Advertisement

कांग्रेसको १४औं महाधिवेशन भदौमा पनि कठिन

0 552

Advertisement

२७ जेष्ठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन भदौभित्रै गर्ने प्रतिबद्धता जनाएका छन्। तर कोरोना भाइरसको बढ्दो संक्रमण र पार्टीभित्रको तयारी हेर्दा भदौमा महाधिवेशन सम्भव देखिएको छैन।

महाधिवेशनका विषयमा आशंका बढ्दै गएपछि सभापति देउवाले बुधबार विज्ञप्ति नै जारी गरेर भदौमै महाधिवेशन गर्ने दोहोर्‍याएका छन्। ‘म देशभरिका पार्टीका सम्पूर्ण साथीहरूलाई स्पष्टताका साथ भन्न चाहन्छु- २०७८ साल भदौ महिनामा पार्टीको महाधिवेशन हुन्छ। म यसमा पूर्ण प्रतिबद्ध छु,’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषयमात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जीवन्तताका लागि महायज्ञ हो भन्ने मैले राम्ररी बुझेको छु।’

पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउन खोजिएको भन्दै देउवाले असन्तुष्टि जनाएका छन्। ‘महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्नु हुँदैन। बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्य मिलेर सम्पन्न गर्ने कार्य हो,’ देउवाले भनेका छन्, ‘यसका लागि सबै जिम्मेवार हुनुपर्छ।’ असार र साउन दुई महिनाभित्र महाधिवेशनका लागि सबै तयारी गर्नुपर्ने भन्दै उनले महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमै गरिने जनाएका छन्।

तर महाधिवेशनको तयारीमा जुट्नुपर्ने पार्टीका शीर्ष नेताहरू नै भदौमा महाधिवेशन गर्न नसकिने जनाउँदै विकल्प खोज्न अनौपचारिक छलफलमा जुटेका छन्। महाधिवेशनको पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यता विवाद टुंगो लगाउन लाग्नुपर्ने नेताहरू नै त्यसमै अड्को थापिरहेका छन्। जसले गर्दा बारा, बर्दिया, सप्तरी, भोजपुर, सिन्धुपाल्चोकसहितका कतिपय जिल्लामा अझै क्रियाशील सदस्यता वितरण र नवीकरणको काम अघि बढ्न सकेको छैन।

अहिलेसम्म ४ लाख १९ हजार ९ सय ३९ नयाँसहित ८ लाख ३ सय १७ जनाले क्रियाशील सदस्यताका लागि आवेदन दिएका छन्। सदस्यता छानबिन समितिले त्यसको अन्तिम टुंगो लगाउने प्रक्रिया अझै थालेको छैन। महाधिवेशनको कार्यतालिकाअनुसार यसअघि नै सदस्यता छानबिनको काम टुंगो लागिसक्नुपर्ने थियो। अहिलेसम्म सदस्यता छानबिनको काम ठोसरूपमा अघि बढ्न सकेको छैन।

नेता रामचन्द्र पौडेलसहितका संस्थापन इतर पक्षका नेता भने कुनै पनि हालतमा महाधिवेशन गर्नुपर्ने भन्दै नेतृत्वमाथि दबाब बढाउन थालेका छन्। जुनकुनै हालतमा पनि भदौभित्र महाधिवेशन गर्नुपर्ने बताउँदै नेता पौडेलले भने, ‘भदौभित्र कांग्रेस महाधिवेशन अनिवार्य छ। महाधिवेशन नगरे कांग्रेस सकिन्छ।’

जतिसक्दो छिटो क्रियाशील सदस्यता टुंगो लगाएर महाधिवेशनको तयारीमा जुट्नुपर्ने भन्दै पौडेलले थपे, ‘विवादका कारण कहीं कतै क्रियाशील सदस्यता वितरण अड्किएको छ र टुंगो लाग्ने अवस्था छैन भने त्यसलाई छाडेर पनि अघि बढ्नुपर्छ। वडाको निर्वाचन सुरु गर्नुपर्छ।’

अर्कोतिर कोरोना भाइरसको बढ्दो संक्रमण र बर्खाको समयले महाधिवेशनका लागि बाँकी कार्य सम्पादन गर्न कठिन बन्दै गएको छ। कोरोना भाइरसको जोखिम रहेकै बेला कार्यकर्ताको स्वास्थ्यलाई जोखिममा राखेर महाधिवेशन गर्न नहुने धेरैको बुझाइ छ। महाधिवेशन भनेको निर्वाचनमात्र नभएर सिंगो संगठन सञ्चालनका लागि नीति निर्माण गर्ने थलो पनि भएको बताउँदै केन्द्रीय सदस्य कल्याण गुरुङले कोरोना भाइरसको संक्रमणमा कम नआए भदौमा महाधिवेशन सम्भव नरहेको औंल्याउँछन्। पार्टी नेता तथा कार्यकर्तामात्र होइन, आम जनताको जनस्वास्थ्यमा जोखिम रहेका बेला लोकप्रियताका लागि मात्र महाधिवेशनको कुरा गर्न नहुने भन्दै उनले थपे, ‘यो वर्ष बाढीपहिरोको जोखिम पनि बढी रहेको भनिएको छ। कोरोना र बाढीपहिरोको जोखिम कम भएमात्र भदौमा महाधिवेशन सम्भव छ।’

साउन पहिलो सातासम्म क्रियाशील सदस्यता टुंगो लाग्यो र साउन १८ गतेबाट तल्लो तहको अधिवेशन सुरु हुँदा पनि भदौमा महाधिवेशन गर्न सकिने बताउँदै उनले भने, ‘होइन भने महाधिवेशन गर्न सम्भव छैन, त्यसको विकल्प खोज्नुपर्छ।’

पार्टी नेता पौडेलले एक वर्षका लागि विशेष महाधिवेशन गर्न सकिने प्रस्ताव अघि सारेका छन्। तर गुरुङ कांग्रेसमा विशेष महाधिवेशन पार्टी विभाजन भएका बेला वा पार्टी सभापतिलाई हटाउन मात्र भएको बताउँदै थप्छन्, ‘एउटा विशेष महाधिवेशनले मातृका कोइरालालाई हटाएर बिपी कोइरालालाई सभापति बनायो, अर्कोले सुवर्णशम्शेरलाई हटाएर बिपीलाई फेरि सभापति बनायो। यसमा सभापतिको निर्वाचन हुँदैन भन्ने पनि हुँदैन र संवैधानिक निकास पनि दिँदैन।’ चार वर्षे कार्यकाल पूरा गरेर विधानको व्यवस्थाअनुसारको थप एक वर्ष र संवैधानिक व्यवस्थाअनुसार थप ६ महिनाको समय उपयोग गर्दै आएको कांग्रेसले वैधानिकता जोगाउन संविधान संशोधनको सम्भावना पनि तत्काल छैन।

सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गरेबाहेक प्रतिनिधिसभा विघटन भएकाले संवैधानिक व्यवस्था संशोधन गर्ने ढोका बन्द भएको छ। अर्को विकल्प भने अन्य कुनै एउटा राजनीतिक दलसँग पार्टी एकता गरेर कानुनको छिद्र समाउँदै पार्टीको वैधता जोगाउनमात्र बाँकी रहने नेताहरू बताउँछन्। नेता पौडेलले भने बढ्दो संक्रमणका बीच महाधिवेशन कसरी सम्पन्न गर्ने भन्ने विषयमा पार्टीमा छलफल भइरहेको जानकारी दिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.