पूँजीपति कोरोना र अभिशप्त मध्यम वर्ग
दिपेस मूर्ति पन्त
२६ जेठ, काठमाडौं । हामी मध्यम वर्गीय, निम्न मध्यम वर्गीयलाई लाग्न सक्छ कोरोना महामारीले सबैलाई उत्तिकै प्रभावित गरेको छ। हाम्रो जस्तै सबैले समस्या भोगेका छन्। यदि त्यो लाग्छ भने तपाईँ गलत हुनुहुन्छ। कोरोना महामारीले केही यस्ता वर्गहरु छन् ती सम्पत्तिमा बढोत्तरी आर्थिक समृद्धिको समयमा भन्दा पनि तिव्र गतिमा बढिरहेको तथ्यहरूले देखाउँछन्। केही वर्गको सम्पत्तिमा हुने वृद्धिदर त ऐतीहसिक नै रह्यो।
संसारकै प्रत्येक देशको ग्राहस्थ उत्पादन घटिरहेको अर्थात् वास्तविक उत्पादनमा ह्रास हुँदा पनि केहीको सम्पत्ति तिव्र दरमा बढिरहेछ भन्नुको मतलब के हो भने अर्थतन्त्रमा कुनै वर्ग त्यस्तो छ जसले आफ्नो सम्पति त्यो भन्दा पनि उच्च गतिमा गुमाइरहेको छ या कुनै त्यस्तो वर्ग छ जसमाथि गम्भीर शोषण भइरहेको छ। त्यो वर्ग हो मध्यम वर्ग। निम्न मध्यम वर्ग र सर्वहारा वर्ग त तस्वीर बाट नै हटिसक्यो भन्दा पनि अत्युक्ति हुँदैन। पुँजीपति वर्गको कुरा गर्ने हो निम्न पुँजीपति वर्गलाई भने कोरोना महामारीले छेउमा धकेलिदिएको चाहिँ पक्का हो।
उच्च पुँजीपति वर्गहरु र कुनै बलियो सँगठात्मक स्वरूपमा भएका पुँजीपतिहरु र सरकारी संयन्त्रलाई प्रभावित गर्न सक्ने, सरकार निकटका पुँजीपतीहरु त कहिल्यै नचिताएको दरमा सम्पति वृद्धि गर्न सक्षम भएका छन्। निम्न पुँजीपति वर्ग, साना ब्यापारी र उद्योगीले शोषण गर्ने भनेको मध्यम वर्ग, निम्न मध्यम वर्ग र सर्वहारा वर्गलाई थियो। त्यो वर्ग गम्भीर ढंगले प्रभावित हुँदा निम्न पुँजीपति वर्ग पनि खुम्चियो जसले तिनै ठूला पुँजीपति वर्गहरु मस्त सङ्ग उदाए।
यस विषयमा नेपालमा प्रशस्त अनुसन्धान नगरिएको भए पनि भारतीय तथ्यहरूले नेपालको प्रतिनिधित्व गर्न सक्छ। नेपाली र भारतीय अर्थतन्त्रको संरचना, सामाजिक, धार्मिक संरचना देखि सरकारी रवैयाहरुमा समानता पाइन्छ। त्यसैले भारतीय तथ्यहरूको विश्लेषणले नेपाली अवस्थालाई पनि चित्रित गर्न सकिन्छ।
Pew Research Center को एक अध्ययनका अनुसार अघिल्लो वर्ष ७ करोड ५० लाख भारतीयहरू गरिवीको रेखा मुन्तिर भासिए। जसमा ३ करोड २० लाख भारतीयहरू जो १० डलर देखि २० डलर प्रतिदिन कमाउँथे उनीहरू मध्यम वर्गबाट तल झरे। अहिले झण्डै १० करोड मध्यम वर्गीय जनसङ्ख्या घटेर अहिले साढे ६ करोडमा पुगेको छ। २०११ देखि २०१९ सम्मको विश्व बैङ्कको तथ्यांक हेर्ने हो भने मध्यम वर्गमा ५ करोड ७० लाख जनसङ्ख्या थपिएको थियो।
सो अनुसन्धानको अनुसार यो सङ्ख्या विश्वमै सबै भन्दा धेरै हो। चीनमा गरिवीको दर जुन उच्च मानिन्थ्यो त्यसलाई पनि उल्लेखनीय मात्रामा पछि छोडिदिएको छ।विश्वव्यापी तथ्य केलाउने हो भने ५ करोड २० लाख जनसङ्ख्या मध्यम वर्गबाट चिप्लिएको हो जसमा ३ करोड २० लाख त भारतीय जनसंख्या नै रहेको छ। विश्व बैंकले भारत र चीन दुवैको आर्थिक वृद्धिदर क्रमशः ५.८ र ५.९ प्रतिशत हुने प्रक्षेपण गरेको थियो। समान स्तरको आर्थिक वृद्धिमा पनि गरिबीमा भासिने जनसंख्याको उल्लेखनीय भिन्नता कहाली लाग्दो छ। यस बाट हामीले के बुझ्न सक्छौं भने कोरोनाले सबै भन्दा बढी प्रभाव दक्षिण एसियाली अर्थतन्त्रमा पारेको छ बुझ्न कठिन हुँदैन। यसले नेपाली मध्यम वर्गीय संरचनालाई पनि प्रतिनिधित्व गरिरहेको छ।
Pew Research Center का अनुसार निरपेक्ष गरिवीको रेखा मुनि परेको जनसङ्ख्या जसको दैनिक आम्दानी २ डलर या त्यो भन्दा न्यून छ, ७ करोड ५० लाखले बढेको छ। कोरोनाको कारणले गम्भीर भएको आर्थिक मन्दी त्यसमाथि इन्धन र अन्य उपभोग्य वस्तुहरूमा भएको मूल्य वृद्धिले सबै भन्दा गम्भीर प्रहार अर्थतन्त्रको तल्लो स्तरमा रहेको वर्गलाई परेकोमा कुनै शंका छैन। यसले पेशा छोड्न सक्नेले पेशा बदल्ने, वैदेशिक क्षेत्रमा पहुँच हुने विदेश पलायन हुने स्तर बढ्दो देखिन्छ। यसले पैदा हुने असन्तुलनले वास्तविक ग्राहस्थ उत्पादनलाई दीर्घकालीन असर पार्छ।
विश्वव्यापी तथ्यांकले दैनिक १० देखि २० डलर कमाउने मध्यम वर्गको जनसङ्ख्या ९ करोडले घट्यो भने निरपेक्ष गरिवीको रेखा मुनिको जसको दैनिक आम्दानी २ डलर भन्दा कम छ त्यसको जनसङ्ख्या १३ करोडले बढेको छ। तर वास्तविकता यहीँ रोकिएको छैन। देशको अर्थतन्त्रमा वास्तविक उत्पादनमा उल्लेख्य वृद्धि नहुँदा पनि केही वर्गहरु जस्तो उच्च पुँजीपति वर्गहरूको सम्पत्तिमा उल्लेख्य वृद्धि भएको छ। यसले धनको प्रसारण मध्यम र निम्न वर्गबाट ती पुँजीपति वर्ग तर्फ भएको छ भन्ने स्पष्ट पार्छ।
कोरोना महामारीको शुरुवाती चरणमा सबैतिर समान प्रभाव पारे पनि पछिल्लो चरणमा धनी झन् धनी हुँदै जाने गरीब झनै गरीब हुँदै गएको प्रक्रिया स्पष्ट देखिन्छ। यो महामारीमा विश्वका धनीहरूको सम्पत्तिमा १०. २ ट्रिलियन अमेरिकी डलरको वृद्धि भएको छ। यस्तो वृद्धि त अहिले सम्म भएकै थिएन। यसको मतलव स्पष्ट छ कि महामारीलाई अत्युत्तम मौकाको रूपमा प्रयोग गरिएको छ।
भारतीय उदाहरण दिने हो भने महामारीको कालमा ३८ जना नयाँ अर्वपतीहरु थपिएको र उनीहरूको सम्पत्तिमा ५९६ बिलियन डलरको बढोत्तरी भएको फोर्ब्स म्यागजिनले जनाएको छ। यो विश्वमै सबै भन्दा धेरै हो। सबै भन्दा बढी सम्पति थप्ने र शीर्षस्थानमा रहेका गौतम अदानी, मुकेश अम्बानी र शिव नदार छन् उनीहरुको सम्पत्तिमा १०० बिलियन डलरको बढोत्तरी भएको छ। आश्चर्यमा पर्नु पर्दैन दुवै भारतीय शक्तिशाली सरकारका प्रमुख नरेन्द्र मोदीका अनन्य मित्रहरू पर्दछन्। यसबाट के स्पष्ट हुन्छ भने महामारीलाई पूँजीपतिहरुले कसरी मौकाको रुपमा प्रयोग गरेका छन्।
पुँजीपतिहरुले जब मौकाको रूपमा महामारीलाई लिन्छन् र उनीहरू सरकारी संयन्त्रका नजिक पनि छन् भने उनीहरुले सरकारी नीतिलाई सक्दो प्रभावित गर्छन् भन्नेमा शंका गरिराख्नु पर्दैन। सरकार अब दलाल पुँजीवादी अर्थात् Crony Capitalist बन्छ। भारतीय बीमा योजना, कृषि बिल आदिको उदाहरण हेर्ने हो भने झनै स्पष्ट हुन्छ। नेपालकै उदाहरण दिने हो भने कोरोना महामारीमा खरिद गरिएका स्वास्थ्य सामग्रीको घोटाला भन्दा उपयुक्त उदाहरण के हुन सक्छ। ओम्नी, यती आदीहरु भारतमा अदानि अम्बानी जस्तै सरकारका प्रिय पात्र छन्। जसको घोटाला त्यो पनि यस्तो महामारीमा स्पष्ट देखिँदा पनि उनीहरू प्रियपात्र नै छन्।
कोरोना महामारीलाई नियन्त्रण गर्न सरकारी संयन्त्र सबै भन्दा कमजोर भारत, नेपालजस्ता विकासोन्मुख देशहरूमा किन भइरहेको छ त। किन समय छदै सजिला नियन्त्रणका उपाय हुँदा हुँदै पनि त्यसलाई नजरअन्दाज गरिन्छन्। यो कुनै संयोग होइनन्, यो महामारीलाई अझै मौकाको रूपमा प्रयोग गर्ने उद्देश्यले जानाजान यसलाई झन् गम्भीर बनाउने षड्यन्त्र हो भन्न सकिन्छ।
स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र र कृषि बजारका मध्यस्तकर्ता जस्ता अत्यावश्यक क्षेत्रहरू जसमा सङ्गठित लगानी गरेर बसेका उच्च पुँजीपति वर्गले मध्यम वर्गीय र निम्न वर्गका उत्पादक, उपभोक्ता र कर्मचारीको चरम शोषण गरेको छर्लङ्ग छ। सबै भन्दा पीडित वर्ग हेर्ने हो भने मध्यम वर्गीय र निम्न वर्गीय किसान, उपभोक्ता र श्रमिक वर्ग छन्। उनीहरू नै ती क्षेत्रका असङ्गठित उत्पादक हुन् भने असङ्गठित उपभोक्ता र श्रमको आपूर्तिकर्ता पनि हुन्। कोरोना महामारीले यस्तै असङ्गठित वर्गबाट धनको प्रशारण तिनै उच्च पुँजीपति वर्ग तिर गरिरहेको छ। धनी र गरिबको बीचको खाडल झनै बढ्दै गइरहेको छ।
अर्को भयानक सत्य के हो भने यस्ता महामारीमा सबै भन्दा पीडित भएको वर्ग आफ्नो मात्र होइन आफूभन्दा तलको वर्गलाई समेत माथि उठ्न नदिने चरित्र यो वर्ग सङ्ग हुन्छ। यसैको माध्यमबाट पुँजीपति वर्गहरुले यो स्वयंलाई र तल्लो वर्गलाई चरम शोषण गर्छन्। यसको नियत पनि आफू त्यही शोषणको संरचनालाई टेकेर उपल्लो तहमा पुग्ने हुन्छ। जुन कालान्तरमा आत्मघाती हुन्छ।
अभिशप्त मध्यम वर्ग
सर्वहारा वर्गको मात्र नभई असल समाजको सबैभन्दा ठूलो दुश्मन को हो? यो प्रश्नको उत्तर सोध्यो भने उत्तर आउन सक्छ, कुलिन वर्ग, अभिजात्य वर्ग, पुँजीवादी वर्ग……तर राम्रो सङ्ग केलाउने हो भने यो समाजमा सबैभन्दा घातक वर्ग हो मध्यम वर्ग, तपाईं हामी। हो ठीक सुन्नु भो तपाईं हामी जस्ता मध्यम वर्ग। सुन्दा रिस र आश्चर्य दुवै लाग्न सक्छ। तर यो संसारमा जतिपनि जनक्रान्ति या सर्वहारा वर्गको मुक्तिको लागि संघर्ष भए त्यसलाई असफल पारेर धनयुद्धमा परिणत गरिदिएको यहि वर्गले नै हो। अहिले हामीले भोगिरहेको महामारीलाई समाजशास्त्रीय दृष्टिकोणले हेर्ने हो भने सबै भन्दा निकृष्ट वर्ग पनि यहि मध्यम वर्ग नै हो।
यो वर्ग अचम्मको चमेरो जस्तो हुन्छ, चरो र जनावरको द्वन्द्वमा यदि चरोको प्रभाव बढ्यो भने चरो हुँ भनेर देखाउँछ भने जनावरको प्रभाव बढ्यो भने जनावरको नेतृत्वमा उही खडा हुन्छ। यसले आफूलाई अभिजात्य वर्गबाट शोषित ठानेर मुक्ति संघर्षको नेतृत्वमा आफूलाई उभ्याउँछ भने सर्वहारा वर्गको शोषण गर्ने या गर्ने माध्यम बन्न पनि सधैँ तयार भएर बस्छ।
यो वर्गले सर्वहारा वर्गको संघर्षलाई निस्तेज पार्ने, कुलिन वर्गको या पुँजीपति वर्गको शोषणलाई व्यवहारमा कार्यावन्यनको गर्ने मुख्य पात्रको रुपमा भूमिका खेल्छ किनकि यो वर्गको लक्ष्य भनेकै आफू जसरी पनि अभिजात्य वर्गमा उक्लनु हो या त्यसको नक्कल गर्नु। उदाहरणको लागि पिर्के सलामी लिने, आफूलाई सम्बोधन गर्दा समेत माननीय भन्ने भनाउने, विलासी वस्तुको उपभोग गर्ने कार्य राज्यको तल्लो स्तर देखि उपल्लो स्तर सम्म नै रहेको छ।
अझ नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व सधैँ मध्यम वर्गकै हातमा थियो। ती संघर्षहरु कहिले पनि आफ्नो लक्ष्यमा नपुग्दै तुहिए। जसले ती संघर्षहरुको नेतृत्व गरेको थियो त्यसले आफूलाई पनि सर्वहारा र दमित वर्ग नै हुँ भन्दै वास्तविक त्यही वर्गबाट सहानुभूति र सहयोग लियो उनीहरुलाई प्रयोग गर्यो अनि त्यही जन संघर्षलाई प्रयोग गरेर आफ्नो उही लक्ष्य कुलिन पुँजीपति वर्गमा उक्लिने आफ्नो भित्री लक्ष्य पूरा गर्यो। त्यस पश्चात त्यो सर्वहारा र दमित वर्गलाई उनीहरुलाई पुनः पहिलेकै स्थानमा भन्दा पनि दुरुह स्थानमा धकेलिदियो।
यसरी नै हरेक जन संघर्ष धन संघर्षमा तुहिन्छ। यसका उदाहरण नेपालका प्रचण्ड देखि ओली सम्म मात्र होइन कि गाउँघरका तिनै कथित जनवादी कार्यकर्ता सम्म हेर्दा पुग्छ। ति संघर्षमा होमिएका सर्वहाराको अवस्था झन् नाजुक भयो भने ती मध्यम वर्गीय कार्यकर्ता समेत निम्न पुँजीपति वर्गमा रुपान्तरण भए।
यही कोरोना महामारीको अवस्थामा हेर्नुहोस, पुँजीपति कुलिन वर्ग भन्दा पनि बढी ढुक्कमा यहीँ वर्ग बसेको छ। यसले ती निम्न र सर्वहारा वर्गले कुन तहको नारकीय यातना भोगेको छ भन्ने कुरा स्पष्ट हुन दिएकै छैन। किनकि यो सँग केही न केही पुँजी अझै छ जसले आफ्नो जीवन निर्वाह गरिरहेको छ, जसरी युद्धकालमा केही न केही कमाउने दाउमा झरेको जुठो पुरो कुरेको थियो त्यस्तै मौका यो महामारीमा त्यस्तै जुठो पुरो कुरिरहेको छ।
सर्वहारा वर्गमाथि हुकुम त चलाउन पाइएकै छ, कुलिन र सरकारी वर्गको जी हजुरी र चाकडी गर्ने, सर्वहारा वर्गको आर्तनादलाई छोप्ने ठेक्का प्राप्त गरेको छ। सरकारी कर्मचारी तन्त्रमा पनि यसैको सङ्ख्या धेरै छ त्यसैले त महामारीको बेला सर्वहारा, श्रमिक वर्गको आवाज र आर्तनाद दबाउन एकदम सजिलो भएको छ। यसै गरेर उसले आफूलाई सुरक्षित राखिरहेको छ र निम्न वर्गका पीडामाथि निकृष्ट प्रतिक्रिया र ठट्टा गरेर बसिरहेको छ जुन हामीले सामाजिक सञ्जाल देखि सरकारी व्यक्ति, कर्मचारी तन्त्र र त्यसका अनुशरण गर्ने नागरिक बाट व्यक्त प्रतिक्रिया बाटै महसुस गर्न सक्छौं।
जबसम्म सर्वहारा वर्ग यो मध्यम वर्गको धोकामा परिरहन्छ त्यो बेलासम्म कुनै पनि मूल्यमा जनक्रान्ति सम्भव नै छैन। समाजमा समानता समता र अधिकारका कुरा सम्भव नै छैनन्। अभिजात वर्ग भन्दा पहिला यो प्रमुख वर्ग दुश्मनलाई चिन्न नसक्नु सर्वहारा वर्ग र विश्व कम्युनिष्ट क्रान्तिको सबै भन्दा ठूलो भूल भयो।
अब यो महामारीको अन्त्य छिटो भएन भने निम्न मध्यम वर्ग र सर्वहारा वर्गले फेरि संघर्षमा जानै पर्ने दिन न आउला भन्न सकिँदैन। यदि त्यो अवस्था आयो भने फेरि नेतृत्वको लागि यही मध्यम वर्गको चरित्र भएको त्यहाँ उपस्थित हुन्छ। त्यसलाई त्यही निर्मलीकरण गर्न सकिएन भने अहिलेका अवस्था फेरि दोहोरिन्छन।
चाहे धार्मिक कुरीति, अन्धविश्वास होस् या सामाजिक कु-संरचना हुन् या फोस्रा देशभक्ति र परम्पराका आदर्श र कथित स्वाभिमान यिनको ठेक्का बोकेर बस्ने पनि यही वर्ग नै हो। यही यथास्थितिवादी चरित्रले गर्दा यो कुनै पनि परिवर्तनको यात्रामा सबैभन्दा ठूलो बोझ सावित हुन्छ।
यो वर्ग सबै भन्दा क्रुर र स्वजाति भक्षण अर्थात् आफूजस्तै मध्यमवर्गको शोषणमा पनि अग्रणी हुन्छ। सबै चाहे काँग्रेसका सरकार हुन्, या कम्युनिष्टका सरकार हुन् त्यहाँ कुनचाहिँ अभिजात र कुलिन पुँजीपति वर्गका मानिस छन् र? त्यहाँ सधैँ जनसंघर्ष लाई प्रयोग गरेर पुगेका तिनै मध्यम वर्गीय चरित्र भएका नर पिशाच त छन् नि। ठीक त्यस्तै नेपालको कर्मचारीतन्त्र पनि छ।
हामी हरेक क्षेत्रमा असफलता, असमानता र अथाह पीडामा रुमलिएका छौ। अब पनि यो मध्यम वर्ग जुन सरकारी तन्त्रमा बसेको छ, कर्मचारीतन्त्रमा बसेको छ या केही पुँजी बोकेर अझै आदर्शको गफ छाँटेर निम्न मध्यम वर्ग र सर्वहारा वर्गको यो आर्तनादलाई नजरअन्दाज गरिनै रहन्छ, यसलाई अहिले पनि नचिने कहिले चिन्ने?