कोपा अमेरिका अपडेट : कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश
२३ असार, एजेन्सी । कोपा अमेरिका फुटवलमा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ।
स्टेडियो नासियल डी ब्रसिलामा सम्पन्न खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनलको यात्रा तय गरेको हो।
खेलको ७ औं मिनेटमै कप्तान लियोनेल मेस्सीको पासमा लौटरो मार्टिनेजले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। भने कोलम्बियाका लागि लुइस डियाजले ६१ औं मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए।
त्यसपछि दुबै टीमले निर्धारित समयसम्म गोल फर्काउन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुग्यो।
पेनाल्टीमा ३-२ गोलअन्तरले अर्जेन्टिनाले जित्यो। अर्जेन्टिनाका लियोनल मेस्सी, लियोनार्डो परेडेज र लौटरो मार्टिनेजले गोल गर्दा रोड्रिगो डी पउल चुकेका थिए। उता कोलम्बियाका जुआन कुआड्राडोले र मिगुएल बोर्जाले गोल गर्दा येरी मिना र डेभिन्सन स्यान्चेज र एडविन कार्डोना पेनाल्टीमा चुकेका थिए।
जितसँगै अर्जेन्टिनाले फाइनलमा आयोजक ब्राजिलसँग हुनेछ । ब्राजिलले सेमिफाइनलमा पेरुलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।
कोपा अमेरिकाको फाइनल खेल आइतवार बिहान पौन ६ बजे सुरु हुनेछ।