Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

बालुवाटार छाडेर ओली बालकोट प्रस्थान, मोटर साइकल र गाडीले स्कर्टिङ

0 101

३० असार, काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बुधबार सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सरेका छन्। नेकपा(एमाले) संसदीय दलका नेता ओली तीन वर्ष चार महिना प्रधानमन्त्रीको कार्यकाल पुरा गरेर आज बालकोट निवास सरेका हुन्।

२०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली फागुन ६ गते बालुवाटार सरेका थिए। एमाले अध्यक्ष रहेका ओलीलाई कार्यकर्ता, युवा संघ नेपाल, अनेरास्ववियूले गाडी र मोटरसाइकलसहित बालकोट निवासका लागि स्कर्टिङ गरिरहेका छन्।

एमाले युवा संघका इञ्चार्ज तथा सांसद महेश बस्नेतले भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म नागरिक अभिनन्दनसहित प्रस्थान गराउने कार्यक्रम राखेका थिए। ओलीको स्कर्टिङका लागि युवा संघ नेपाल, अनेरास्ववियू र खेलकुद महासंघले तयारी गरेको हो।

अदालतको आदेशबाट केपी ओली नेतृत्वको सरकार ढलेसँगै शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन्। ओलीले जनादेश आफ्नो पक्षमा हुँदाहुँदै सर्वोच्च अदालतको परमादेशबाट सरकारबाट बाहिरिनुपरेको स्पष्ट पारेका छन्।ओलीले मंगलबार सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै भने, ‘म जनादेशबाट होइन, परमादेशबाट हटाइएको हुँ। जनादेश त अहिले पनि मेरो पक्षमा थियो। तर, परमादेश शेरबहादुरजीको पक्षमा आयो।’ ओलीले सर्वोच्चको परमादेशकै कारण आफू सरकारबाट बाहिरिन लागेको बताए। सरकारबाट बाहिरिँदा चिन्ता नभएको उनको भनाइ थियो। उनले सर्वोच्चको फैसला मान्ने पनि बताए। ‘फैसलाको पालना गर्ने कुरामा पार्टी स्पष्ट रहेको कुरा म प्रष्ट पार्न चाहन्छु’, ओलीले भने, ‘नेपालको संविधान अक्षरको सँगालो मात्र होइन। दशकौं लामो संघर्ष र बलिदानको उपज हो।’

आफ्नै अध्यक्षलाई पछारेर विपक्षी दलका सभापतिलाई उक्त पदमा पुर्‍याउन साथ दिने मुख्य नेता हुन् माधवकुमार नेपाल। एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको अत्यन्त तिक्ततापूर्ण सम्बन्धले यो अवस्था सिर्जना भएको हो।

नवनियुक्त प्रधानमन्त्री देउवालाई एमाले वरिष्ठ नेता नेपालले शीतल निवास पुगेर बधाई दिए। पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले वरिष्ठ नेता नेपालले हात मिलाएरै बधाई दिए। कार्यक्रम संचालकले सामाजिक दूरी कायम गरेर बधाई दिन अनुरोध गरे पनि वरिष्ठ नेता नेपालले हात मिलाएर बधाई दिएका हुन्। अन्य अथिति र पूर्वप्रधानमन्त्रीले भने नमस्कार गरेर देउवालाई बधाई दिएका थिए।

नेपालले विपक्षी गठबन्धनसँग मिलेर ओली नेतृत्वको सरकारविरुद्ध अभिव्यक्ति दिइरहे। दोस्रो तहको नेताको प्रयासमा एकताको कार्यदल बनेर काम अघि बढाउँदा पनि उनीहरूबीचको सम्बन्धमा सौहार्दता कायम भएन।

२०७८ असार २७ मा कार्यदलले १० बुँद्धे एकताको सहमति गरे। त्यसमा नेपालले भने अपनत्व ग्रहण गरेनन्। उनले तत्कालै अन्तुष्टिको प्रतिक्रिया दिए। सर्वोच्च अदालतले दोस्रो पटक गरेको प्रतिनिधिसभा पुनस्र्थापना र देउवा प्रधानमन्त्री बनाउन दिएको परमादेशको नेपालले स्वागत मात्रै गरेनन्, आफ्नै निवास नजिक विपक्षी गठबन्धनको बैठक बोलाए। ओलीलाई सत्ताच्युत गर्ने एक मात्र उद्देश्य पूरा भएको भन्दै उनले खुसी प्रकट गरे।

देउवालाई प्रधानमन्त्रीमा नियुक्तिका लागि हस्ताक्षर गरेका एमालेका २३ सांसदको हातमा छ। हस्ताक्षरकर्ता एमालेका २३ सांसदले देउवालाई साथ दिए संसद पूर्ण कार्यकालसम्म जानेछ।

विपक्षमा उभिए संसद पुनः धरापमा पर्नेछ। सर्वोच्चले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरे पनि एक महिनाभित्र उनले संसदमा विश्वासको मत लिने अवस्थासम्म एमालेले गर्ने निर्णयले राजनीतिको भविष्य निर्धारण गर्नेछ। एमालेको समर्थन बिना देउवाको पक्षमा बहुमत पुग्ने अवस्था छैन।

संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्रीमा नियुक्तिका लागि सर्वोच्चमा दायर रिटमा एमाले वरिष्ठ नेता नेपाल खनाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका थिए। सर्वोच्चको फैसला आउनु अघिल्लो दिन आइतबार राति एमालेको कार्यदलले पार्टी विवाद निरुपणका लागि १० बुँदे सहमति गरेको थियो। उक्त सहमतिअनुसार एमालेले देउवाको पक्षमा आगामी दिनमा संसदमा मत दिने, नदिने अन्योल सिर्जना गरेको थियो। यद्यपि, सहमतिप्रति वरिष्ठ नेता नेपालले असन्तुष्टि जनाएका थिए भने अर्का वरिष्ठ नेता खनाल भारतमा उपचाररत छन्।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.