Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

धदिङबाट चोरी भएको कार दाङमा कबाडीमा ४० हजारमा बेच्न खोज्दा समातिए कार चोर

0 477

२३ असार, दाङ । कबाडमा ४० हजारमा कार बिक्रि गर्न गएका एक किशोर पक्राउ परेका छन्। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ न्युरोडका १७ वर्षीय नवीन सार्की मंगलबार तुलसीपुरकै एक कबाड उद्योगमा बा १६ च ८७३५ नम्बरको कार बिक्री गर्न भनेर जाँदै गर्दा प्रक्राउ परेका हुन्। कन्डिसन ठिक अवस्थामा रहेको र हालको बजार मुल्य झन्डै ३० लाख जति पर्ने कार कवाडमा बेच्न खोजेको सूचना पाएपछि प्रहरीले सार्कीलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार कार आफैं चलाएर कबाड उद्योगमा बिक्रीका लागि जाँदै गरेका सार्कीलाई दिउँसो प्रहरीले तुलसीपुरबाटै पक्राउ गरेको हो।

‘३० लाख पर्ने राम्रै कन्डिसनको कार ४० हजारमा कबाडमा बिक्रि गर्न खोज्नुको पछाडि पक्कै केही रहस्य छ भन्ने मलाई लाग्यो,’ डिएसपी अर्यालले भने, ‘अनि सूचना मिल्नासाथ मैले कबाड उद्योगतर्फ जाने बाँटोमा तत्कालै सवारी चेक जाँचका लागि प्रहरी खटाएँ,’ उनले भने।

जिल्ला र जिल्ला बाहिरबाट मोटरसाईकललगाएत गाडीसमेत चोरीका घटना भइरहेको हुँदा प्रहरीले मोटर गाडीका वर्कसप, कबाड पसल सञ्चालकलगायतलाई कुनै ब्यक्तिमाथि आशंका लागे सूचना दिन यसअघिनै आग्रह गरेको थियो।

यसैबीच सार्कीले ४० हजारमा कबाडमा कार बेच्न खोजेको सूचना प्रहरीले पाएको थियो। त्यही सूचनाका आधारमा प्रहरीले सार्कीलाई पक्राउ गरेको डिएसपी अर्यालले जानकारी दिए।

उनका अनुसार चेक जाँचमा खटिएको प्रहरी टोली देख्नासाथ कार चलाईरहेका सार्की आत्तिएका थिए। प्रहरीले कागतपत्र मागेपछि सार्कीले हड्बडाउँदै गाडीका कागतपत्र पनि देखाए। त्यसपछि प्रहरीले उनीसँग सवारी चालक अनुमति पत्र मागेको थियो। तर हालसम्म लाइसेन्स नलिएका सार्की देखाउन सकेनन्।

त्यसैले प्रहरीले कारसहित सार्कीलाई नियन्त्रणमा लिएर इप्रका तुलसीपुरमा पुर्‍याएको डिएसपी अर्यालले जानकारी दिए। सोधपुछका क्रममा सार्कीले उक्त कार आफूले धादिङबाट चोरेर ल्याएको स्वीकार गरेको डिएसपी अर्यालले बताए।

सार्की तुलसीपुर–घोराही सडक खण्डमा सञ्चालन हुने बसमा सह-चालक भएको डिएसपी अर्यालले जानकारी दिए।

प्रहरीका अनुसार सार्की लकडाउनकै बीचमा साथीसँग काठमाडौं पुगेका थिए। काठमाडौंको थानकोटमा प्रहरीलाई आग्रह गरि एउटा ट्रकमा चढेर धादिङसम्म आइपुगे। तर, ट्रक त्यहीँ रोकियो। त्यही समयमा सार्कीले सडक किनारमै रोकिराखेको कार नियाले। त्यसभित्र मानिस कोही थिएन। ढोका ताने खुल्यो। चाँबी पनि गाडीमै थियो। तेल हेरे, दाङ आउन पुग्ने तेल देखे।

त्यसपछि सार्कीले त्यही कार चलाएर दाङतर्फ लागे। गाडीले कतै धोका दिएन। रातको समयमा कतै पनि चेकजाँच भएन। मागेको ठाउँमा गाडीको काजपत्र देखाउँदै तुलसीपुरसम्म आइपुगे। सिसी क्यामेरा फूटेजमा कार रातको ११ बजे चोरी भएको देखिएको उनले बताए।

डिएसपी अर्यालका अनुसार सार्कीले यसअघि पनि चोरी गर्ने गरेका थिए। उनी बिरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा दुई वटा चोरी सम्बन्धि मुद्दा छ। एउटा मोटरसाईकल र अर्को कार चोरी सम्बन्धि मुद्दा सार्कीका बिरुद्ध चलेको अभिलेख प्रहरीसँग छ।

सार्की यसअघि दुई पटक गरि ६ महिना सुधार गृहमा बसेको खुल्न आएको डिएसपी अर्यालले जानकारी दिए ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.