Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सिद्धान्तलाई घोकेर भोट माग्ने मार्क्सवाद होइन, रूढिवाद हो: अध्यक्ष प्रचण्ड

0 164

२० आषाढ, काठमाडाैं । अब एमाले र माओवादी मार्क्सवादलाई जीवितिरुपमा विकशित गर्ने, परिमार्जन गर्ने र क्रान्तिलाई निरन्तर अगाडि बढाउने सर्वहारा वर्ग श्रमजीवी जनताको जीवनमा आमूल परिवर्तन ल्याउने साधन भएनन्। यी केही फेजहरु, केही नाराहरू चाहिँ दोहोर्‍याइ राख्ने र त्यसैको आधारमा चाहिँ आफ्नो जीविका चलाउने जस्ता रूढिवादी संस्था भए। एमाले एउटा रूढिवाद हो भन्ने लाग्छ र माओवादी अर्को रूढिवाद बन्दैछ भन्ने लाग्छ मलाई। उहाँले ठिकै भन्नु भयो। मदन भण्डारी भनेपछि अरू भन्ने नपर्ने, पढ्न नि नपर्ने, लेख्न नि नपर्ने, बहस गर्न नि नपर्ने।

कार्ल मार्क्सले इतिहासको अध्ययन अनुसन्धान गरेर एउटा नयाँ संश्लेषण निकाल्दै गर्दा हामी सबैले थाहा पाएको एउटा उक्ति छ- दार्शनिकहरूले दुनियाँको व्याख्या विभिन्न ढंगले गरे, तर मुख्य कुरा त बदल्ने कुरा हो। परिवर्तन ल्याउने कुरा मुख्य हो भन्नुभयो। यो सु-प्रसिद्ध छ। संसार भरिका कम्युनिष्टहरुले पढेको, बुझेको कुरा हो। तर हामीले फेरि एक चोटि ध्यान दिनुपर्ने छ। व्याख्या र विश्लेषण त गर्न सकिने तर, प्रधान प्रश्न बदल्ने हो भन्ने प्रश्नमा चाहिँ कम ध्यान जाने गरेको छ हामी कहाँ। त्यसकारण एक चोटि फेरि जोड दिएर भन्न चाहन्छु हामी बदल्ने तिर कति गम्भीर छौं या छैनौं तिर ध्यान दिइयोस्।

म यसै सन्दर्भमा अर्को एउटा कार्ल मार्क्सको भनाइलाई पनि अघि सार्न चाहन्छु- उहाँले अन्तर्राष्ट्रिय कम्युनिस्ट मजदुर आन्दोलन अघि बढाउने सन्दर्भमा भएका एकदम कामकाजी सांगठनिक बहसको सन्दर्भमा एक चोटि उहाँलाई आलोचना आयो कि तिमिहरू पढ्ने कुरा गर्छौं, खालि ठूल ठुला कुरा गर्छौं, तिमिहरूले मजदुरको जीवन कस्तो छ ? व्यवहारिक रूपमा मजदुरले के समस्या भोगेका छन् भन्ने कुरा प्रत्यक्ष सहभागी हुनै चाहँदैनौं। तिमिहरू लाईवेरिमा दिन बिताउँछौं। ठूल ठुला किताब पढ्छौं र ठूल ठुला बहस गर्छौं भनि आलोचना भयो। मार्क्सले त्यहाँ बढो आवेगको साथ जवाफ दिनुभएको छ- यो कथाकथित व्यवहारवादको प्रवृत्ति भन्दै उहाँले भन्नुभयो, इतिहासमा कहिल्यै पनि अज्ञान्ताले जनताको सेवा गरेको छैन। अज्ञानताको पक्ष पोषण गर्ने ज्ञानको विषय, त्यसमा हुने बहस, छलफल र त्यसको विकाश परिमार्जनको महत्त्वलाई अवमुल्यांकन गर्ने प्रवृत्ति सर्वहारा जनश्रमजीविप्रति इमानदार प्रवृत्ति हुनै सक्दैन। यो भन्दा नाङ्गो अवसरवाद अरू केही होइन भनेर भन्नु भएको छ। म कार्ल मार्क्सका यी दुई भनाइलाई ध्यान दिन म सबैलाई अनुरोध गर्न चाहन्छु। र यसैसँग अलि पछि आएर लेनिनले मार्क्सवाद के हो ? भन्ने विषयमा तमाम बहस, दार्शनिक पक्ष, त्यसको राजनीतिक अर्थशास्त्रको विषयमा, त्यसको वैज्ञानिक समाजवाद र त्यस अगाडिको सन्दर्भमा धेरै कुरा भन्नु भएको छ। अन्त्यमा लेनिनले सबै कुरा एकै ठाउँमा ल्याएर के भन्नुभयो भने ठोस बस्तुको ठोस विश्लेषण नै मार्क्सवादको ज्युँदो आत्मा हो। जीवित आत्मा भनेको ठोस बस्तुको ठोस विश्लेषण गर्नुतिर ध्यान केन्द्रित गर्नु हो। यो कुनै रूढि वा कुनै जड या यो कुनै अनुभववादतिरको कुरा होइन। उहाँले भन्ने खोजेको के हो भने, यो विज्ञानको कुरा हो भन्नु खोज्नु भएको हो। लेनिनको जोडचाहिँ हामीले विज्ञानलाई विज्ञानकै रूपमा अनुसरण गर्नुपर्ने हुन्छ। यो निरन्तर गति परिवर्तनको प्रवाहको रूपमा नै हामीले विकाशलाई बुझ्नुपर्दछ र हामीले परिस्थितिको विश्लेषण गर्ने या विचारलाई केन्द्रित गरेर त्यसलाई परिमार्जन गर्ने, सबै कुरामा पनि परिवर्तनको प्रवाहका सबै आयामहरूलाई हामीले हेर्नुपर्ने हुन्छ भनेको हो। सधैँ एकैठाउँमा रहँदैन। रूपहरू परिवर्तन हुन्छन् भनेको हो। लेनिनको यो भनाइमा पनि धेरै थोरै ध्यान दिन अनुरोध गर्न चाहन्छु। ठोस बस्तुको ठोस विश्लेषण, मार्क्सवादको जीवित आत्मा।

पछि चीनको लामो लडाइ, वर्ग संघर्षको क्रममा माओले को हो त आखिर सही कुरा क्रान्तिको लागि ? भन्दा उहाँले विचारधारात्मक र राजनीतिक कार्यदिशा भन्नुभयो। विचारधारात्मक राजनीतिक कार्यदिशा सही छ भने नभएको चिज पनि प्राप्त हुन्छ। विचारधारा र राजनीतिक कार्यदिशा गलत छ भने प्राप्त भएको चिज पनि गुम्छ। यो भनाइलाई पनि अहिले ‘समाजवादी क्रान्ति : अवसर र चुनौती’ जो अन्तरक्रिया राख्नु भएको छ, यसमा यी कुरा सामान्य कोटेशन मात्र हुँदा हुँदै पनि हामी सबैको लागि गाइडलाइन हुन सक्छन्। अहिलेको समाजवादी कम्युनिस्ट आन्दोलनमा देखा परेका चुनौती र अवसरको सन्दर्भमा पनि हुन भन्ने पनि मलाई लाग्छ।

मेरो चिन्ता कहाँ छ भने अघि घनश्याम जीले बढो सचेत ढंगले भन्नुभयो। म लाई गर्व महसुस पनि भयो। एमालेमा के समस्या छ ? या माओवादी कस्तो समस्यातिर जाँदैछ भन्ने कुराको सन्दर्भमा उहाँले जे कुरा राख्नुभयो- हामी अब बिस्तारै रूढिवादी हुँदै छौं, एमाले रूढिवाद, माओवादी रूढिवाद। अब एमाले र माओवादी मार्क्सवादलाई जीवितिरुपमा विकशित गर्ने, परिमार्जन गर्ने र क्रान्तिलाई निरन्तर अगाडि बढाउने सर्वहारा वर्ग श्रमजीवी जनताको जीवनमा आमूल परिवर्तन ल्याउने साधन भएनन्। यी केही फेजहरु, केही नाराहरू चाहिँ दोहोर्‍याइ राख्ने र त्यसैको आधारमा चाहिँ आफ्नो जीविका चलाउने जस्ता रूढिवादी संस्था भए। एमाले एउटा रूढिवाद हो भन्ने लाग्छ र माओवादी अर्को रूढिवाद बन्दैछ भन्ने लाग्छ मलाई। उहाँले ठिकै भन्नु भयो। मदन भण्डारी भनेपछि अरू भन्ने नपर्ने, पढ्न नि नपर्ने, लेख्न नि नपर्ने, बहस गर्न नि नपर्ने।

अब हामी कहाँ अलि अलि प्रचण्ड भनेपछि धेरै चिज हुन्छ भन्याजस्तो प्रवृत्ति छ। त्यो पनि मलाई सही प्रवृत्ति हो भन्ने नै लाग्दैन। या माओवाद या माओवादी भनेपछि पुग्यो। पहिचान भयो त्यो र हिजोको इतिहासको व्याज खानेतिर। हिजो मदन भण्डारीले एउटा परिस्थितिमा समाजवादी क्रान्तिले नराम्रोसँग धक्का खाएको परिस्थितिमा कम्युनिस्ट आन्दोलनलाई कसरी बचाउने होला भन्ने सन्दर्भमा बढो रणनीतिक रूपमा भन्नुहोस् वा जे भने पनि भनेको कुरालाई मन्त्र बनाएर, त्यसैलाई सिद्धान्त बनाएर, त्यसैलाई घोकेर, भनेर भोट माग्ने, यो मार्क्सवाद होइन। यो रूढिवाद हो।

अब २१ औँ शताब्दीको जनवाद वा माओवाद या प्रचण्ड भनेर आफ्नो जीविका चलाउने, चुनाव जित्ने, त्यसलाई लुछेर, कोपरेर हो/होइन, त्यो साँच्चै हो कि होइन, त्यो तिर समालोचनात्मक ढंगले हेर्नुको सट्टा त्यही जपेर बस्ने, यो त ठ्याक्कै त्यस्तै भयो नि वौद्धभिक्षु रहेसम्म घण्टी बजाउने हो, घण्टी बजा छ हिँड्या छ। मेरो चिन्ता चाहिँ वास्तवमा एमाले माओवादी र अरूहरू पनि छन्, पुरा केही कम्युनिस्ट नेताहरू। सबै रूढिवादी हुँदै गएको देख्छु म चाहिँ।

कहिले काहीँ रूढिवाद भनेको कतिपयले अल्लि राम्रो हो कि भन्ने पनि गर्छन्। होइन, रूढिवाद बढो खतरनाक चिज हो। त्यसले विकाशलाई, गतिलाई, सिर्जनालाई, समृद्धिलाई सबै चिजलाई रोक्छ। त्यस कारण त्यसका विरुद्ध संघर्ष अनिवार्य छ। मैले भन्नुपर्दा खेरि हामीले मार्क्सवादी कोणबाट समाजवादप्रति इमानदार भएर अगाडि बढ्ने कुरामा सबैभन्दा पहिलो कुरा फेरि पनि विचारधारात्मक र राजनीतिक रूपले विषय वस्तुलाई स्पष्ट गर्नु, त्यसको आधारमा संघर्ष संगठित गर्नु, पार्टीभित्र पार्टी बाहिर सबैतिर। किनभने विचारमा देखा पर्ने रूढि, अवैज्ञानिक जडता या अवसरवाद, विसंगति, विकृति। यसलाई राजनीतिक अर्थशास्त्रको भाषामा भन्ने हो भने दलाल पूँजीपति र नोकरशाही पूँजीपतिहरुको अगाडि आत्मसमर्पण गर्ने र आफूलाई त्यसैमा विलीन गर्ने प्रवृत्ति भने पनि हुन्छ। त्यो प्रवृत्तिसँग विचारधारा र राजनीतिक कार्यदिशाका सन्दर्भमा निर्णायक संघर्ष गर्न आट गरिएन भने हाम्रा सबै व्याख्याहरू व्यर्थ मात्र हुन्छन्। मार्क्सले भनेको जस्तै, व्याख्या त राम्रो गरियो तर परिवर्तनमा योगदान एकदम कम हुन्छ। म के भन्छु भने, मैले जसरी मार्क्सवाद बुझे, चाहे त्यो पञ्चायत विरोधी आन्दोलनको समयमा होस्, कम्युनिस्ट आन्दोलनभित्र दायाँ र बायाँ विचलनका विरुद्ध जडसुत्रतावाद, संकीर्णतावाद र अनुभववाद विरुद्ध संघर्षका क्रममा होस् या पञ्चायती निरंकुशता विरुद्ध वर्ग संघर्षको क्रममा होस्। मैले कहिल्यै पनि आफूलाई ‘रूढि’मा रहन दिन चाहिन् र अहिले पनि चाहन्न। म सबै कमरेडहरूलाई यो विषयमा गम्भीर रूपले विचार गरिदिन अपिल पनि गर्न चाहन्छु। मैले एउटा सानो समूहको प्रमुख हुने बित्तिकै त्यो समूह विघटन गरेर तुरुन्तै एकता केन्द्र बनाउने पहल गरेको सही हो कि गलत हो ? पाँच वर्ष एकता केन्द्र भित्र संसदीय संघर्ष गरिसकेपछि अब यो संसदभित्रबाट जनताको जीवनमा, राष्ट्रको जीवनमा कुनै खास परिवर्तन सम्भव छैन भनेर विद्रोह गरेर, माओवादी बनेर विद्रोहमा जाँदा या त्यो विद्रोहलाई एउटा चरणमा पुर्‍याइसकेपछि अब योभन्दा बढी जाँदा ठुलो क्षति देशलाई र कम्युनिस्ट आन्दोलनलाई हुनसक्छ भन्ने निष्कर्ष सहित १२ बुँदे समझदारीमा आउँदा या शान्ति सम्झौतामा आउँदा र फेरि एकीकृत पार्टी बनाउँदा र पछिल्लो चरण अब हामी केही वर्ष प्रतिस्पर्धाको बाटो हिँड्नु पर्ने, शान्तिपूर्ण बाटो हिँड्नुपर्ने यद्यपि वर्ग संघर्षले निर्धारण गर्न कति बेला कुन बाटो अपनाउनु पर्छ भन्ने कुरा।

अघि मैले लेनिनको ठोस बस्तुको ठोस विश्लेषण नै मार्क्सवादको आत्मा हो भन्ने कुरालाई कोट गरे। यो त विभिन्न हुन सक्छ। तर जे भए पनि अहिलेको स्थितिमा हामी जाने बाटो भनेको समाजवादको बाटो हो। सामाजिक न्याय सहितको र त्यसको निम्ति उर्वर रहेको कम्युनिस्ट आन्दोलन। जे भए पनि जनतामा कम्युनिष्टहरुले राम्रो गर्छन्। यसमा पनि म घनश्याम जीलाई कोट गर्न चाहन्छु। उहाँले जे भन्नुभयो राष्ट्रियताको लडाइ या जनतन्त्र, लोकतन्त्रको लडाइ या जनजीविकाका मुद्दाहरू उठाउने सन्दर्भमा कम्युनिष्टहरुले लामो समयदेखि खेलेको भूमिकाकै कारणले कम्युनिस्ट आन्दोलन जनतामा लोकप्रिय छ। यो लोकप्रिय भएको आन्दोलनलाई एकीकृत गरेर वैचारिक बहसद्वारा रूपान्तरण गर्ने, परिवर्तन गर्ने मनसायले नै मैले वामगठबन्धन भनेको थिएँ। मैले कम्युनिस्ट पार्टीको एकताको कुरा गरेको थिए भन्ने मेरो विश्वास छ। त्यही भनेर गरेको थिए। सिधै भनौं भने कमरेड घनश्याम भुसाल जस्ता साथीहरूको वैचारिक छलफल, बहस सबै हेरिसकेपछि त्यस्ता धेरै साथीहरू लामो अनुभव भएका नेता कार्यकर्ताहरूको विशाल पंक्तिलाई हेरेर एउटा राम्रो विचारधारात्मक ध्रुवीकरण र रूपान्तरण सम्भव छ भनी ठानेर मैले व्यक्तिगत रूपमा पाउने पद प्रतिष्ठा त्यागेर आएको हुँ भन्ने मेरो दाबी छ। र यो मेरो इमानदार दाबी हो र ऐतिहासिक सन्दर्भमा आफूले खेलेको भूमिकाको कारणले पनि मैले यो दाबी प्रस्तुत गर्नुपर्छ भन्ने मलाई लागिरहेको छ। मैले उहाँहरूलाई हेरेरै हो।

केपी ओलीसँग सहमति भएको थियो। सम्झौता भएको थियो। त्यो सहमति सम्झौतामा हामीले आत्मसमर्पण कसैले पनि गरेका थिएनौं। बरु कम्युनिस्ट आन्दोलनलाई समृद्ध बनाएर लैजाने थियो। पार्टी एकता हुनु अगाडि नै कमरेड घनश्याम लगायतका साथीहरूले मार्क्सवाद सम्बन्धी केही कार्यक्रममा मलाई वक्ताको रूपमा बोलाउनु भएको थियो। मैले त्यहाँ भनेको पनि थिए र हाम्रो विचार र स्प्रिटमा समानता देखेपछि म निकै उत्साहित पनि थिए। र हामी अगाडि गयौं। म यो पनि भनौं, कम्युनिस्ट आन्दोलनमा जब केपी ओलीमा अन्ततः दलाल पूँजीवाद अगाडि आत्मसमर्पण, नोकरशाही पूँजीको अगाडि अथवा नेपालको भूराजनीतिक स्थितिमा विदेशी प्रतिक्रियावादी शक्तिको अगाडी घुँडा टेक्ने प्रवृत्ति देखियो र आफ्नै मित्रहरूलाई दुश्मन देख्ने र निषेध गर्न खोज्ने प्रवृत्ति, जालझेल, षड्यन्त्र, भ्रष्टाचार यी सबै चिजको संकेन्द्रण उनमा देखिएपछि हामी नै हो यो प्रवृत्तिका विरुद्ध संघर्ष गर्नुपर्छ भनेको।

म यहाँ निर स्मरण गर्छु- कमरेड घनश्याम र म नै हो केपी ओलीसँग अब तिमिसँग नहुने भयो भनेर उठेर हिँडेर आएर उहाँहरूले राजीनामा दिनुभयो। म १९ पेजको डकुमेन्ट लेख्न तिर लागे। हामी सबैको हो त्यो डकुमेन्ट। हामी सबैले भनेको हो। केपी ओलीको प्रवृत्ति प्रतिक्रान्तिकारी हुँदै गयो। प्रतिगमनकारी हुँदै गयो। राष्ट्रको निम्ति, लोकन्तको निम्ति यो भयानक क्षति हुँदैछ भनेर हामीले विद्रोह गर्‍यौं वैचारिक ढंगले, सांगठनिक ढंगले पनि। तर हामीले गरेको विद्रोह पराजयको निम्ति गरिएको थिएन। हामीले विचारधारात्मक, राजनीतिक, सांगठनिक सबै हिसाबले कम्युनिस्ट आन्दोलनको रक्षा, यसलाई कसरी क्रान्तिकारी दिशा दिने, थुप्रै विसंगति, थुप्रै कम्जोरीहरु सबै तिर देखा पर्न थाल्या छन्। यसलाई कसरी रोक्ने भन्दा एक पटकमा त एउटा प्रिन्सिपल हुन्छ। सबैतिर हान्न खोजेर हुने कुरा पनि होइन यो फेरि। एक पटकमा एउटा मुक्काले एकतिर हान्न खोज्दा मात्र तागत पुग्छ र परास्त गर्न सकिन्छ भन्ने मान्यता अन्तर्गत थियो त्यति बेला। किनभने त्यो नेपाली कम्युनिस्ट आन्दोलनको र समाजवादी आन्दोलनको निम्ति थियो। पहिलो बजेट देखि लास्टसम्म केपी ओलीले जुन आर्थिक दृष्टिकोण अघि सारे त्यहाँ समाजवादको कहीँ कतै गन्दै देखिएन। त्यहाँ पुरैकै पुरै दालाल पूँजीवाद, नोकरशाहि पूँजीवाद, भ्रष्ट र विकृत मान्यता देखिएपछि र विधि विधान र पद्धतिप्रति, मार्क्सवादी पद्धतिप्रति उहाँको अरुचि, मार्क्सवादको अध्ययन, मनन, चिन्तन, बहसप्रति उहाँको अरुचि अहिलेसम्म आउँदा त्यो त प्रस्ट भयो नि। पशुपतिमा गएर जलहरी चढाउने देखि माडिमा लगेर हनुमान सिता र राम राख्ने देखि अहिले विदेशीको अगाडि आत्मसमर्पण गर्ने सबै गतिविधि र संविधान, लोकतन्त्र आधारभूत मान्यताहरूलाई कुल्चिने जो नंगन प्रवृत्ति देखा पर्‍यो यसले त हामीले विद्रोह वैचारिक ढंगले गरेको विल्कुल सही रहेछ भन्ने प्रमाणित भयो नि। तर यसबाट कतिपय साथीहरू चिन्तित छन्, कतिपय साथीहरू अलिकति निराश भएको देखिन्छन्। म चाहिँ त्यस्तो हुनुहुँदैन भनी ठान्छु। कतिपय साथीहरूले यो कम्युनिस्ट आन्दोलनको एकता गर्ने, वामगठबन्धन गर्नु नै गल्ती भएको रहेछ भन्छन्। म विल्कुल त्यो विचारलाई गलत ठान्छु।

हामीले नेपालमा वामगठबन्धन गर्नु, कम्युनिस्ट आन्दोलनलाई एकीकृत बनाएर अगाडी जान पहल गरेर अगाडि जानु विल्कुल सही थियो। अहिले पनि सही छ। हामी कहाँ अहिले पनि कम्युनिस्ट आन्दोलनप्रति जनतामा जति जति तल गयो उति उति मनोबल अथवा उनीहरूको आकर्षण घटेको छैन। जति जति मध्यम वर्गतिर या पार्टी आन्दोलनका पनि मध्यम स्तरका र माथिका नेताहरूमा निराशा देखिन्छ। तर जनताले अझैं पनि आस मारेका छैनन्। मैले के भन्नु छ भने नेपालमा कम्युनिस्ट आन्दोलनको एकता वैचारिक बहस, वैचारिक ध्रुवीकरण र वैचारिक रूपान्तरण यी चिजहरूको निम्ति हामीले साहस गर्नै पर्छ। हामीले आट गर्नै पर्छ भन्ने म ठान्छु। त्यसो गर्दा हामी रूढिबाट मुक्त हुनै पर्छ। एमाले रूढि माओवादी रूढि अर्को के रूढि अर्को के अहिले त्यो त्यति धेरै महत्त्वपूर्ण बहस गर्नुपर्ने छैन। एमाले र माओवादी भत्काउने कसरी भनेर सोच्नु नै आजको मार्क्सवाद हो। एमाले भत्काउनु पर्छ र माओवादी पनि भत्काउनु पर्छ। यसलाई नयाँ सजीव, जिवनत वर्ग संघर्षको एउटा साधनको रूपमा हामीले यसलाई विकशित गर्नु छ। अहिले जुन चुनौती भनेर तपाईंहरूले राख्नु भएको छ, मेरो विचारमा यही मुख्य चुनौती हो। विचारको आधारमा पोलोराइज हुने, पुरानालाई भत्काइ दिने, नयाँ निर्माणको निम्ति आँट गर्नैपर्छ। मैले त जीवनमा आफैले भोगे- हामी खासै महत्त्वको पार्टी, खासै स्थापित नेता त थिएनौं। तर दुनियाँ बदल्ने आट गरेर विद्रोहमा जाँदा त १० वर्षमा काया पलट हुँदो रहेछ नि त। किन डराउने, किन निराश हुने ?

हामी कहाँ हजारौं त्यस्ता नेता कार्यकर्ताको जमात छ। जहाँ जो साँच्चै कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित गर्न, पुनर्संगठित गर्न, वर्ग संघर्षलाई फेरि नयाँ सिराबाट अगाडि बढाउन चाहन्छन्। र त्यसप्रति इमानदार जनता छन्। राष्ट्रिय भावना, देशभक्ति जनताको नसा नसामा रगत रगतमा भरिएको छ नेपालीहरूको। त्यसलाई हामी सदुपयोग गर्छौं, गर्न सक्छौं, गर्दै आएका पनि छौं। संसदीय रूढिवाद भनेर अघि घनश्याम जीले राखेको कुरामा म पुरै सहमत छु। यो संसदीय रूढिवादले हामीलाई कहीँ पनि पुर्‍याउँदैन, हामीलाई भासिँदै जाने बनाउँछ। यो भाषबाट कसरी निस्किने ? निस्किने भनेर अहिले नै आत्तिएर एकदम मनोगत ढंगले जान खोजे पनि हुँदैन। त्यसको वैज्ञानिक समाधान हामीले खोज्नु छ। बस्तुवादी समाधान खोज्नु छ। त्यो चाहिँ हामीले आपसमा छलफल गरेर, समान विचार र समान मान्यता भएकाहरूको बोडराइजेसन् बाट मात्र सम्भव छ।

म फेरि पनि भन्छु, मैले नेपालको कम्युनिस्ट आन्दोलन र राष्ट्रिय राजनीतिमा मेरो नेतृत्वमा केही योगदान भएको छ भने पुरानो भत्काउने नयाँ बनाउनेबाटै भएको हो। पुरानोमा म एमाले भए, एमाले भएसम्म घण्टी बजा छ, बजा छ। मदन भण्डारीको नाम जपेको छ, बहुदलीय जनवादको नाम जपेको छ, भोट मागेको छ, पार्टीभित्र पनि विसंगति बाहिर पनि विसंगति यो भत्काइदिनु पर्छ। अहिले माओवादी पनि त्यही एमालेको बाटोमा छ भन्न मलाई केही अप्ठेरो छैन। बिस्तारै माओवादीका नेता कार्यकर्ताहरू पनि त्यस्तै त्यस्तै हुँदै अब जाने खतरा भएकै छ। त्यसकारण एमाले रूढिवाद, एमालेको जडता र दलालहरूका अगाडि आत्मसमर्पण गर्ने अनावश्यक प्रवृत्तिसँग या माओवादी भित्रकासँग त्यो संघर्ष गर्ने आटसहित मार्क्सले भनेको जस्तो फेरि दुनियाँ बदल्ने तिर जान जरुरी छ। त्यसरी हेर्दा खेरि नेपालमा अझै पनि अवसर छ। चीन र भारतको बिचमा हुनु चुनौती पनि हो। अवसर पनि हो। हामी झण्डै तीन अरब मानिसहरूको बिचमा छौं। त्यसकारण हामी संसारभर देखिन्छौं। हामी सगरमाथामा छौं, त्यसकारण देखिन्छौं। हाम्रो आफ्नै ऐतिहासिक विरासत छ, त्यसकारण पनि देखिन्छौं। हामीले यो रूढिवादका विरुद्ध बाटो खोज्ने स्टेप स्टेपमा जाऔं भन्नेमा मेरो विमति हुँदैन। हतारमा हठात् गर्ने पनि होइन।

अहिले के हो त भन्दा, एउटा त वैचारिक राजनीतिक ध्रुवीकरण गराउने र फेरि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने हो। केपी प्रवृत्तिमाथि विजयी हासिल गर्दै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने, केपी प्रवृत्तिमा भ्रममा भएका कयौं साथीहरू छन्। तिनीहरूलाई पनि बहस, छलफल, अन्तरक्रियाद्वारा स्पष्ट गर्ने बल पनि गर्ने हो। जो पहिला वैचारिक ढंगले, राजनीतिक ढंगले ब्युँझ्यो त्यो उठेर हिँड्न सुरु गर्न पर्‍यो। अरू अन्य केही समय निधाउँदै गर्छन्। उनीहरूलाई उठ्न ढिलो हुन्छ। बिस्तारै उठाउँला। उठेपछि उनीहरू पनि हिँड्छन्। अहिले केपीको सत्ताको सपनामा लट्ठिएर केही मानिसहरू मस्त निद्रामा छन् जस्तो लाग्छ। बढो मिठो निन्द्रामा, अब तिनलाई अहिले के गरी ब्युँझाउने ? अहिले जो ब्युँझ्यो त्यो उठेर हिँड्न थालेपछि अरुपनि बिस्तारै ब्युँझिने क्रम हुन्छ र ब्युँझिँदै उठ्दै गर्छन् र कम्युनिस्ट आन्दोलन नयाँ सिराबाट एकताबद्ध हुन्छ। वैचारिक ध्रुवीकरण, रूपान्तरण र ब्युँझिएका जति उठेर हिँड्ने नगरीकन हुँदैन।

म कहिल्यै काहीँ पुरानो पिँढीका केही नेता साथीहरूको चरित्र देखेर आश्चर्य पर्छु। मलाई ठिक हो विद्रोह गर्नुपर्छ भन्नुभयो। १९ पृष्टको डकुमेन्ट सबैभन्दा पहिला वामदेव गौतमलाई सुनाएको थिए। उहाँले क्या राम्रो लेख्नु भएछ कमरेड। ल बधाई छ तपाईंलाई, सानदार गर्नुभयो भन्ने मान्छे अहिले हेरौं त! म बढी त भन्दिन, मैले माया गरेको मान्छे हो वामदेव जी। अब के गर्ने, अस्तिसम्म ल हुँदैन है यो प्रवृत्तिलाई जसरी पनि परास्त गर्नुपर्छ। काँग्रेसले बरु संविधानको रक्षा गर्ने भन्यो, गणतन्त्रको रक्षा गर्ने भन्यो भन्ने साथी आज हेर्नुहोस् त। विचारधारामा यो भन्दा ठूलो विचलन, विसंगति अरू केलाई भन्ने ? त्यसकारण म के ठान्छ भन्दा यो चुनौती त हो हाम्रो अगाडि छ। यसको आयाम धेरै छन् भन्ने घनश्याम जीको व्याख्या बिलकुल सही छ। त्यसको अन्तर्राष्ट्रिय, राष्ट्रिय, क्षेत्रीय, हाम्रो भूराजनीति अवस्थितिको आयाम, हाम्रो ऐतिहासिक पृष्ठभूमि राजनीतिक सांस्कृतिक सामाजिक बनोट यी सबै आयामहरू छन्। तर ती सबैको बीचबाट पनि जति बेला चुनौती हुन्छन्, चुनौतीभित्र अवसर हुन्छ।

अवसर भित्र चुनौती पनि हुन्छ। हामीले यो कुरा कहिल्यै बिर्सन हुँदैन। समाजमा मानिसहरू कहिले कहीँ अलि बढी अतिभूतवादी हुने गर्छन्। फेरि हाम्रो समाजमा आफूले दुख गरेर, मेहनत गरेर प्रगति गर्नेतिर भन्दा ढुंगा पुजेर, मन्दिरमा गएर ढोग गरेपछि हुन्छ। भाग्य पुनर्जन्म के के आदि इत्यादिमा शक्ति पूजावादी, कुनै शक्ति भगवान् आइदिन्छन्, गरिदिन्छन् भन्ने हाम्रा थुप्रै लोककथाहरू त्यस खालका छन्। त्यसबाट बनेको मनोविज्ञान र मानसिकता हाम्रो समाजमा छ। उनीहरू वीर पुरुष, कुनै महापुरुष या कुनै त्यस्तो शक्ति पैदा हुन्छ र त्यसले गर्छ भन्ने ठान्छन्। उनीहरू कहिलेकाहीँ केपी ओली पो शक्ति हो कि भनी ठान्छन् क्षेणीक रूपमा। तर त्यो होइन। शक्ति भनेको सत्य हो, विज्ञान हो। सच्चाइ नै शक्ति हो। सही कुरा नै शक्ति हो। त्यसकारण मैले सुरुमा भनेका केही कोटेशन र त्यसभित्रको मर्मलाई विचार गरिदिन अपिल गर्छु।

यो संसदीय व्यवस्थाबाट हुन्छ भन्ने भ्रमबाट कम्युनिस्ट आन्दोलनलाई कसरी निकाल्ने हो ? यो ठूलो भ्रम हो। यो भ्रमबाट कम्युनिस्टलाई कसरी बचाउने, समाजलाई कसरी बचाउने भन्ने नै आजको चुनौती हो। यो चुनौती र बुझाइभित्र अवसर छ। हामी दुनियाँ बदल्ने तिर र रूपान्तरण गर्ने तिर, ध्रुवीकरण तिर जाने कुरामा जोड गरौं भन्ने मेरो अनुरोध छ ।

Source: cmprachanda.com


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.