सरकारले निषेधाज्ञामा २० प्रतिशत छुटपछि पौनै २ करोड रुपैयाँ माथिको खाद्यान्न बिक्री
०४ असार, काठमाडौं । सरकारले निषेधाज्ञाको बेला २० प्रतिशत छुट दिएपछि पौनै २ करोड रुपैयाँको खाद्यान्न बिक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट्र ट्रेडिङ कर्पोरेसनबाट १ करोड ७३ लाख २५ हजार ५९ रुपैयाँ बराबरको खाद्यान्न बिक्री भएको हो । २१ असारदेखि दुई कम्पनीले २० प्रतिशत छुट दिएर खाद्यान्न बिक्री गरेका थिए ।
कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले ३१ असारसम्म १ करोड १७ लाख ५ हजार ५६ रुपैयाँ बराबरका ९ हजार ६ सय ४२ क्विन्टल खाद्यान्न बिक्री गरेको जानकारी दिए । छुट दिएपछि सामान खरिद गर्ने ग्राहकको भीडभाड लाग्ने गरेको उनको भनाइ छ । कम्पनीले प्रतिपरिवार ३० केजीको एक बोरा चामल र २ केजी सिमीमा छुट दिएको छ ।
कम्पनीले चामल र जुम्लाको सिमी बढी बिक्री गरेको जानकारी दिएको छ । जुम्लाको सिमी २ हजार १ सय ७८ क्विन्टल र दाल २ हजार १ सय ५२ क्विन्टल र बाँकी सबै चामल बिक्री भएको कम्पनीले जानकारी दिएको छ । अहिले कम्पनीसँग २ लाख ५८ हजार ८ सय ५४ क्विन्टल खाद्यान्न मौज्दात छ । जसमा एक लाख ७ हजार ५ सय ७७ क्विन्टल चामल, १ लाख ३९ हजार ७ सय ८४ क्विन्टल धान र ११ हजार ४ सय ९२ क्विन्टल गहुँ मौज्दात छ ।
जिल्लाबाट थप माग कति आउँछ त्यहीअनुसार कोटा बढाउन लागिएको कम्पनीले जानकारी दिएको छ । विभिन्न जिल्लामा बाढी पहिरोको आएकाले खाद्यान्नको माग आउनसक्ने भएकाले कोटा बढाउन लागिएको कम्पनीले जानकारी दिएको छ ।
यस्तै, साल्ट्र ट्रेडिङ कर्पोरेसनले ५६ लाख १९ हजार ४ सय ९३ हजार रुपैयाँ बराबरको खाद्यान्न बिक्री गरेको छ । कर्पोरेसनले ३ असारसम्म १९ हजार ५ सय १६ केजी नुन बिक्री गरेको छ । यस्तै २२ हजार ९ सय ४८ केजी चिनी बिक्री गरेको छ । यस्तै १० हजार ५ सय ७० केजी पिठो बिक्री गरेको छ । ९ हजार ७ सय ४३ लिटर भटमासको तेल र १ हजार ३ सय ९३ सिलिन्डर बिक्री गरेको कर्पोरेसनले जानकारी दिएको छ । खाद्यान्न खरिद गर्दा २० प्रतिशत छुट दिए पनि सवारीसाधन नचलेकाले उपभोक्तालाई खरिद गर्न बिक्री केन्द्रमा पुग्न समस्या परेको छ ।
यस्तै कर्पोरेसनले पाँचजनाको परिवारलाई एक महिनामा २ केजीको पिठो, २ केजी चिनी, २ केजी नुन, १ लिटरको भटमासको खाने तेल र एक सिलिन्डर ग्यास सहुलियदरमा उपलब्ध गराउने निर्णय भएको कर्पोरेसनका नायब महाप्रबन्धक कुमार राजभन्डारीले जानकारी दिए । उपभोक्ताले २० प्रतिशत छुटवापत पिठो प्रतिकेजी ४४, चिनी प्रतिकेजी ६३, नुन प्रतिकेजी १६, भटमासको तेल प्रतिलिटर १८८ र खाना पकाउने एसटीसी ग्यास ११ सय २० रुपैयाँमा बिक्री गरिएको छ । उपभोक्तालाई दिएको छुटवापतको रकममध्ये २० प्रतिशत कम्पनीले ८० सरकारले बेहोर्ने छ ।
यस्तै कर्पोरेसनले पाँचजनाको परिवारलाई एक महिनामा २ केजीको पिठो, २ केजी चिनी, २ केजी नुन, १ लिटरको भटमासको खाने तेल र एक सिलिन्डर ग्यास सहुलियतदरमा वितरण गरिरहेको कम्पनीले जानकारी दिएको छ ।