Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

डेल्टा भेरियेन्टविरुद्ध जोन्सन एण्ड जोन्सनको सिंगो डोज खोप प्रभावकारी

0 97

२० असार, वासिङटन । जोन्सन एण्ड जोन्सनले निर्माण गरेको कोरोना भाइरस विरुद्धको खोपले कम्तीमा ८ महिनासम्म इम्युनिटी प्रदान गर्न सक्ने र अति संक्रामक डेल्टा भेरियेन्ट विरुद्ध पनि प्रभावकारी रुपमा सुरक्षा दिलाउन सक्ने अध्ययनमा पत्ता लागेको छ ।

जोन्सन एण्ड जोन्सन खोप, एउटा मात्र डोजको खोप हो ।

कम्पनीले बिहिबार राति यसबारे जानकारी दिँदै भनेको छ , “पछिल्लो ८ महिनाको अनुसन्धानपछि हाल प्राप्त डाटालाई हेर्दा जोन्सन एण्ड जोन्सनको सिंगो डोज खोपले शक्तिशाली एन्डिबडी उत्पादन गर्ने गरेको पत्ता लागेको छ जुन समयसँगै घट्दै जानुको सट्टा यसको प्रतिक्रियामा झन सुधार आउँदै जाने देखिएको छ । ”

यस रिसर्चका प्रमुख डाक्टर मेथाइ ममेनका अनुसार यो खोपको एउटा डोज लगाउँदा पनि लामो समयसम्म एन्टिबडीले प्रतिक्रिया जनाइरहन्छ र यसका साथै शरीरमा ‘टी–सेल्स’ नामक इम्युन सेल्स पनि विकसित हुन्छ जुन ८ महिनासम्म रहिरहन सक्छ ।

खोपको प्रारम्भिक ट्रायलमा २० जना स्वयंसेवकको रगत परीक्षण गरिएको थियो । हाभर्ड मेडिकल स्कुलका सहकर्मीहरुसँग मिलेर डाक्टर डान बरोकले सबै रगत जाँच गरेका हुन् । उनी भन्छन्, “यसको डाटा वास्तवमै उत्साहजनक र सुनिश्चितता दिलाउने किसिमको छ । डाटामा टि–सेल्सको प्रतिक्रिया अन्र्तगत ‘सीडी८प्लस टि–सेल्स’ ले भाइरसबाट संक्रमित सेललाई खोजेर नष्ट गर्ने गरेको देखाउँदछ र यो क्रम परीक्षण गरिएको ८ महिना भन्दा लामो समयसम्म जारी रहेको देखिएको छ । ”

एन्टिबडी र टी–सेल प्रतिक्रिया दुवै सुरक्षाका संकेतक भएको डाक्टर बरोकले बताए ।

दुईवटा डोजमा खोप दिइने फाइजर र मोडेर्नाले यसअघि आफ्नो सुईले कम्तीमा ६ महिना सुरक्षा दिलाउने बताएका थिए ।

यसमा बरोकको टिमले चिन्ताजनक भेरियेन्ट पत्ता लागेका मुलुकमा पनि परीक्षण गरेका हुन् । उनीहरुले भारतमा उत्पति भएको अति संक्रमक र खतरनाक मानिने डेल्टा भेरियेन्ट र दक्षिण अफ्रिकाको बेटा भेरियेन्ट विरुद्ध यसले कसरी काम गर्छ भनेर पनि अध्ययन गरेका थिए । यसबारे बरोकले भनेका छन्, “हामीले भेरियेन्टको असरलाई निर्मुल पार्न खोपले आक्रामक तरिकामा लगातार एन्टिबडि दिलाउने गरेको देख्यौँ ।”

कम्पनीका अनुसार डेल्टा सहित बेटा भेरियेन्ट, गामा भेरियेन्ट र अल्फा भेरियेन्ट विरुद्ध पनि यसले प्रभावकारी रुपमा काम गरेको छ ।

यसअघि कम्पनीले जोन्सन एण्ड जोन्सनको दोस्रो या बुस्टर खोप आवश्यक नपर्ने र सिंगो खोप नै पर्याप्त हुने पनि जानकारी गराएको थियो । सिएनएन


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.