Advertisement

हचुवामा ‘जोखिम सूची’ निकालेर लगानीकर्तामाथि खेलवाड गर्ने सेबोनमाथि छानबिन

0 617

Advertisement

०२ असार, काठमाडौं । हचुवाका भरमा जोखिमयुक्त कम्पनीको सूची सार्वजनिक गरेर विवादमा तानिएको नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष र अन्य कर्मचारीमाथि छानबिन तथा कारबाही हुनुपर्ने माग लगानीकर्ताहरूले गरेका छन्।

गम्भीर अध्ययन र प्राविधिक विश्लेषणबिना जोखिम सूची निकालेर बोर्डले सर्वसाधारणको लगानीमाथि खेलवाड गरेको आरोप लगानीकर्ताले लगाएका छन्। सेबोनले मंगलबार आन्तरिक अध्ययनको हवला दिदै विभिन्‍न ५१ कम्पनीको सेयरमा लगानी गर्नु असुरक्षित हुने भन्दै उनीहरूलाई जोखिमको सूचीमा राखेको छ। सेबोनको जोखिम सूचीमा वित्तिय अनुशासन कायम गरेका र हरेक वर्ष लोभलाग्दो लाभांश वितरण गरेका उत्कृष्ट कम्पनी परेका छन्।

सेयर बजारमा चलखेल गर्न क्रियाशिल एउटा गिरोहको डिजाइनमा बोर्डले सूची तयार गरेको आरोप लगानीकर्ताले लगाएका छन्। यस बारेमा सेबोनले विज्ञहरूसँग छलफल तथा सम्बन्धित कम्पनीहरूसँग परामर्श गरेको छैन। बोर्डको यो कदमबाट नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) समेत स्तब्ध भएको छ। बोर्डले आफ्नो हैसियत बिर्सेर गलत कदम चालेको प्रतिक्रिया नेप्सेका अधिकारीले दिएको छन्। यसबारेमा अर्थमन्‍त्रालयले समेत गम्भीर चासो लिएको छ। पुँजी बजारको उत्साहपूर्ण माहोललाई बिथोलेर बजार घटाउने र राम्रा कम्पनीका सेयर सस्तो भाउ कब्जा गर्ने सुनियोजित योजनाअनुसार यो कदम चालिएको आरोप लागेको छ।

५१ कम्पनीलाई जोखिमको सूचीमा राखेर अनुसन्धान थालेको विज्ञप्ती जारी गर्ने सेबोन नै यतिबेला शंकाको घेरामा परेको छ र उसको यो विवादास्पद कदमबारे अर्थमन्‍त्रालयबाट छानबिन हुने भएको छ। अर्थमन्‍त्रालयका एक अधिकारीले भने, ‘यति ठूलो लगानीसँग जोडिएको यो प्रकरणलाई हामीले गम्भीर रुपमा लिएका छौं। यदि कतैबाट निर्देशित भएर हचुवाको भरमा यो कदम अघि बढाइएको छ भने यसबारेमा छानबिन हुन्छ र कारबाही हुन्छ।’

बोर्डले सूचना निकाल्‍नुअघि नै सूचना बाहिर चुहाएर चलखेल गरिएको बुझिएको छ। बोर्डको यो कदमको सबै लगानीकर्ताबाट तीव्र निन्दा र विरोध भएको छ। बोर्डको यो बदनियतपूर्ण कदमले सेयर बजारलाई खासै फरक नपर्ने आत्मविश्‍वास लगानीकर्ताहरूले सामाजिक संजालमा व्यक्त गरेका छन्।पहिले नै सेयर बेचेर बसेका एकथरी खेलाडीहरू बजार बुलिस ट्रेन्डमा दौडिन थालेपछि कुनै न कुनै बाहना निकालेर बजार घटाउने दाउ खोजिरहेका थिए। तीनै खेलाडीहरूसँगको मिलोमतोमा बोर्डले यस्तो डिजाइन रचेको आरोप सेयर बजार विज्ञ निर्मल श्रेष्ठ बताउँछन्। श्रेष्ठ भन्छन्, सेबोनजस्तो जिम्मेबार संस्थाले यस्तो हावादारी काम गर्न मिल्छ ? हचुवाको भरमा यस्तो हावादारी सूची निकालेर सेबोन आफै बद्‌नाम भएको छ। अर्थ मन्‍त्रालयले छानबिन गर्नुपर्छ।’

ब्लु चिप कम्पनीका रुपमा चर्चित र लगानीकर्ताले विश्‍वास गरेका र लाभांश वितरणको लोभलाग्दो इतिहास कायम गरेका नेपाल लाइफ, हिमालयन डिस्टीलरी, एशियन लाइफ, गुराँस लाइफजस्ता कम्पनीलाई पनि जोखिमको सूचीमा राख्‍नु हास्यासपद देखिन्छ।सेबोनले जोखिमको सूचीमा राखेका कतिपय कमजोर कम्पनीलाई हकप्रद जारी गर्ने अनुमति उसैले दिएको छ। जोखिमयुक्त थिए भने हकप्रदको अनुमति दिएर सर्वसाधारणको करोडौं रकम जोखिममा पार्ने काम किन नराकेको भनी लगानीकर्ताहरूले उल्टै सेबोनलाई प्रश्‍न गरेका छन्।

सेयर बजारका अनुभवी लगानीकर्ता रोशन महासेठ लगानीकर्ताको नजरमा सेबोनको साख गिरेको बताउँछन्। महासेठ भन्छन्, ‘दुनियाँमा कहीं पनि नियामक संस्थाले कुन कम्पनीमा लगानी गर कुन कम्पनीमा नगर भनेर भन्दैन। यो उसको अधिकार क्षेत्रको विषय नै होइन। अझै नामै तोकेर यसरी लिस्ट सार्वजनिक गर्नु र यी कम्पनीमा लगानी असुरक्षित हुन्छ भन्‍नु सेबोनको केटाकेटीपना मात्र होइन, अक्षम्य गैरजिम्मेबारी हो।”

अर्का लगानीकर्ता विवश पाण्डेले भने, ‘सेबोनले यो कदम सच्चाएन भने लगानीकर्ताहरू सेबोन घेराउ गर्न जानेछन् र सेबोन खारेजीको आन्दोनलन हुनेछ।’ पाण्डे सेबोनले तुरुन्त आफ्नो गल्ती सच्चाएर लगानीकर्ताहरूसँग माफी माग्‍नुपर्ने बताउँछन्।

बजार घट्नुपर्ने कारण छैन

पछिल्लो समय सेयर बजारमा गजबको माहोल देखिएको थियो। लगानीकर्ताको आत्मविश्‍वासका कारण राजनीतिक अन्योलबीच सेयर बजार चम्किएको थियो। बजारको यो उत्साह विथोल्‍ने प्रयास अभिभावकको भूमिकामा रहेको सेबोनबाटै भएको आक्रोश लगानीकर्ताले व्यक्त गरेका छन्।

पछिल्ला दिनमा नेप्से सूचकमा वृद्धिसँगै कारोबार समेत चमात्कारिक वृद्धि भएको थियो। करिब २० अर्बसम्मको कारोबार भएर नयाँ रेकर्ड कायम भएको थियो भने बजार पनि ती हजार माथि पुगेर ऐतिहासिक उचाइ कायम गरेको थियो।

जेठपछिको समय सेयर बजारका लागि ग्रिन सिजन मानिन्छ। अहिले बजार घट्नुपर्ने कुनै पनि कारण नभएको विज्ञहरू बताउँछन्। वित्तिय प्रणालीमा पर्याप्त तरलता, अनुकुल ब्याजदर, सेयर कर्जाको सुलभता, ब्रोकर कमिशनको कटौती, र पुँजी बजारको प्रणालीमा भइरहेको निरन्तर सुधारले गर्दा सेयर बजार ‘बुलिस रन’ मा अझ् अघि बढ्ने विश्‍वास लगानीकर्ताहरूको देखिन्छ।

कोरोनाको बढ्दो जोखिम तथा निरन्तरको राजनीतिक अस्थिरताका कारण लगानीका अरु क्षेत्र खुम्चिँदै गएकोले लगानीकर्ताहरू पुँजी बजारतिर बढी आकर्षित भइरहेका छन्। जेठदेखि मंसिरसम्मको अवधिलाई सेयर बजारका लागि ग्रिन सिजन मानिन्छ। बजेट आएको बेला बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ। कोरोना जोखिमका कारण लगानीका अरु क्षेत्र खुम्चिँदै गएको अवस्था र अहिले नै ठूला परियोजनामा लगानी गर्ने वातावरण नभएकोले ठूला साना लगानीकर्ताहरू सेयर बजारतिर आकर्षित भएका छन्। बजारमा लगानीयोग्य पैशा प्रशस्त छ। त्यहीं पैसा यतिबेला सेयर बजार ओइरिएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.