत किन पो लिनु र ? पार्वतीको यस्तो आग्रह सुनेर भगवान भोलेनाथ पुनः भन्न थाल्नुभयो – हे पार्वती ! यसको कुनै संतति छैनन त्यसैले यो चिन्ताग्रस्त भई दुःखी जीवन व्यतीत गर्दछ। यसको भाग्यमा सन्तान छैनन तथापि म तिम्रो आग्रहका कारण यसलाई पुत्रप्राप्तिको वरदान प्रदान गर्दछु। तर उक्त पुत्र बाह्रवर्षसम्म मात्र जीवित रहने छ।यसबाहेक यस भक्तका लागि म अरु केही पनि गर्न सक्दिन। यी सबै कुरा वैश्यले समेत सुनिरहेको थियो, यसबाट उसलाई न प्रसन्नता नै भयो न केही दुःख नै। ऊ पहिले जसरी नै शिवजीको व्रत र पूजन गर्दै रह्यो।

केही समय व्यतीत भएपछि साहूकी स्त्री गर्भवती भई र दस महिनापछि उसको गर्भबाट एउटा अति सुन्दर पुत्रको जन्म भयो।साहूका घरमा ठूलो उत्सव मनाइयो तर साहूले नवजात शिशुको बाह्र]वर्षको मात्र आयु छ भन्ने थाहा पाएर धेरै प्रसन्नता व्यक्त गरेन र न कसैलाई यस रहस्यको भेद नै बतायो।जब त्यो बालक ११ वर्षको भयो, बालककी आमा त्यसको व्रतबन्ध, विवाह आदि संस्कार संपन्न गर्ने कुरा गर्न थालिन तर साहू यस कुरामा सहमत भएन। बरु उसले पुत्रलाई अध्ययन गर्न काशी पठाउने निधो गर्‍यो।

व्यापारीले आफ्नो सालो अर्थात् बालकको मामालाई प्रशस्त धन उपलब्ध गराई बाटोमा जुन स्थानमा पुगे पनि यज्ञ गर्दै र ब्राहमण-भोजन गराउँदै बालकलाई काशी लिएर जान आदेश गर्‍यो।ती दुबै मामा-भाञ्जा यज्ञ संपन्न गर्दै र ब्राहमण-भोजन गराउँदै जाँदै थिए।बाटोमा तिनले एउटा सहर भेटे।त्यस सहरमा राजाकी छोरीको विवाह हुँदै थियो र अन्य देशको राजाको छोरो जो विवाह गर्न जन्ती लिएर आएको थियो त्यो विचरा कानो थियो। दुलाहाका पितालाई कतै कन्यापक्षले दुलाहालाई देखेर विवाहमा अवरोध सिर्जना गर्ने त होइनन भन्ने चिन्ता थियो। बाटोमा बेउलाको बावुले अति सुन्दर साहूपुत्रलाई देखेर मनैमन विचार गर्‍यो, स्वागतद्वारमा यासि बच्चोलाई बेउलो बनाएर राख्नु पर्ला ! यस्तो सोचेर वरका पिताले त्यस केटो र उसका मामासँग कुरा गर्दा ती पनि यस कुरामा सहमत भए।

अनि त्यस वैश्यपुत्रलाई बेउलाका पहिरन लगाएर घोडामा चढाएर स्वागतद्वारमा लिएर गए र सबै कार्य प्रसन्नतापूर्वक पूर्ण भयो। त्यसपछि वरका पिता पुनः विचार गर्न थाल्यो, यदि विवाहका अन्यान्य कार्य पनि यसै केटाको सहयोग लिई गर्दा के बेफाइदा होला र ? बेउलाको पिताले वैश्यपुत्र र उसका मामासँग भन्यो – यदि तपाईंले यज्ञमण्डपमा बेउलाको सट्टामा यिनै बालकको सहयोगमा यज्ञ, गोडधुवा, कन्यादान आदि विवाहका शेषकृत्य सम्पन्न गराउनु भए ठूलो कृपा हुनेथियो।

म यसको प्रत्युपकारमा हजुरलाई प्रशस्त धन प्रदान गर्नेछु। ती दुबै मामाभान्जाले राजाको प्रस्ताव स्वीकार गरे र विवाहको शेष कार्य पनि साह्रै राम्ररी सम्पन्न भयो। तर विदा हुने बेलामा त्यस व्यापारीपुत्रले राजुकुमारीको खास्टोको छेउमा लेख्यो – तेरो विवाह त छलपूर्वक म वैश्यपुत्रसँग भएको छ र जुन राजकुमारसित तँलाई विदाई गरी पठाउने छन त्यो केटो त कानो छ। म अध्ययन गर्ने उद्देश्यले काशी पढन जाँदैछु। केटो गएपछि राजकुमारीले आफ्नो खास्टोमा लेखेको देखि र उसले राजकुमारसंगै जान अस्वीकार गरी। बेउलीले भनी – यो राजकुमार मेरो पति होइन, मेरो विवाह यससङ्ग भएको होइन।

मेरो पति त अध्ययन गर्न काशी गएकाछन। राजकुमारीका माता-पिताले यथार्थ कुरो पत्ता लगाए र आफ्नी छोरीको विदाइ गरेनन अनि जन्ती बेउलीबिना नै फिर्ता गयो। उता सेठको छोरो र उसको मामा काशी पुगे। त्यहाँ पनि तिनले यज्ञ गर्ने सिलसिला जारी राखे साथै केटोले अध्ययन प्रारम्भ गर्‍यो। जब केटाको आयु बाह्र वर्षको भयो त्यस दिन पनि यज्ञको योजना हुँदैथियो कि केटो अचानक बिरामी भयो र उसले मामासँग भन्यो – मामा आज मेरो स्वास्थ्य ठीक छैन। मामाले भित्र गई आराम गर्न भने। केटो भित्र पसेर सुत्यो र केही समयपछि उसका प्राणपखेरु उडे।

मृत भान्जो देखेर मामालाई असाध्यै पीडा भयो अनि सोच्न थाल्यो यदि मैले शोकका कारण रुनकराउन थालें भने यज्ञको संपादनमा विघ्न आउने छ, अतः उसले शीघ्रताका साथ यज्ञ सम्पन्न गरी ब्राहमण विदा गरेपछि रुनकराउन र छट्पटाउन थाल्यो। संयोगवश त्यसै समयमा शिव-पार्वती पनि त्यही बाटो पारी कतै जाँदै हुनुहुन्थ्यो। माता पार्वतीका साथमा भगवानले ठूलोठूलो स्वरमा रोएको आवाज सुन्नुभयो अनि पार्वतीमातले भगवानलाई भन्नुभयो – हे ख्वामित् ! कुनै दुखिया रोइरहेको छ यसको कष्ट निवारण गर्नुहवस्। शिव-पार्वती नजीकै गएर हेर्दा मृत अवस्थामा पुगेको त्यही वैश्यपुत्रलाई देख्नुभयो। माता पार्वतीले पुनः भन्नुभयो – स्वामी ! यो त त्यसै सेठको छोरो हो, जो हजुरको वरदानस्वरूप जन्मिएको थियो। शिवजीले आज्ञा गर्नुभयो – पार्वती ! यसको आयु यत्ति नै थियो जुन यसले भोग गरिसक्यो।

अनि पुनः पार्वतीले भन्नुभयो – हे मालिक ! यस बच्चालाई अझ आयु प्रदान गर्नुहवस नत्र यसका माता-पिता तडपी-तडपी मृत्युपरवश हुनेछन। पार्वतीले बारम्बार आग्रह गर्दा शिवजीले त्यसलाई जीवन प्रदान गर्नुभयो र शिवजीको कृपाले केटो जीवित हुन पुग्यो। शिवजी-पार्वती आफ्नो धाम कैलाश जानुभयो। त्यसपछि त्यो केटो र मामा पहिले जसरी नै यज्ञ गर्दै र ब्राहमण-भोजन गराउँदै आफ्नो घरतिर लागे। बाटोमा त्यही सहर आयो जहाँ केटाको विवाह भएको थियो।

त्यहां आएर तिनले यज्ञ आरंभ गरे, राजाले त्यस वैश्यपुत्रलाई चिन्यो र महलमा लगेर ती दुबैको स्वागतसम्मान गर्‍यो। साथै धेरै दास-दासीसहित विधिपूर्वक छोरीज्वाइँलाई विदा गर्‍यो। आफ्नो सहरका नजीकमा पुगेपछि मामा घरमा खबर गर्न बेउलाबेउलीभन्दा पहिले नै घरतर्फ गयो। उता बाह्रवर्ष बितेपछि त्यस केटाका माता-पिता घरको छानामा बसेर यदि हाम्रो पुत्र सकुशल फर्कियो भने राजी-खुशीसाथ छानाबाट तल झर्ने नत्र छतबाट फाल हालेर प्राण त्याग्ने भनी प्रतिज्ञाबद्ध भई छोराको बाटो कुरेर बसेका थिए ।

त्यत्तिकैमा त्यहां आई पुगेको केटाको मामाले व्यापारीदम्पतिको पुत्र पुत्रवधुका साथमा प्रशस्त धनसंपत्तिसमेत समाचार भन्यो। सेठदम्पति आनन्दपूर्वक तल झरे र छोराबुहारीको विधिवत स्वागत गरे। त्यसपछि उनीहरू बडो प्रसन्नताका साथमा जीवन यापन गर्न थाले। जसले सोमवारको व्रत विधिपूर्वक लिने गर्दछ, त्यसका सम्पूर्ण मनोकांक्षा पूर्ण हुनेछन अथवा सोमबारका दिन यस कथालाई पढनाले वा सुन्नाले मात्र पनि उसका समस्त मनोकामना पूर्ण हुन्छन्।

पं-बालमुकुन्द देबकाेटा


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.