पूर्वी चितवनको रहस्यमय अपराधको गहिरो अनुसन्धान गर्न र दोषीलाई अविलम्ब कानूनी कठघरामा उभ्याउन नेपाली कांग्रेसको माग
२२ असार, काठमाडौं । नेपाली कांग्रेसले पूर्वी चितवनको रहस्यमय अपराधको गहिरो अनुसन्धान गर्न र दोषीलाई अविलम्ब कानूनी कठघरामा उभ्याउन माग गरेकव छ ।
पूर्वी चितवनको राप्ती नगरपालिकाकी युवती सुजिता भण्डारीको रहस्यमय ढंगले भएको मृत्युले गम्भीर आशंका जन्माएको छ ।
९ दिनसम्म उनि नभेटिनु, कसैको नियन्त्रण र अपहरणमा परेको सूचना उनले दिएपछि पनि खोज अनुसन्धानले परिणाम हासिल नगर्नु र अन्तिममा जंगलमा मृत शरीर भेटिनुले अनेक प्रश्न उब्जिएको छ ।
नेपाली कांग्रेस सुजिता प्रकरणको गहिरो र गम्भीर अनुसन्धान मार्फत दोषीलाई अविलम्ब कानूनी कठघरामा उभ्याउन सरकारसँग माग गर्दछ ।
देशको विभिन्न भागमा महिला उपर अनेक प्रकृतिका हिंसा र हत्याका घटना पटक–पटक भएका छन् । यो प्रवृत्तिलाई निरुत्साहित गर्न र सामाजिक परिवर्तनका लागि गम्भीर राष्ट्रिय विमर्श गर्न जरुरी भइसकेको छ ।
घटनाहरुको गहिरो अनुसन्धान र कार्वाहीका लागि राज्य प्रशासनको गम्भीर तदारुकता पनि झनै बिशेष बन्न बनाउन अत्यावश्यक भएको छ । पूर्वी चितवनको घटनाको गहिराईसम्म पुगेर अनुसन्धान गर्न माग गरिरहँदा नेपाली कांग्रेस यो प्रश्नमा पनि सबैको ध्यानाकर्षण गराउँदछ ।