खाली मालवाहक कन्टेनरबाट लुकाएर भारततर्फ गाँजा लैजाँदै गर्दा पक्राउ
२८ असार, वीरगन्ज । वीरगन्जमा सोमबार प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । खाली मालवाहक गाडीमा लुकाएर वीरगन्ज भन्सारको नाका हुँदै भारत लैजाँदै गरेको अवस्थामा प्रहरीले सोमबार २ क्वीन्टल ४७ केजी गाँजा बरामद गरेको हो ।
हेटौँडाबाट सामान खन्याएर भारत फर्कँदै गरेको एचआर ५५ एम २२०९ भारतीय नम्बरको लहरी (कन्टेनर बोक्ने ट्रक) मा लोड रहेको खाली कन्टेनरमा लुकाएर राखिएको २३ वटा पोकामा रहेको २ सय ४७ केजी गाँजा प्रहरीले बरामद गरेको हो ।
प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालका अनुसार हेटौँडाबाट वीरगन्ज नाका हुँदै भारत फर्किँदै गरेको खाली कन्टेर लोड भएको लहरीमा लुकाएर गाँजा भारत तस्करी भइरहेको सूचना प्रहरीले पाएको थियो ।
त्यही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो २ बजे तिर वीरगन्जको ड्राइपोर्ट चोकमा उक्त लहरी रोकेर चेकजाच गरेको थियो ।
चेकजाँचका क्रममा लहरीमा लोड रहेको खाली कन्टेनरभित्र फल्सबटम बनाएर लुकाइएको २३ वटा पोकामा रहेको २ सय ४७ केजी बरामद भएको प्रहरी नायव उपरीक्षक खनालले बताए ।
कन्टेनर चेकजाँच गरिरहेकै बेला लहरीका चालक फरार भएकाले उनलाई भने पक्राउ गर्न नसकिएको प्रहरी नायव उपरीक्षक खनालले बताए ।
बरामद गाजा सहितको लहरी जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर राखिएको छ । फरार रहेका चालक र लहरीका धनीको विषयमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिए ।