Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको दोस्रो युनिटबाट विद्युत् उत्पादान सुरु

0 84

३० असार, दोलखा । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको दोस्रो युनिटबाट विद्युत् उत्पादान सुरु भएको छ । दोलखाको विगू गाउँपालिका–१ लामाबगरमा निर्माण भएको ४५६ मेगावाट क्षमताको आयोजनाको दोस्रो युनिटको ७६ मेगावाट विद्युत् मंगलबार दिउँसोबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

दोस्रो युनिट प्रणालीमा जोडिएपछि आयोजनाबाट १५२ मेगावाट विद्युत् उत्पादन भइरहेको प्रवद्र्धक अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । उनका अनुसार अब हरेक १५ दिनमा अर्को युनिटबाट बाँकी ४ वटा युनिट क्रमशः उत्पादन गर्दै जाने योजना छ ।

“असारभित्रै दोस्रो युनिट सञ्चालन गर्ने योजनाअनुरुप नै आज थप ७६ मेगावाट विद्युत् प्रणालीमा जोडेका छौं,” उनले भने, “अबको २ सातामा तेस्रो युनिट पनि जोडिन्छ ।” आगामी भदौ महिनाभित्र ६ वटै युनिट सञ्चालनमा आउने उनले बताए ।

आयोजनाको विद्युत्गृहमा रहेका ६ वटा युनिटको प्रतिगोटा क्षमता ७६ मेगावाट छ । गत साता (असार २१ गते, सोमबार) तामाकोसीको पहिलो युनिटबाट उत्पादन सुरु गरिएको थियो । पहिलो सञ्चालनका लागि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै उद्घाटन गरेका थिए ।

आयोजनाले उत्पादन गरेको विद्युत् गोंगरस्थित विद्युत्गृहदेखि ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनबाट न्यू खिम्ती सबस्टेसन पु-याइएको छ । त्यहाँबाट खिम्ती–ढल्केबर प्रसारण लाइनबाट ढल्केबरस्थित ४००-२२० केभी सवस्टेसनमा पु-याइएको छ । न्यू खिम्ती सवस्टेशनमा माथिल्लो तामाकोसीसँगै ५४ मेगावाटको लिखु खोलाको विद्युत्समेत जोडिएको छ । न्यू खिम्ती सवस्टेशन समेत माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले नै निर्माण गरेको हो ।

आयोजनाले सबैभन्दा सुख्खा समयमा दैनिक कम्तीमा ४ घन्टा पूर्ण क्षमता (४५६ मेगावाट) उत्पादन गर्नेछ । रोल्वालिङ खोलाको पानी मिसाएर उत्पादन बढाउने योजना पनि कार्यान्वयन भइरहेको छ । रोल्वालिङको पानी मिसाउँदा थप २२ करोड युनिट र थप २० मेगावाटबाट १० करोड युनिट विद्युत् थप हुने छ । रोल्वालिङ आयोजनाको पनि डीपीआर गरेर बोलपत्र आह्वानको प्रक्रियामा गएको छ । यो आयोजनाबाट वार्षिक औसत २ अर्ब २८ करोड १० लाख युनिट विद्युत् उत्पादन हुनेछ । स्रोत : कारोबार दैनिकबाट


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.