Advertisement

युरोकप फुटबलको गोल्डेन बुटका दाबेदार

0 649

Advertisement

२२ असार, काठमाडौं । युरोकप फुटबलको समूह चरण, प्रिक्वार्टरफाइनल र क्वार्टरफाइनलका खेलहरू सम्पन्न भइसकेका छन्। ११ देशका ११ सहरका सञ्चालन भइरहेको प्रतियोगिताको अन्तिम चारमा पुगेका टोली अहिले तयारीमा व्यस्त छन्। युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबलको सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुंगो लागिसकेको छ ।

शनिबार राति भएको खेलमा डेनमार्कले चेक रिपब्लिकलाई २–१ र इङ्ल्यान्डले युक्रेनलाई ४–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए। सेमिफाइनलमा इङ्ल्यान्ड र डेनमार्क एवं इटाली र स्पेनले स्थान बनाएका छन्। फाइनल प्रवेशका लागि इङ्ल्यान्ड र डेनमार्क एवं इटली र स्पेन भिड्ने छन्।

ङ्ल्यान्ड बाहेक बाँकी तीन वटै टोली युरोकपका पूर्वविजेता हुन्। इटली र स्पेनबीचको खेल आज मंगलबार हुनेछ। यस्तै इङ्ल्यान्ड र डेनमार्कले बुधबार राति प्रतिस्पर्धा गर्ने छन्। दुवै खेल बेलायतको लन्डनस्थित वेम्बली स्टेडियममा हुनेछ। फाइनल खेल पनि यही रंगशालामा आगामी आइतबार राति हुनेछ।

यसपटक बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इङ्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका थिए। साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, जर्मनी, नेदरल्यान्ड्सजस्ता ठूला टोली भने अन्तिम १६ बाटै बाहिरिएका थिए। २४ टोली सहभागी युरोकपमा अहिलेसम्म युरोकपमा ४८ खेल सकिएको छ । ४८ खेलमा एक सय ३५ गोल भइसकेको छ। प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र चेक रिपब्लिकका प्याट्रिक सिक छन्। प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीले गोल्डेन बुट प्राप्त गर्नेछन्। साविक विजेता पोर्चुगलका कप्तान रोनाल्डो र सिकले पाँच गोल गरेका छन्।

रोनाल्डोले समूह चरणमा तीनवटै खेल गोल गरेका थिए। उनले पहिलो खेलमा हंगेरीविरुद्ध दुई गोल गरेका थिए। दोस्रो खेलमा जर्मनीविरुद्ध ४–२ ले पराजित हुँदा रोनाल्डोले एक गोल गरेका थिए। तेस्रो खेल फ्रान्ससँग २–२ को बराबरी हुँदा पनि उनले पेनाल्टीबाट दई गोल गरेका थिए।

अन्तिम १६ मा बेल्जियमसँगको प्रतिस्पर्धामा भने उनले गोल गर्न सकेनन्। रोनाल्डोले तीन गोल पेनाल्टीबाट गरेका थिए। उनले गोलका लागि एक असिस्टसमेत गरेका छन्। पोर्चुगलले गरेको ७ गोलमध्ये ६ गोलमा रोनाल्डोको योगदान रहेको थियो।

रोनाल्डोले लगातार पाँच संस्करण युरोकप खेल्दै पाँचवटै संस्करणमा गोल गर्ने कीर्तिमानसमेत बनाएका छन्। उनले युरोकपमा सर्वाधिक गोल गर्ने मिचेल प्लाटिनीको कीर्तिमानसमेत तोडेका छन्। युरोकपमा उनको गोल संख्या १४ पुगेको छ। साथै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १ सय ९ गोल गर्ने इरानका अली देईको कीर्तिमानसँग पनि रोनाल्डोले बराबरी गरेका छन्।

रोनाल्डोसँगै चेक रिपब्लिकका प्याट्रिक सिकले पनि पाँच गोल गरेका छन्। जारी युरोकपमा उत्कृष्ट प्रदर्शन गरेका सिकले समूह चरणमा तीन, अन्तिम १६ को खेलमा एक र क्वार्टरफाइनलमा पनि एक गोल गरेका थिए। उनले स्कटल्यान्डविरुद्ध पहिलो खेलमा दुई गोल गरेका थिए।

त्यसपछि क्रोएसियाविरुद्ध १–१ गोलको बराबरी खेल्दा एक गोल गरेका उनले इङ्ल्यान्डविरुद्धको समूह चरणको अन्तिम खेलमा भने गोल गर्न सकेनन्। प्रिक्वार्टरफाइनलमा नेदरल्यान्ड्समाथि २–० को प्रभावशाली जित निकाल्दा सिकले एक गोल गरेका थिए। यसैगरी क्वार्टरफाइनलमा डेनमार्कसँग चेक रिपब्लिक २–१ गोलले पराजित हुँदा पनि सिकले एक गोल गरेका थिए।

रोनाल्डो र सिकलाई फ्रान्सका करिम बेन्जमा, बेल्जियमका रोमलु लुकाकु र स्विडेनका इमिल फोर्सबर्गले पछ्याइरहेका छन्। उनीहरू चारै जनाले चार गोल गरेका छन्। फ्रान्स र स्विडेन अन्तिम १६ बाटै बाहिरिएको छ भने फिफा वरीयताको शीर्ष टोली बेल्जियम क्वार्टरफाइनलबाट घर फर्किएको थियो।

बेल्जियमका रोमेल लुकाकले समूह चरणमै तीन गोल गरेका थिए भने क्वार्टरफाइनलमा इटालीविरुद्ध पेनाल्टीमा गोल गरेका थिए। उनले समूह चरणमा रुसविरुद्धको पहिलो खेलमै दुई गोल गरेका थिए। डेनमार्कविरुद्ध गोल गर्न नसके पनि उनले समूह चरणको अन्तिम खेलमा फिनल्यान्डविरुद्ध भने एक गोल गरेका थिए। उनले पोर्चुगलविरुद्धको अन्तिम १६ को खेलमा पनि गोल गर्न सकेनन्।

समूह चरणका सुरुका दुई खेलमा गोल गर्न नसकेका फ्रान्सका स्टार बेन्जमाले समूहको अन्तिम खेलमा साविक विजेता पोर्चुगलसँग २–२ गोलको बराबरी खेल्दा दुवै गोल उनैले गरेका थिए। बेन्जमा दुईमध्ये एक गोल पेनाल्टीमा गरेका थिए। यसैगरी अन्तिम १६ को खेलमा स्विट्जरल्यान्डसँग टाइब्रेकरमा पराजित हुँदा दुई गोल गरेका थिए।

स्विडेनका इमिल फोर्सबर्ग जारी युरोकपमा चार गोल गर्ने अर्का खेलाडी हुन्। उनले समूह चरणको दोस्रो खेलमा स्लोभाकियालाई १–० ले पराजित गर्दा निर्णायक गोल गरेका थिए। यसैगरी समूह चरणको अन्तिम खेलमा पोल्यान्डलाई ३–२ ले पराजित गर्दा फोर्सबर्गले दुई गोल गरेका थिए। उनले अर्को एक गोल अन्तिम १६ को खेलमा गरेका थिए। उनले एक गोल गरेपछि स्विडेन युक्रेनसँग २–१ गोलले पराजित भएको थियो।

युरोकपमा इङ्ल्यान्डका रहिम स्टर्लिङले पनि जारी युरोकपमा तीन गोल गरेका छन्। उनले समूह चरणको पहिलो खेलमा क्रोएसियालाई १–० गोलले पराजित गर्दा निर्णायक गोल गरेका थिए। उनले समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १–० गोलले हराउँदा पनि निर्णायक गोल गरेका थिए। त्यसपछि प्रिक्वार्टरफाइनलमा जर्मनीलाई हराउँदा स्टर्लिङले सुरुआती गोल गरेका थिए। उनले गोलका लागि एक असिस्ट पनि गरेका छन्।

यसैगरी स्विट्रल्यान्डका ह्यारिस सेफेरोभिचले पनि युरोकपमा तीन गोल गरिसकेका छन्। उनले समूह चरणको खेलमा भने एक गोल मात्रै गरेका थिए। उनले टर्कीलाई ३–१ गोलले पराजित गर्दा सुरुआती गोल गरेका थिए। अन्तिम १६ को खेलमा बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ पराजित गर्दा सेफेरोभिचले निर्धारित समयमै दुई गोल गरेका थिए। यसैगरी पोल्यान्डका रोबर्ट लेवान्डोस्की, इङ्ल्यान्डका कप्तान हेरी केन, नेदरल्यान्ड्सका जर्जिनियो विजनलडम, डेनमार्कका कास्पर डोलबर्ग र स्विट्रल्यान्डका जेरदान सकिरीले पनि तीन गोल गरेका छन्।

सर्वाधिक गोलकर्ताको सूचीमा रहेका रोनाल्डो र सिकलाई इङ्ल्यान्डका कप्तान हेरी केन र रहिम स्टर्लिङ तथा डेनमार्कका कास्पर डोलबर्गले टक्कर दिन सक्ने देखिएको छ। बुधबार राति इङ्ल्यान्ड र डेनमार्क एकआपसमा भिड्दा यी तीनै खेलाडी गोलको खोजीमा हुने छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.