जसपाभित्र दुई पक्षले एक अर्कामाथि कारवाही गरेसँगै पार्टी विभाजनको सँघारमा, उपेन्द्र र महन्थमध्ये कसको पल्ला भारी ?

0 789

२० जेठ, काठमाडौँ । जनता समाजवादी पार्टी नेपालभित्र दुई पक्षले एक अर्कामाथि कारवाही गरेसँगै पार्टी विभाजनको सँघारमा पुगेको छ । पार्टीका दुईजना अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई पार्टीबाट निष्कासन गरेका छन् । उनीहरुले निर्वाचन आयोगलाई पनि पार्टीभित्र गरिएको कारवाहीको विवरणसहित आ–आफ्नो तर्फबाट पत्र पठाइसकेका छन् । अहिलेसम्म दुवै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आएका छन् । तर कुन पक्ष आधिकारिक भन्नेबारे छिनोफानो गर्ने निर्वाचन आयोगमा भने आधिकारिकता सम्बन्धी विवाद पुगेको छैन ।​ जसपाभित्र दुवै पक्षले आफ्नो पक्षमै बहुमत रहेको दावी गर्दै आएको अवस्था छ । तर दुवै पक्षले बहुमत प्रमाणित गरेका भने छैनन् ।

जसपाभित्रदुई पक्षमा कसको पल्ला भारी ?

जसपाभित्र देखिएका दुई पक्षबीच कसको पल्ला भारी भनेर अहिले नै किटान गर्न सक्ने अवस्था छैन । राजनीतिक दलसम्बन्धी विद्यमान कानुनअनुसार संसदीय दल र केन्द्रीय कार्यसमितिमा ६० प्रतिशतभन्दा बढी सदस्य रहेको पक्षले पार्टीको आधिकारिकता पाउँछ भने दुवै निकायमा ४० प्रतिशत बहुमत जुटाउने पक्षले अलग दलका रुपमा मान्यता पाउँछ ।

जसपाभित्र दुवै पक्षसँग ६० प्रतिशत बहुमत देखिएको छैन । यस्तो अवस्थामा सके ६० प्रतिशत बहुमत जुटाएर दलको वैधानिकता आफ्नो पक्षमा पार्ने, नसके केन्द्रीय समिति र संसदीय दलमा कम्तीमा ४० प्रतिशत जुटाएर दल विभाजन गराउनुपर्ने हुन्छ । प्रतिनिधिसभा विघटन नभएको अवस्थामा संसदीय दलमा महन्थ ठाकुरको पक्षमा बहुमत थियो । पार्टीको केन्द्रीय समिति, कार्यकारिणी समिति, राष्ट्रियसभामा भने उपेन्द्र यादव पक्षको बहुमत छ ।

प्रतिनिधिसभा विघटन भइसकेका कारण महन्थ ठाकुरसँग पार्टीको कुनै पनि निकायमा बहुमत देखिएको छैन । प्रतिनिधिसभा विघटन हुनअघि अध्यक्ष ठाकुरले संसदीय दलको बैठकबाट पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयनका साथै विभिन्न निर्णय गरे । प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा उनीसँग पार्टीको कुनै निकायमा बहुमत नहुँदा निर्णयहरु गर्न सकिरहेका छैनन् । ५२ सदस्यीय कार्यकारिणी समितिमा अध्यक्ष उपेन्द्र यादवले ३१ जना आफूसँग रहेको भन्दै हस्ताक्षर नै सार्वजनिक गरेका छन् । केन्द्रीय समितिमा पनि आफ्नो बहुमत रहेको उनको दावी छ ।

जसपाका कार्यकारिणी सदस्य शरत सिंह भण्डारी भने पार्टीभित्रै मिलाउन सकिने कुरालाई उपेन्द्र यादव पक्षले निर्वाचन आयोगसम्म लगेको आरोप लगाउँछन् । ‘पार्टीमै मिलाउनुपर्ने विषयलाई अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा लैजानु भयो,’ उनले भने, ‘पार्टीमा देखिएको विवाद पार्टीमै मिलाउन सकिन्थ्यो । उहाँहरुले विवादलाई निर्वाचन आयोगमा पुर्याएपछि त्यसको प्रतिक्रियामा महन्थ ठाकुर पनि त्यहाँ पुग्नुभएको हो ।’

पार्टीमा कसको बहुमत छ र को अल्पमतमा छ भन्नेबारे दुवै पक्षले हानथाप गर्नुको अब कुनै अर्थ नरहेको भण्डारी बताउँछन् । विषय निर्वाचन आयोगमा पुगिसकेका कारण अब आयोगले नै यसबारे निर्णय गर्ने उनको भनाइ छ । यद्यपि अझै समय बाँकी रहेको भन्दै उनले दुवैजना अध्यक्षलाई एक ठाउँमा बसेर पार्टीको विवाद मिलाउन आग्रह गरे । पार्टी नफुटोस् भन्ने आफ्नो चाहना रहेको प्रस्ट पार्दै उनले पार्टी एकता कायम राख्न आफूले हरसम्भव प्रयास गरिरहेको बताए ।

यद्यपि दुई पक्षका शीर्ष नेताबीच संवादहीनताको अवस्था छ । उनीहरु दल विभाजनतर्फ उन्मुख भइसकेको पछिल्लो गतिविधिले देखिन्छ । उपेन्द्र यादव पक्षले पार्टीको केन्द्रीय कार्यकारिणी समिति र राष्ट्रियसभामा आफ्नो बहुमत भएकाले जसपाको आधिकारिकता आफूसँगै रहेको दावी गर्दै आएको छ ।

अर्कोतिर महन्थ ठाकुर पक्ष भने पार्टीमा र राष्ट्रिय सभामा दल विभाजनका लागि राजनीतिक दलसम्बन्धी कानुनले मागे बमोजिमको परिस्थिति निर्माणमा जुटेको देखिन्छ ।महन्थ ठाकुर पक्षका महेन्द्र राय यादवले पछिल्लो समय उपेन्द्र यादवलाई साथ दिँदै आएका छन् । उनको साथले उपेन्द्र यादव पक्ष केन्द्रीय समिति र केन्दीय कार्यकारिणी समितिमा बलियो देखिएको हो ।

त्यस्तै राष्ट्रियसभामा जसपा नेपालका तीन सदस्यमध्ये उपेन्द्र यादव पक्षमा एकमात्र सदस्य रहेकोमा पछिल्लो समय मृगेन्द्र सिंह यादवले पनि उपेन्द्रलाई नै साथ दिँदै आएका छन् । जसका कारण राष्ट्रियसभामा पनि उपेन्द्र यादव पक्षकै बाहुल्यता छ ।पार्टीका निकाय तथा संसदीय दलमा कमजोर अवस्थामा पुगेका महन्थ ठाकुरले दुवै निकायमा कम्तीमा पनि ४० प्रतिशत जुटाउन सके विद्यमान कानुन अनुसार दल विभाजन गराउन सक्छन् । तर ४० प्रतिशत जुट्न नसकेको अवस्थामा उनले दलका रुपमा राजनीतिक अस्तित्व जोगाउन निकै ठुलो चुनौती सामना गर्नुपर्ने जानकारहरु बताउँछन् ।

त्यसैले पनि महन्थ पक्षले उपेन्द्र पक्षका केही नेतालाई आफूतिर तान्न हरसम्भव प्रयास गरिरहेको छ । उपेन्द्र यादवको पक्षमा रहेका कार्यकारिणी समितिका सदस्य इस्तियाक राइले महन्थ ठाकुरपक्षबाट कार्यकारिणी समितिका सदस्य एवं राष्ट्रियसभाका सदस्यलाई विभिन्न प्रालोभन दिएर तान्ने प्रयास भइरहेको आरोप लगाए ।

आफूहरुसँग केन्द्रीय समिति, कार्यकारिणी समिति र राष्ट्रियसभामा बहुमत रहेको दावी गर्दै उनले भने, ‘कार्यकारिणी समितिका बहुमत सदस्यहरुको हस्ताक्षर नै सार्वजनिक भइसकेको छ, त्यसमा कसैले कुनै आपत्ति नजाएकाले पनि बहुमत हामीसँगै रहेको प्रस्ट हुन्छ ।’

उनले पार्टी विभाजन नहुने दावीसमेत गरे । अनुशासनहीन काम गरेका केही नेतालाई पार्टीबाट निष्कासन गरिएको भन्दै उनले पार्टी एक ढिक्का भएर अगाडि बढ्ने दावी गरे । उनले कारवाहीमा परेका नेताहरु छुट्टै पार्टी बनाउन सक्ने भए पनि जसपा नेपाल भने एक ढिक्का रहेको बताए । निर्वाचन आयोगमा आफूहरुले सबै प्रमाण दिएको र आयोगले नियमावलीको अनुसूची अनुसार निवेदनको ढाँचा नपुगेको जानकारी गराएपछि सोहीअनुसार कै ढाँचामा पुनः निवेदन दिने तयारी भइरहेको उनले बताए ।

महन्थ ठाकुर पक्षले समेत कार्यकारिणी समितिको निर्णय अनुसार कारवाही गरेको दावी गर्दै आए पनि सो पक्षसँग कार्यकारिणी समितिमा बहुमत नरहेको राइको जिकिर छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.