०६ असार, एजेन्सी । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (आइतबार) दुई खेलहरु हुँदैछन् ।
युरोकपको समूह चरण अन्तर्गत आज समूह ‘ए’ को दुई खेल हुनेछ । जसमा इटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्की भिड्ने छन् । दुबै खेल एकै समयमा हुनेछ ।
रोममा घरेलु टिम इटालीले वेल्ससँग प्रतिस्पर्धा गर्नेछ । इटाली र वेल्सबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
आज इटाली लगातार तेस्रो जित निकाल्ने योजनामा रहेको छ । अघिल्ला दुई खेलमा जित निकालेको इटाली नकआउट चरणमा प्रवेश गरिसकेको छ । इटाली तेस्रो खेल जित्दै समूह विजेता बन्न चाहन्छ ।
इटालीले २ खेलमा ६ अंक जोडेको छ । र, शीर्ष स्थानमा रहेको छ । भने वेल्सले २ खेलमा ४ अंक जोडेको छ । वेल्स समूहको दोस्रो स्थानमा रहेको छ ।
स्वीजरल्याण्ड र टर्कीबीच दोस्रो खेल
यसै समूहको अर्को खेलमा स्वीजरल्याण्ड र टर्कीबीच खेल हुनेछ । बाकुमा हुने खेल राति ९:४५ बजे सुरु हुनेछ
आज स्वीजरल्याण्ड पहिलो जितको खोजीमा हुनेछ । यस्तै जित निकाल्दै स्वीजरल्याण्ड नकआउट चरणको ढोका खेल्न चाहन्छ । स्वीजरल्याण्ड २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
पहिलो खेलमा वेल्ससँग बराबरी खेलेको स्वीजरल्याण्ड दोस्रो खेलमा इटालीसँग पराजित भएको थियो ।
टर्की भने पहिलो अंकको खोजीमा हुनेछ । समूहको पुछारमा रहेको टर्कीले अंक जोड्न सकेको छैन ।