Advertisement

राष्ट्रपति हत्याको घटना यो पहिलो भने होइन, जहाँ ६ राष्ट्रपतिको हत्या भइसक्यो, हत्यारा सधैं अज्ञात

0 492

Advertisement

२६ असार, एजेन्सी । हाइटीमा राष्ट्रपति जोभेनेल मोसेको हत्यापछि विशाल प्रदर्शन भइरहेका छन्। यहाँका नागरिक यो हत्याकाण्डमा कसको संलग्नता छ भनेर यकिन हुन चाहिरहेका छन्। अन्तरिम प्रधानमन्त्री र प्रहरी प्रमुखले शान्त रहन आग्रह गरे पनि आक्रोशित नागरिकले विरोध प्रदर्शन गर्न छाडेका छैनन्।

हाइटीमा राष्ट्रपति हत्याको घटना यो पहिलो भने होइन। हाइटी सन् १८०४ मा स्वतन्त्र भएपछि नै पहिलो राष्ट्रपति डेसालिनेस जिन ज्याकको हत्या गरियो। यस्तै, सन् १९१५ मा राष्ट्रपति साम भिलब्रनले पाँच महिना मात्रै शासन चलाउन पाए र उनको पनि हत्या भयो।

उनीभन्दा पहिले नै सन् १८८६ मा प्रमुख बनेका जनरल सालोमन कार्यकालको दुई वर्षमै मारिए। यस्तै, सन् १९१२ मा जनरल सिनसिनाटस लेकोन्टे पनि मारिए। उनको हत्या भने कार्यालयमै भएको थियो। उनी सन् २०११ मा नेतृत्वमा पुगेका थिए। यस्तै जनरल ट्रान्क्रेड अगस्टको पनि १९१३ मा कार्यालयमै हत्या गरियो। उनी पनि कार्यकालको एक वर्षपछि नै मारिएका थिए।

यसरी हाइटीको इतिहासमा राष्ट्रपति तथा सैनिक शासकहरू विभिन्न कालखण्डमा विदेशी तथा स्वदेशी समूहबाट मारिएका छन्। हाइटीको इतिहासमा हालसम्म ८ जनाले मात्रै पूर्ण कार्यकाल चलाउन पाए। राष्ट्रपति मोसेको हत्यासँगै यो मुलुक फेरि हिंसात्मक राजनीतिको अर्को सुरुङमा छिरेको विश्लेषण हुन थालेको छ।

हतियारधारी समूहले बुधबार बिहानै राजधानी पोर्ट औं प्रिन्सस्थित निवासमा प्रवेश गरेर गोली प्रहार गरी राष्ट्रपति ५३ वर्षीय मोसेको हत्या गरेको हो। शरीरमा १२ वटा गोली लागेको अवस्थामा निवासमै लडिरहेको अवस्थामा मोसेलाई प्रहरीले फेला पारेको थियो। उक्त घटनामा राष्ट्रपति पत्नी मार्टिन घाइते भएकी थिइन्। उनलाई उपचारका लागि फ्लोरिडास्थित अस्पताल लगिएको छ। उनको स्वास्थ्य अवस्था स्थिर रहेको स्वास्थ्यकर्मीले जनाएका छन्। छोराछोरी भने सुरक्षित नै रहेको बताइएको छ।

उक्त घटनामा विदेशी भाडाका २८ जना हतियारधारीको गिरोह प्रयोग गरिएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार १५ कोलम्बियन र दुई हाइटियन–अमेरिकन नागरिक छन्। उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यीमध्ये ६ जना कोलम्बियन पूर्वसैनिकसमेत रहेको अनुसन्धानले देखाएको छ। यसलाई कोलम्बिया सरकारले पुष्टि गरेको छ। आरोपित पक्राउ गर्ने क्रममा प्रहरीले चलाएको गोली लागी चार जना मारिएका छन्। आठ जना फरार छन्। ‘हामी हाइटियनहरू विक्षिप्त भएका छौं। हामी यो स्वीकार गर्दैनौं’, प्रदर्शनमा सहभागी एक जनाले मिडियासामु भने, ‘उनीहरूको खोजीमा हामी पनि सहयोग गर्न तयार छौं। किनभने हामीलाई पनि थाहा पाउनु छ कि यस घटनामा कसको हात छ उनीहरूको नाम, पृष्ठभूमि।’

प्रदर्शनकारीले सन्दिग्धहरूको गाडीमा आगो लगाइदिएका छन्। जसले गर्दा प्रमाणसमेत नष्ट भएको जनाइएको छ। प्रहरी प्रमुखले कानुन हातमा लिन नहुने भन्दै प्रदर्शनकारीलाई शान्त रहन आग्रह गरेका छन्। ताइवान दूतावासमा छिरेका ११ शंकास्पदलाई पक्राउ गरी प्रहरीलाई बुझाइएको थियो। जहाँ उनीहरूले ताइवानको दूतावासको संरचनासमेत भत्काएका थिए।

अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले राष्ट्रपतिले भ्रष्टाचार विरोधी अभियान चलाएकाले उनको हत्या गरिएको आरोप लगाएका छन्। प्रहरीले बिहीबार पत्रकार सम्मेलनमा कोलम्बियन पासपोर्ट देखाउँदै विदेशीहरू प्रवेश गरी राष्ट्रपतिको हत्या गरेको बताएको थियो। कोलम्बियाले कम्तीमा ६ जना शंकास्पद आफ्ना पूर्वसैनिक भएको

पुष्टि गरेको छ। अनुसन्धानका लागि हाइटीलाई सहयोग गर्न कोलम्बिया सरकारले प्रतिबद्धता व्यक्त गरेको छ।

अमेरिकाले भने आफ्नो कुनै पनि नागरिक पक्राउ परेको कुरा पुष्टि गर्न नसकिने जनाएको छ। अमेरिकी र क्यानेडियन मिडियाले जेम्स सोलागेस नामका ३५ वर्षीय दोहोरो नागरिकता भएका अमेरिकी पक्राउ परेको बताउँदै आएका छन्।

जो हाइटीस्थित क्यानेडियन दूतावासका पूर्वसुरक्षगार्डसमेत रहेको पुष्टि भएको छ। ल्याटिन अमेरिकी गरिब मुलुकमा हाल देशव्यापी संकटकाल लगाइएको छ। साथै सबै सीमा बन्द गरिएका छन्। तर, प्रदर्शन भने व्यापक हुँदै गएको छ।

कसरी भयो आक्रमण ?
भारी हतियारसहितको टोली बुधबार बिहानै १ बजे राजधानी पोर्ट औ प्रिन्सस्थित राष्ट्रपतिको निवासभित्र छिर्‍यो। गोली प्रहारपछि घटनास्थलको भिडियो सार्वजनिक भएको थियो। जहाँ कालो पोशाक लगाएका हत्याराहरूले अमेरिकी लागूऔषध गिरोह भएको नाटक गरेका थिए। आक्रमणका क्रममा राष्ट्रपतिको ओछ्यान र शयनकक्षसमेत तोडफोड गरिएको थियो।

घटनास्थलमा छोरी जोमार्ली, छोराहरू जोभेनेल जुनियर र जोभार्लेन सुरक्षित नै रहेको बताइएको छ। जोमार्लीचाहिँ ओछ्यानमुनि लुकेर बाँचेको बताइन्छ। जबकि दुईजना घरेलु कर्मचारीहरूलाई आक्रमणकारीले बाँधिदिएका थिए ।

एजेन्सी



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.