Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

संघीय संसदका दुबै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूचीसहित

0 49

०३ साउन, काठमाडौं । संघीय संसदका दुबै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक आज बस्दैछ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि दुबै सदनको बैठक आह्वान गर्नुभएको हो । प्रतिनिधिसभाको आठौँ अधिवेशनको पहिलो बैठक आज बस्न लागेको हो । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बैठक आह्वान गरिएको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पनि पढेर सुनाइनेछ ।

यस्तै, सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची छ । शोक प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो । अधिवेशनको प्रारम्भमा दलका नेताहरुले मन्तव्य व्यक्त गर्ने परम्परा रही आएको छ ।

यसैबीच आजै राष्ट्रियसभाको नवौँ अधिवेशनको पहिलो बैठक बस्न लागेको हो । राष्ट्रियसभाको बैठक पनि अपराह्न ४ बजेका लागि आह्वान गरिएको छ ।

बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । अध्यक्ष तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरूको व्यहोरा पनि पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयाे ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.