Advertisement

अन्तिम मिनेटको गोलसँगै युक्रेन क्वाटरफाइनलमा

0 352

Advertisement

१६ असार, एजेन्सी । अतिरिक्त समयको दोस्रो हाफको इन्ज्युरी समयमा वैकल्पिक फरवार्ड आर्टेम दोभ्बिकले गोल गरेपछि युक्रेनले स्वीडेनलाई २-१ ले पराजित गर्दै युरोपेली च्याम्पियनसिपको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।

स्वीडेनले खेलको सुरुवाती मिनेटदेखि नै आक्रमण बुन्दै दबाब कायम गरेपनि सुरुवाती अग्रता लिन भने चुकेको थियो । एकपछि अर्को आक्रमणमा युक्रेनका डिफेन्स र गोलरक्षकले संयमित प्रदर्शन गरेपछि खेल बराबरीमा नै रहेको थियो । तर कप्तान यार्मालेन्कोको चलाखीपूर्ण मुभ युक्रेनले खेलको विपरित मोडमा अग्रता लियो । त्यसपछि पनि लगातार आक्रमण बुनेको स्वीडेनले पहिलो हाफको अन्त्यतिर फोर्सबर्गको गोलमा बराबरी गरेको थियो ।

दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयको पहिलो हाफमा स्वीडेन १० खेलाडीमा समेटिएपछि युक्रेनले खेलमा दबाब राख्ने अवसर पाएको थियो । दोस्रो हाफको इन्ज्युरी समयमा दोभ्बिकले गोल गर्दै युक्रेनलाई जित दिलाएका थिए । उनले जिन्चेन्कोको क्रसमा गोल गर्दै युक्रेनलाई पहिलो पटक क्वाटरफाइनलमा पुर्याएका थिए । अब युक्रेनले क्वाटरफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ ।

१८ औं मिनेटमा डेजान कुलुसेभ्सकीको क्रसमा अनमार्क रहेका एमिल फोर्सबर्गले राम्रोसँग हेडर प्रहार गर्न नसक्दा युक्रेनको खतरा टरेको थियो । लगत्तै एलेक्जेन्डर इसाकले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक बिट भएको अवस्थामा पोस्टभन्दा थोरैले बाहिरियो ।

खेलको २७ औं मिनेटमा युक्रेनले ओलेक्जान्दर जिन्चेन्कोको गोलमा अग्रता लियो । पेनाल्टी क्षेत्रको दायाँ भागबाट कप्तान आन्द्रे यार्मालेन्कोले आउटसाइड फुटबाट दिएको क्रसलाई बायाँ विंगबाट जिन्चेन्कोले गोल गरेका थिए । उनले पहिलो टचमा नै गरेको शक्तिशाली प्रहार गोलरक्षक रोबिन ओल्सनको हातमा लाग्दै गोल भएको थियो ।

२९ औं मिनेटमा स्वीडेनका कप्तान सबास्टियन लार्सनले चलाखीपूर्ण फ्रिकिक लिँदै सिधै गोलमा गरेको प्रहारलाई गोलरक्षक बुस्कानले मुस्किलले बचाए । ४२ औं मिनेटमा फोर्सबर्गले गोल गर्दै स्वीडेनलाई खेलमा फर्काए । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार डिफेन्डरलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।

६६ औं मिनेटमा गोलरक्षक बुस्कानले उत्कृष्ट बचाउ गर्दै खेल बराबरीमा कायम राखे । कुलुसेभ्सकीले पेनाल्टी क्षेत्रको दायाँ भागबाट गरेको प्रहारलाई उनले डाइभ दिँदै बाहिर पठाएका थिए । जवाफी कर्नरमा युक्रेनले काउन्टर अट्याक गर्दै राम्रो आक्रमण बुनेपनि कप्तान यार्मालेन्कोको अन्तिम प्रहार गोलरक्षक ओल्सनको हातमा टुंगियो ।

६९ औं मिनेटमा फोर्सबर्गको प्रहारमा क्रसबार लाग्दा स्वीडेन अघि बढ्न सकेन । उच्च लयमा रहेका फोर्सबर्गले तीन डिफेन्डरलाई छक्याउँदै पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहारमा गोलरक्षक बुस्कान बिट भएपनि क्रसबार बाधक बनेको थियो । त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

अतिरिक्त समयको ९९ औं मिनेटमा स्वीडेन १० खेलाडीमा समेटियो । युक्रेनका आर्टेम बेसेदीनलाई ट्याकल गरेपछि मार्कस ड्यानीएल्सनले रातो कार्ड पाएका थिए । उनले ट्याकल गर्ने क्रममा बल भेटेपनि सिधै बेसेदीनको घुँडामा लाग्दा रेफ्रीले भीएआरको सहायता लिँदै मैदानबाहिर पठाएका थिए ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.